साप्ताहिक संवाददाता
निर्मल पौडेलले निर्देशन गरेको सर्ट फिल्म सिपाहीकी स्वास्नी सार्वजनिक भएको छ । कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्नी’मा आधारित यो सर्ट फिल्ममा अभिनेत्री गरिमा पन्तले सिपाहीको स्वास्नीको भूमिका निर्वाह गरेकी छिन् । ऐतिहासिक चलचित्र ‘झोला’मा जिवन्त अभिनय गरेर लोकप्रियता कमाएकी पन्तले यस सर्ट फिल्ममा पनि जीवन्त अभिनय गरेकी छिन् ।
१० वर्षे सशस्त्र द्वन्द्वताका सिपाहीका स्वास्नीहरुको अवस्था कस्तो थियो भन्ने विषयलाई उठान गरिएको यो सर्ट फिल्ममा युद्धमा गएको श्रीमानको पर्खाइमा हरेक दिन त्रासदी जीवन बााचिरहेकी एउटी श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाइ महसुस गर्छिन् भन्ने उजागर गरिएको छ ।
फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् । फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका छन् ।