साप्ताहिक संवाददाता
रासिद खान, अफगानिस्तान
विश्वकप सुरु हुनुअघि बलरको वरियताको तेस्रो नम्बरमा थिए– रासिद खान । अफगानिस्तानका लागि यसपटकको विश्वकप बिसर्नलायक रह्यो, त्यसको कारण रासिदको खराव प्रदर्शन पनि
रह्यो । अफगानिस्तानले सबै नौ खेल गुमायो र त्यसको एउटा प्रमुख कारण रासिदको बलिङ
रह्यो । इंग्ल्यान्डका इओन मोर्गनले अफगानिस्तान विरुद्धको एउटै खेलमा १७ छक्का प्रहार गरे । उक्त खेलमा रासिद एक्लैले १ सय १० रन दिए । पूरा प्रतियोगितामा उनले ७ विकेट मात्र लिनसके ।
शोएव मलिक, पाकिस्तान
पाकिस्तानी भेट्रान ब्याट्सम्यान शोएव मलिकका लागि पनि यसपटकको विश्वकप बिर्सनलायक रह्यो । मालिकले जम्मा तीन खेल खेल्ने मौका पाए । इंग्ल्यान्डविरुद्धको खेलमा ६ रन बनाएका शोएवले अस्ट्रेलिया र भारतविरुद्धको खेलमा त खाता पनि खोल्न सकेनन् । नतिजा कस्तो रह्यो भने विश्वकप टुंगिनु अघि नै उनले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरे ।
हासिम अमला, दक्षिण अफ्रिका
यसपल्टको विश्वकपमा सबैभन्दा खराव खेल्ने टिम रह्यो, दक्षिण अफ्रिका । स्टार ब्याट्सम्यान हासिम अमलाले पनि माने, दक्षिण अफ्रिकाले सक्ने जति पनि प्रदर्शन गर्न सकेन र त्यसका पछाडिको प्रमुख कारण अमलाकै खराव खेल रह्यो । अमलाले ७ खेलमा समग्रमा २ सय ३ रन मात्र बनाए । इंग्ल्यान्डविरुद्धको खेलमा उनी टाउकोमा चोट लागेर घाइते समेत भए ।
एन्जेलो म्याथ्युज, श्रीलंका
एन्जेलो म्याथ्युजले भारतविरुद्धको खेलमा उत्कृष्ट १ सय १३ रन त बनाए, तर त्यति बेलासम्म श्रीलंका सेमिफाइनल नपुग्ने लगभग तय जस्तै भैसकेको थियो । बाँकी खेलमा भने उनले केही गर्न सकेनन, ब्याट र बल दुवैबाट । म्याथ्युजलाई श्रीलंकाली क्रिकेटको अहिलेको पुस्ताका सबैभन्दा प्रभावशाली अलराउन्डर मानिन्छ । उनले ७ यसपटकको विश्वकपमा २ सय ४४ रन बनाए ।
मार्टिन गुप्टिल, न्युजिल्यान्ड
न्युजिल्यान्ड विश्वकपको फाइनलमा प्रवेश गरे पनि टिमका एक स्टार खेलाडी भने नराम्रोसँग असफल भए र ती थिए– मार्टिन गुप्टिल । सन् २०१५ को विश्वकपमा खुबै चम्किएका गुप्टिल न्युजिल्यान्डको टिममा असफल हुने लगभग एक्ला खेलाडी हुन् । श्रीलंकाविरुद्धको पहिलो खेलमा उनले ७३ रन बनाए पनि त्यसपछिका खेलमा नराम्रोसँग असफल भए । सेमिफाइनल र फाइनलमा पनि उनको योगदान गतिलो रहेन् ।