साप्ताहिक संवाददाता
अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३.० जिपिए ल्याएर उत्तीर्ण भइन् । यससँगै उनलाई राजधानीका महँगो भनिएका केही निजी कलेजले आफ्नो कलेजमा कक्षा ११ मा भर्ना गराउन निकै जोडबल गरे । यद्यपि मानन्धरले सरकारी कलेजमा अध्ययन गर्ने निर्णय लिएकी छिन् । अभिनेत्री मानन्धर केही वर्ष यता राजनीतिमा सत्रिय छिन्, जसले गर्दा उनले राजनीतिशास्त्र अध्ययन गर्छिन् भन्ने धेरैको अनुमान थियो, तर उनले व्यवस्थापन अध्ययन गर्ने बताएकी छिन् ।
साप्ताहिकले अभिनेत्री करिश्मा मानन्धरलाई अब कुन विषयमा अध्ययन गर्न सुझाव दिनुहुन्छ ? भन्ने प्रश्न केही सेलिब्रिटीसँग सोधेको थियो, जसमा धेरैजसोले उनलाई चलचित्र विज्ञान अध्ययन गर्न सुझाव दिएका छन् भने कतिपयले राजनीतिशास्त्र, संस्कृति, फेसन डिजाइनिङ आदि विषय अध्ययन गर्न सुझाव दिएका छन् । अभिनेत्री सञ्चिता लुईंटेलले करिश्मालाई आफ्नो रुचिको विषय अध्ययन गर्न भनेकी छिन् । सञ्चिता भन्छिन्, ‘जुन विषय अध्ययन गर्दा आफूलाई खुसी लाग्छ अथवा जुन विषयमा रुचि छ त्यही विषय अध्ययन गर्नुहोला ।’
यस्तै, गायक राजेश बर्देवाले करिश्मालाई संस्कृत र इतिहास अध्ययन गर्न सुझाव दिएका छन् । बर्देवा कलाकारितामा राम्रो अनुभव भएकी अभिनेत्री र नेपालको संस्कृति एवं कलाकारितामा विकास र व्यवस्थापनको परिकल्पना उनको अध्ययनबाट आओस् भन्ने चाहन्छन् । गायिका राधिका हमाल करिश्मालाई चलचित्र क्षेत्रकै विषयमा अध्ययन गर्न सुझाव दिन्छिन् । हमाल भन्छिन्, ‘उहाँ चलचित्र क्षेत्रको भएकाले चलचित्रकै विषयमा अध्ययन गर्दा सजिलो हुन्छ, किनभने अभिनय सँगै अध्ययनले परिपक्व हुँदा आगामी दिनमा अझ अब्बल चलचित्र बनाउन सहयोग मिल्छ ।’
फुटबलर भरत खवास अभिनेत्री करिश्मालाई फेसन डिजाइन पढ्न सुझाव दिन्छन् । करिश्मा चलचित्र क्षेत्रको भएकाले उनलाई फेसनसम्बन्धी राम्रो अनुभव छ, त्यसैले फेसन डिजाइनको अध्ययन गर्दा उनले राम्रो गर्न सक्ने खवासको तर्क छ । गीतकार राजेन्द्र थापा करिश्माले चलचित्र विज्ञानमै ग्य्राजुएसन गरे देशलाई लाभ हुने कुरा बताउँछन् ।
कोरियोग्राफर गम्भीर विष्ट अभिनेत्री करिश्मालाई फिल्म विषयमा अध्ययन गर्न सुझाव दिन्छन् । विष्ट भन्छन्, ‘फिल्म मेकिङ सम्बन्धी विषय अध्ययन गर्दा उहाँलाई रमाइलो हुन सक्छ अन्यथा उहाँलाई रुचि भएको विषय अध्ययन गर्दा पनि हुन्छ ।
गायक प्रकाश सपूत करिश्मालाई राजनीतिशास्त्र अध्ययन गर्न सुझाव दिन्छन् । प्रकाश भन्छन्, ‘उहाँलाई राजनीतिमा रुचि छ, यस्ता पब्लिक फिगरले राजनीतिमा गएर सामाजिक काम गर्नुपर्छ । त्यसका लागि पनि यही विषय अध्ययन गर्नु उपयुक्त हुन्छ ।’ अभिनेता भोलाराज सापकोटा पनि करिश्मालाई राजनीति नै अध्ययन गर्न सुझाव दिन्छन् । सापकोटा भन्छन्, ‘उहाँको रुचि राजनीतिमा देखियो, त्यसैले आफ्नो रुचि मिल्ने विषय अध्ययन गर्नु उपयुक्त हुन्छ ।’