साप्ताहिक संवाददाता
विश्वकप–२०१९ का क्रममा चर्चामा रहेका खेलाडी हुन्— दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर । आईपीएलसँगै अन्य फ्रेन्चाइज क्रिकेटमा खुबै माग हुने यी खेलाडी खासमा पाकिस्तानमा जन्मिएका हुन्, तर उनले क्रिकेट खेले, दक्षिण अफ्रिकाका लागि ।
विश्वकपकै बेला धेरैले यसको कारण खोज्ने प्रयास गरेका छन् र यसको उत्तर हो, उनको प्रेम कथा । उनले उमेर समूहको क्रिकेट पाकिस्तानकै लागि खेले । पाकिस्तानकै प्रतिनिधित्व गरेर यू–१९ विश्वकप खेल्ने ताहिर सन् १९९८ मा दक्षिण अफ्रिका पुगे ।
यही क्रममा उनी भारतीय मूलकी युवती सुमैयाको प्रेममा परे । प्रतियोगिता खेलेर पाकिस्तान फर्किएपछि पनि उनले सुमैयालाई बिर्सन सकेनन् र फेरि दक्षिण अफ्रिका पुगेर उनीसमक्ष प्रेम प्रस्ताव राखे ।
सुमैयाले त्यसलाई स्वीकार त गरिन्, तर सर्त राखिन्, यसका लागि ताहिरले दक्षिण अफ्रिकामै बस्नुपर्नेछ । ताहिरले आफ्नो प्रेमका लागि उक्त प्रस्ताव स्वीकार गरे । त्यसपछि के भयो, त्यो त सबैलाई थाहै छ ।