साप्ताहिक संवाददाता
भारतीय कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीको व्यक्तित्व निकै फरक छ । अहिलेका कप्तान कोहलीलाई मैदानमा निकै आक्रामक मानिन्छ, जबकि धोनी मैदानमा शान्त देखिन्थे ।
त्यसैले उनलाई क्याप्टेन कुल पनि भनिन्थ्यो । यसपटकको विश्वकपमा पनि यी दुई खेलाडीको फरक–फरक व्यक्तित्व देखियो । भारतीय समर्थकले अस्ट्रेलियाली खेलाडी स्टिभ स्मिथको खिल्ली उडाएपछि त्यसको विरोधमा उत्रिए, कोहली । उनले आफ्ना समर्थकलाई शान्त रहन पनि अपिल गरे, खेलपछि उनले स्मिथसँगै डेविड वार्नरलाई दर्शकले खिल्ली उडाएको कुराको विरोध गरे ।
बल टेम्परिङमा मुछिएपछि यी दुई खेलाडीविरुद्ध एक वर्षको प्रतिबन्ध लागेको थियो र अहिले उनीहरू मैदानमा फर्किएका छन् । स्मिथ र वार्नरको बचाउ गर्दा धेरैले कोहलीको प्रशंसा गरे । यता धोनीले भने दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय सेनाको चिन्ह अंकित ग्लोब्स लगाएर खेले र विवादमा तानिए । उनको यो कामलाई धेरैले रूचाएनन् ।