साप्ताहिक संवाददाता
लगातार खराब खेलिरहेको अफगानिस्तान यस क्रममा विवादमा समेत फसेको छ र विवादको केन्द्रमा छन्– विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजाद । एक दिवसीय क्रिकेटमा उनी अफगानिस्तानका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । शाहजादले अफगानिस्तानका लागि अहिलेको विश्वकपमा दुई खेल खेले, तर अहिले उनी घर फर्किसकेका छन् र सामाजिक सन्जालमा उनी रोइरहेको तस्बिर भाइरल भैरहेको छ ।
रुन्चे अनुहारकै कारण धेरैले उनीप्रति सहानुभूति पनि देखाएका छन् । भएको के रहेछ भन्दा अस्ट्रेलिया र श्रीलंकाविरुद्धको खेलका क्रममा उनी घाइते भए । उनको घुँडामा गम्भीर चोट लाग्यो । त्यसैले अफगानिस्तानको टिम व्यवस्थापनले उनलाई घर फर्काइदियो, तर शहजादका अनुसार उनलाई चोट पक्कै लागेको छ, तर यो केही दिनको आराममा निको हुने चोट हो ।
काबुल फर्किएपछि उनले मिडियालाई प्रतिक्रिया दिँदै भनेका छन्– ‘मप्रति ठूलो अन्याय भएको छ र म निकै दुःखी छु । सायद अब म फेरि दोहोर्याएर क्रिकेट खेल्दिनँ ।’