साप्ताहिक संवाददाता
स्वर्गीय बासुदेव कोइराला मुनालको ७० औँ जन्मजयन्तीको अवसरमा भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरेका हुन् ।
स्वर्गीय मुनालको स्मृतीमा गठित ‘बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशन’ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिष्टले बासुदेव मुनालले बाल साहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनी आफू फनि स्व. मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए ।
यस्तै मुनालको ७० जन्मजयन्तीको अवसरमा आयोजित कार्यत्रममा पूर्व प्रधानन्यायाधीश तथा बासुदेव मुनाली बालसखा सुशीला कार्की पनि उपस्थित भएकी थिइन् । स्व. मुनाल विराटनगर रहँदा कार्की र मुनालले एउटै विद्यालय र क्याम्पसमा अध्ययन गरेका थिए ।
वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । ९ वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।
कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो ।