साप्ताहिक संवाददाता
राजधानीको सोल्टी होटलबाट औपचारिक घोषणा गरि छायांकनमा गएको चलचित्र ‘छ माया छपक्कै’को पहिलो सेड्युल सकिएको छ । पहिलो सेड्युलमा चलचित्रको करिब ९० प्रतिसत छायांकन सकिएको चलचित्रका निर्माता रोहित अधिकारीले बताए । अब चलचित्रका केहि दृष्य र गीत छायांकन गर्न बाँकी रहेको उनको भनाई छ । चलचित्रको बाँकी दृष्यका लागि अहिले चलिरहेको भन्दा फरक मौसम चाहिने हुँदा दोस्रो सेड्युल केहि समयपछि सुरु हुने उनको भनाई छ ।
चलचित्र ‘छ माया छपक्कै’ छायाँकनका बारेमा चलचित्रकी सल्लाहार निर्देशक दीपाश्री निरौलाले दर्शकको चाहानालाई छायांकनदेखिनै सम्बोधन गर्दै काम गरिरहेको बताईंन । चलचित्रलाई राम्रो बनाउँनका लागि आफूहरुले चलचित्र प्रदर्शनको एकसाता अघिसम्म पनि छायांकन गर्ने उनी बताउँछिन् ।
चलचित्रका शिर्ष कलाकार दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपालले मुहूर्त सर्ट दिएर सुरु भएको चलचित्रमा केहि कलाकारहरु छायांकन स्थलबाटै सार्वजनिक गरिएका थिए । जेठको पहिलो साता सिन्धुलीबाट छायांकन प्रारम्भ गरेको चलचित्रले छायांकनको ३८ दिन पार गर्दा पहिलो सेड्युल सकेको हो ।
यो चलचित्रलाई चर्चित चलचित्र गाजलुका निर्माता रोहित अधिकारीले एक्लै निर्माण गरेका हुन् । चलचित्रको मुनाफाको आधा प्रतिशत दिपकराज गिरी र उनको टिमलाई दिने सहमती गर्दै रोहितले एकल लगानी गरेका लागेका हुन् । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र मार्फत रोहितले पहिलोपटके दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअप गरेर निर्माण गरेका हुन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा छायांकन सम्पन्न यो चलचित्रमा दर्शकले अभिनेत्री केकी अधिकारी र दीपकराज गिरीलाई जोडीका रुपमा देख्नेछन् । चलचित्रमा सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित रहेर बनेको यो चलचित्र हरि हुमागाईंले छायाङ्कन गरिरहेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रमा दीपक शर्माको संगीत छ । चलचित्रमा निर्देशक लामाको कथा तथा दीपकराज गिरीको पटकथा रहेको छ । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् । यो चलचित्र दशैंमा रिलिज हुनेछ ।