साप्ताहिक संवाददाता
विश्व क्रिकेटमा कुनै पनि ठूलो प्रतियोगिता आयोजना हुँदा सबैलाई लाग्छ, यस पटक दक्षिण अफ्रिकाले उपाधि जित्न सक्छ । यस्तो भनिनुका पछाडि बलियो तर्क पनि हुन्छ । दक्षिण अफ्रिकी टिममा एक से एक नामुद खेलाडी हुन्छन् । उनीहरूले आ–आफ्नो टिम र क्लबका लागि निकै राम्रो खेलिरहेका हुन्छन् । तिनै खेलाडीले भरिएको दक्षिण अफ्रिका स्वाभाविक रुपले कुनै पनि प्रतियोगितामा बलियो दावेदारका रूपमा देखा पर्छ ।
निकै राम्रा खेलाडीहरूले भरिएको दक्षिण अफ्रिकी टिमले अहिलेसम्म कुनै पनि ठूलो प्रतियोगितामा सफलता प्राप्त गर्न सकेको छैन । यसलाई दक्षिण अफ्रिकी क्रिकेटको नियति नै मानिन्छ । यसपटकको विश्वकप क्रिकेटमा पनि दक्षिण अफ्रिकी टिमलाई बलियो मान्नुपर्ने आधार धेरै थिए । त्यसैले कम्तीमा यो टिम सेमिफाइनलसम्म पुग्न योग्य मानिन्थ्यो, तर लिगमा केही चरणका खेल अघि नै दक्षिण अफ्रिकाको चुनौती समाप्त भैसकेको छ र फेरि भन्न थालिएको छ, दक्षिण अफ्रिका त चोकर्स नै हो ।
कुनै खेलमा जितको निकै नजिक रहेर पनि कुनै टिमले आत्तिएर खेल गुमाउँछ भने त्यस्तो टिमलाई खेलकुदको भाषामा चोकर्स भनिन्छ । विश्व खेलकुदमा चोकर्स उपमा पाएका धेरै टिम छन् । क्रिकेटमा यसका लागि सबैभन्दा उपयुक्त टिम दक्षिण अफ्रिका नै हो । क्रिकेटका प्रायः सबै ठूला प्रतियोगितामा दक्षिण अफ्रिकाको प्रदर्शन हेर्नुपर्छ, यो टिम वास्तवमै खराव प्रदर्शन गर्न माहिर छ । यसपटकको विश्वकपमा आफ्नो सातौं खेलमा पाकिस्तानको हातबाट ४९ रनले पराजित भएपछि नै दक्षिण अफ्रिका घर फर्किने तय भयो । यसअघि खेलिएका ६ मध्ये ४ खेलमा पराजित भएको दक्षिण अफ्रिकाले जम्मा एउटा खेलमात्र जित्न सकेको थियो भने अर्को एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।
लिग चरणमा दक्षिण अफ्रिकाले
आफ्ना बाँकी दुई खेल खेल्नु अघि नै उसको सेमिफाइनल यात्राको सम्भावना समाप्त भएको हो । दक्षिण अफ्रिकी टिमका कप्तान हुन्– फाफ डु प्लेसिस । विशेषतः इन्डियन प्रिमियर लिगमा उनको प्रदर्शन निकै माथिल्लो दर्जाको हुन्छ, त्यसैले उनी महँगा खेलाडी पनि हुन्– तर उनले विश्वकपजस्तो महत्त्वपूर्ण प्रतियोगितामा आफ्नो टिमका लागि केही पनि गर्न सकेनन् । अन्ततः उनले पनि माने, ‘टिमको प्रदर्शनमा लाज मान्नु बाहेक अर्को कुनै विकल्प छैन् ।’
यसपटक पनि विश्वकपमा दक्षिण अफ्रिकी टिमको प्रदर्शन वास्तवमै किन खराब रह्यो त ? तिनै कप्तान प्लेसिसको विश्लेषणमा, टिमले अघि बढ्न एक पाइला त चाल्थ्यो, तर त्यही बेला दुई पाइला पछाडि पनि हट्थ्यो । यस्तोमा टिम कसरी अघि बढ्न सक्छ ? प्लेसिसले भनेका छन्, टिमको प्रदर्शन वास्तवमै कमजोर रह्यो । यसका पछाडि खेलाडीको मानसिकता नै बढी जिम्मेवार छ । दक्षिण अफ्रिकी खेलाडी कमजोर मानसिकता लिएर ठूला प्रतियोगिता खेल्छन् ।
विश्व क्रिकेटको इतिहास पल्टाउने हो भने दक्षिण अफ्रिकाले जितेकै स्थितिमा पनि खेल गुमाएको धेरै उदाहरण छन् । त्यसमध्ये सबैभन्दा ठूलो उदाहरण सन् १९९९ को विश्वकपको सेमिफाइनल हो । उक्त खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्ध जितकै संघारमा थियो । अन्तिम चार बलमा एक रन मात्र चाहिएको थियो, तर एलान डोनाल्ड नाटकीय रूपमा रनआउट भए र खेल टाइ भयो । त्यही नतिजाका आधारमा अस्ट्रेलिया फाइनल पुग्यो र अन्ततः उपाधि पनि जित्यो ।
अहिलेको विश्वकप सुरु हुनुअघि दक्षिण अफ्रिकी बलर कागिसो रबाडाले भनेका थिए, यसपटक पनि टिमले खराब प्रदर्शन गर्यो भने त्यो शेक्सपियरको नाटक जस्तै दुखान्त हुनेछ । सेक्सपियरका सबै नाटकको अन्त्य दुखद नै हुन्छ । दक्षिण अफ्रिकी टिमको कथा पनि यही हो । दक्षिण अफ्रिकी टिमको समर्थक हुनु भनेको पीडा बेहोर्नु मात्र हो । यसपल्टको विश्वकप पनि त्यसको अपवाद भएन् । खालि प्रश्न के हो भने यो क्रम कहाँ पुगेर टुंगिएला ?