साप्ताहिक संवाददाता
असार १८, २०७६
यसपटकको विश्वकपमा सहभागी सबै १० टिमका समर्थक अहिले इंग्ल्यान्डमा छन् र आफ्नो टिमलाई हौसला प्रदान गर्न व्यस्त छन् । यी सबै टिमका समर्थकमध्ये सबैभन्दा राम्रो समर्थकको होला त ? सामाजिक सञ्चालकै सहयोग लिने हो भने यसमा सबैभन्दा अगाडि छन्, बंगलादेशी समर्थक ।
बंगलादेशी टिम आफैले यसपटक अपेक्षा भन्दा राम्रो गरेपछि ती समर्थकको उत्साह पनि बढेको छ । बंगलादेशी टिमका प्रशिक्षक स्टिभ रोड्सले समेत टिमका समर्थकको प्रशंसा गर्दै टिमको राम्रो प्रदर्शनमा एउटा ठूलो कारण तिनै समर्थक भएको समेत बताए ।
अहिले हजारौ बंगलादेशी समर्थक इंग्ल्यान्डमा छन् । उनीहरू प्रायः बंगलादेशको झन्डाको रंगसँग मेल खाने पहिरनमा देखिन्छन् । अझ अधिकांशको हातमा खेलौना बाघ पनि हुन्छ । किनभने उनीहरूको टिमको उपनाम हो– बंगलादेश टाइगर्स ।