साप्ताहिक संवाददाता
विश्वकपका लागि छानिएको भारतीय टिममा आफ्नो नाम नपरेपछि तथा विजयशंकरको छनौटलाई लिएर आफूले अब विश्वकप थ्रिडी चस्मा लगाएर हेर्ने बयान दिएर विवादमा आएका अम्बाती रायुडु यतिबेला फेरि चर्चामा छन् । उनको चर्चा आइसल्यान्डले उनलाई आफ्ना लागि खेल्न र आफ्नो देशको नागरिकता दिने प्रस्ताव दिएपछि चुलिएको हो ।
यो विषयमा आइसल्यान्डले एउटा ट्वीट गर्दै आइसल्यान्डको नागरिकतासम्बन्धी नियमावलीको कपीसमेत सेयर गरेको छ । आइसल्यान्डको यो प्रस्तावमा रायुडुले कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि आइसल्यान्डको यो प्रस्तावले भारतीय चयनकर्ताहरूको निद्रा भने उडाइदिएको छ । भारतमा क्रिकेट प्रतिभाको कुनै कमी छैन ।
यस्तो अवस्थामा क्रिकेटमा नामै नसुनिएको आइसल्यान्डले अरु भारतीय क्रिकेटरलाई पनि नागरिकताको अफर दिएर क्रिकेट खेल्न बोलाए के होला ? आइसल्यान्ड उत्तरी युरोपको थोरै जनसंख्या भएको विश्वकै धनी देशमध्ये एक हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियम अनुसार कुनै पनि देशको खेलाडी सम्बन्धित देशमै जन्मिएको हुनुपर्ने बाध्यता छैन । त्यसैले पनि आइसल्यान्डले रायुडुलाई दिएको यो प्रस्तावले भारतमा तरंग ल्याएको हो ।