साप्ताहिक संवाददाता
आमिर खान, साहरूख खान र सलमान खानलाई बलिउडमा कुनै पनि चलचित्रको सफलताको ग्यारेन्टी मानिन्छ । यी तीन खानलाई एउटै चलचित्रमा अभिनय गराउने कुनै पनि निर्देशकको प्रयास सफल भएको छैन ।
यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा महत्त्वपूर्ण अभियानलाई सफल बनाउन यी तीनै खानसँगै देखिने भएका छन् । भारतमा बढ्दो जलसंकटको समाधान खोजीका लागि भारत सरकारद्वारा निकट भविष्यमा चलाइने एउटा बृहत् अभियानसम्बन्धी वृत्तचित्रमा यी तीनै खान सँगै देखिन लागेका हुन् ।
भारतका विभिन्न भाषामा फरक–फरक स्क्रिप्टमा निर्माण गरिने तीन वृत्तचित्रमा अभिनयका लागि तीनै खानलाई भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्रसिंह सेखावतले प्रस्ताव गरेका थिए । एउटा राष्ट्रिय अभियानलाई गन्तव्यमा पुर्याउन तीनै खान सकारात्मक रहेको बताइन्छ । यसअघि सलमान खान र साहरूख खानले चलचित्र करण अर्जुनमा तथा सलमान खान र आमिर खान चलचित्र अन्दाज अपना अपनामा एक साथ काम गरेका थिए ।