आठौं विश्वकप क्रिकेट सन् २००३ मा अफ्रिका महादेशमा पहिलो पटक आयोजना गरियो । यो विश्वकप दक्षिण अफ्रिका, केन्या र जिम्बावेले संयुक्त रूपमा आयोजना गरेका थिए । पहिलो पटक अफ्रिकामा आयोजित यो विश्वकपमा १४ देश सहभागी भएका थिए भने ५४ खेलहरू भएका थिए । बंगलादेश सहित १० टेष्ट खेल्ने राष्ट्रका अलावा पूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएका कारण केन्या पनि स्वतः छनौट भयो । त्यसबाहेक सन् २००१ को आईसीसी ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने तीन एशोसियट टोलीहरू नेदरल्यान्ड, क्यानाडा र नामिबिया (पहिलो पटक) छनौट भए । यो विश्वकपमा सर्वाधिक ६ सय ७३ रन बनाउने भारतका सचिन तेन्दुलकर म्यान अफ द सिरिज घोषित भए भने श्रीलंकाका चामिन्दा भासले सर्वाधिक २३ विकेट लिए ।
सुपरसिक्स सहितको यो प्रतियोगितामा थुप्रै अप्रत्याशित घटनाहरू भए । दक्षिण अफ्रिका, पाकिस्तान, वेस्टइन्डिज र इंग्ल्यान्डजस्ता हस्तीहरू समूह चरणबाटै बाहिरिए । डकवर्थ लुइस नियमलाई गलत तरिकाले विश्लेषण गरेका कारण दक्षिण अफ्रिका एकपटक फेरि एक रनले पराजित भयो । राजनैतिक अस्थिरताका कारण देखाई इंग्ल्यान्डले जिम्बावेसँग खेल्न अस्वीकार गरेका कारण इंग्ल्यान्ड सुपर सिक्समा पुग्न सकेन । न्युजिल्यान्डले पनि असुरक्षाको कारण देखाई केन्यासँग खेल्न अस्वीकार गरेका कारण पहिलो पटक एशोसियट राष्ट्र केन्याले सेमिफाइनलसम्मको यात्रा तय गर्यो । यसै विश्वकपमा अस्ट्रेलियाका शेन वार्नले प्रतिबन्धित औषधि प्रयोग गरेको प्रमाणित भएपछि उनलाई फिर्ता पठाइयो ।
सन् १९९९ विश्वकपकै फम्र्याट अनुसार शीर्षस्थ तीन टोली सुपर सिक्समा पुग्ने ढाँचा अनुसार समूह ए बाट अस्ट्रेलिया, भारत, जिम्बावे तथा समूह बी बाट श्रीलंका, केन्या र न्युजिल्यान्ड सुपरसिक्समा पुगे ।
जिम्बावेले इंग्ल्यान्डबाट तथा केन्याले न्युजिल्यान्डबाट वाकओभर पाएका कारण केन्याले सुपर सिक्समा प्रवेश पाएका थिए । यदि केन्या र न्युजिल्यान्डबीच खेल भएको भए त्यसमा केन्या पराजित हुँदा दक्षिण अफ्रिका सुपरसिक्समा पुग्ने प्रबल सम्भावना थियो । विश्वकपका खेलहरूमा दक्षिण अफ्रिका वर्षाका कारण सबैभन्दा बढी प्रताडित हुने टोली भयो । डकवर्थ लुइस नियमका कारण श्रीलंका र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएपछि श्रीलंका विजयी भएको थियो भने दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको खेलमा पनि डकवर्थ लुइस नियमकै कारण न्युजिल्यान्ड विजयी भएको थियो । यसरी दुई–दुईवटा खेलमा डकवर्थ लुइस नियमले दक्षिण अफ्रिकाको बाटो छेकेपछि उसले सुपर सिक्स चरणमा प्रवेश पाउन सकेन ।
सुपर सिक्स चरणबाट अस्ट्रेलिया, भारत, केन्या र श्रीलंका सेमिफाइनलमा पुग्न सफल भए । पहिलो सेमिफाइनलमा चमिन्दा भासले ह्याट्रिक गरे पनि अस्ट्रेलियाले श्रीलंकालाई ४८ रनले पराजित गर्यो । यो सेमिफाइनल खेलमा एडम गिलक्रिष्टले एम्पायरद्वारा आउट नदिए पनि मैदान छोडेको घटनाले धेरैलाई अचम्मित तुल्याएको थियो । अर्को सेमिफाइनलमा भारतले केन्यालाई ९१ रनले पराजित गर्यो ।
फाइनल खेलमा भारतले टस जिती फिल्डिङ रोज्यो । फाइनलमा म्यान अफ द म्याच रिकी पोन्टिङले ८ छक्का सहित १ सय ४० नट आउट रन बनाउनुका साथै डेमियन मार्टिन (औंला भाँचिकन पनि खेलिरहेका) सँग २ सय ३४ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले दुई विकेटको क्षतिमा ३ सय ५९ रनको विशाल स्कोर खडा ग¥यो । अस्ट्रेलियाले अन्तिम १० ओभरमै १ सय ९ रन जोडेको थियो । भारतलाई वर्षाले मात्र बचाउन सक्थ्यो । त्यसमाथि सचिन तेन्दुलकर पहिलो ओभरमै आउट भएपछि वीरेन्द्र सेहवागले भारतलाई उकास्न केही भरथेग गरे, तर उनको प्रयास व्यर्थ भयो । खेलको १७ औं ओभरमा वर्षा हुँदा त्यसबेला केही बेर खेल रोकियो । यही बेला भारतले डकवर्थ लुइस नियमको आश गरिरहेको थियो, जसमा उसलाई फाइदा हुन सक्थ्यो तर एकैछिनमा वर्षा रोकिएपछि पुनः खेल सुरु भयो । अन्ततः भारतलाई १ सय २५ रनले पराजित गरी अस्ट्रेलियाले तेश्रो पटक विश्वकप जित्यो र तेस्रो पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो । यसका लागि अस्ट्रेलियाले आफूले खेलेका ११ वटै खेल जितेको थियो ।