साप्ताहिक संवाददाता
विश्वकप क्रिकेट–२०१९ का लागि १० सहरका ११ मैदान प्रयोगमा आउनेछन् र ती सबै मैदान आफैंमा समृद्ध इतिहास बोकेका मैदान हुन् । क्रिकेटको जन्मथलो इंग्ल्यान्ड र वेल्सका यी मैदानमा खेलको वैभव देख्न पाइन्छ । यी सबै ११ खेल मैदान आफैंमा उत्तिकै आकर्षित पनि छन् । यीमध्ये आठ मैदान सय वर्षअघि नै निर्माण भएका हुनाले फनि तिनको लामो इतिहास छ ।
लर्डस
विश्व क्रिकेटमा यत्तिको चर्चित रंगशाला अरू कुनै छैन । लन्डनस्थित लर्डसलाई त्रिकेटको मक्का पनि भनिन्छ । कुनै पनि खेलाडीका लागि लर्डसमा खेल्नु सपना जस्तै हुन्छ । मिडलसेक्सको घरेलु मैदान लर्डस सन् १८१४ मा निर्माण भएको थियो र अहिले यसको दर्शक क्षमता २८ हजार छ । यसपटकको विश्वकपका ५ खेल लर्डसमा हुनेछन् र भनिरहनु पर्दैन, त्यसमा फाइनल पनि पर्छ । त्यो लर्डसमा हुने विश्वकपको पाँचौं
फाइनल हुनेछ ।
ओभल
लर्डसपछि यो दोस्रो ठूलो क्रिकेट मैदान हो– ओभल । लन्डनकै यो मैदानको निर्माण सन् १८४५ मा भएको थियो र यो सरेको घरेलु मैदान हो । टेस्ट क्रिकेटका लागि प्रयोग हुँदै आएको यो मैदानको दर्शक क्षमता २५ हजार ५ सय छ । यसपटक यहाँ ५ खेल हुनेछन् ।
एजबास्टन
बर्मिङघम सहरस्थित एजबास्टन मैदानको निर्माण सन् १८८२ मा भएको थियो । वारविकसायरको यो घरेलु मैदानको दर्शक क्षमता २५ हजार छ र यहाँ एउटा सेमिफाइनलसहित पाँच खेल हुनेछन् । यो टेस्ट क्रिकेटका लागि पारम्परिक रूपमा प्रयोग हुँदै आएको मैदान हो ।
ब्रिस्टल काउन्टी ग्राउन्ड
कुल १७ हजार ५ सय दर्शक क्षमताको ब्रिस्टल काउन्टी ग्राउन्डमा यसपटक तीन खेल हुनेछन् । सन् १८८९ मा बनेको यो मैदान ग्लासेस्टरसायरको घरेलु मैदान हो । ब्रिस्टलको यो मैदान इंग्ल्यान्डका प्रसिद्ध पुराना खेलाडी डब्लू जी ग्रेसको नामसँग जोडिन्छ ।
रिभरसाइड ग्राउन्ड
विश्वकपका लागि प्रयोग हुने मैदानमध्ये सबैभन्दा नयाँमा पर्छ– रिभरसाइड ग्राउन्ड । यहाँ तीन खेल हुनेछन् र यसको दर्शक क्षमता २० हजार छ । चेस्टर ली स्ट्रिटमा अवस्थित यो मैदान डरहमले प्रयोग गर्दै आएको छ ।
हेडिङ्ली
टेस्ट क्रिकेटका लागि प्रख्यात अर्को मैदान हो– हेडिङ्ली । सन् १८९० मा बनेको यो मैदानको दर्शक क्षमता १८ हजार ३ सय ५० छ र यहाँ चार खेल हुनेछन् । योर्कसायरको यो घरेलु मैदान लिड्समा छ ।
ओल्ड ट्रायफोर्ड
म्यानचेस्टरको प्रसिद्ध मैदान हो– ओल्ड ट्रायफोर्ड । सन् १८५७ मा बनेको यो मैदानमा पनि टेस्ट क्रिकेट हुन्छ । सेमिफाइनलसहित कुल ६ खेल हुने यो मैदानको दर्शक क्षमता २६ हजार छ । यो ल्यान्कसायरको घरेलु मैदान हो ।
ट्रेन्ट ब्रिज
लर्डसको दोस्रो पुरानो मैदान ट्रेन्ट ब्रिज पनि पारम्परिक रूपमा टेस्ट क्रिकेटका लागि प्रयोग हुने गरेको छ । नटिंघममा सन् १८४१ मा बनेको यो मैदानको दर्शक क्षमता १७ हजार ५ सय छ । नटिंघमसायरको यो घरेलु मैदानमा ५ खेल हुनेछन् ।
रोज बाउल
सन् २००१ मा मात्र बनेको हो– रोज बाउल । कुल २५ हजार दर्शक क्षमताको यो मैदानमा ५ खेल हुनेछन् । विश्वकप क्रिकेटका लागि पहिलो पटक यो मैदान प्रयोगमा आउँदैछ । साउथह्याम्टनस्थित रोज बाउललाई ह्याम्पसायरले घरेलु मैदान बनाएको छ ।
काउन्टी ग्राउन्ड
काउन्टी ग्राउन्डको निर्माण सन् १८८२ मा भएको थियो र यसको दर्शक क्षमता १२ हजार ५ सय छ । कुल तीन खेल हुने यो मैदान समरेसटको घरेलु मैदान हो ।
सोफिया गार्डेन्स
सोफिया गार्डेन्स कार्डिफमा छ र यो ग्लामोरगनको घरेलु मैदान हो । यो मैदानको अर्को नाम कार्डिफ वेल्स स्टेडियम पनि हो । यसको दर्शक क्षमता १५ हजार ६ सय ४३ छ र यहाँ ४ खेल हुनेछन् ।