
सिंगापुर, थाइल्यान्डमा खेल्न पाइने रिभर फन नयाँ वर्षको पहिलो दिनदेखि कोसी तथा नारायणी नदीमा प्रारम्भ भएको रङ्गमहल रिभर ल्यान्डका अध्यक्ष रमण भट्टराईले जानकारी दिएका छन् । सिंगापुर तथा थाइल्यान्डमा गरिने समुद्री सफारीजस्तै सप्तकोसी र नारायणी नदीमा जल पर्यटनका लागि रिभर फन सञ्चालनमा ल्याइएको भट्टराईले बताए । जल पर्यटनको सम्भावना भएकाले सप्तकोसी र नारायणी नदीमा रिभर फन सञ्चालनका लागि रिभर बोट, जेट स्किन तथा वनाना बोटको व्यवस्था गरिएको छ।
साढे ४ करोड खर्च गरेर सप्तकोसी र नारायणी नदीमा एकसाथ रिभर फनको सेवा सुरु गरिएको कुरा बताउॅदै भट्टराईले सप्तकोसीमा दुई–दुईवटा रिभर बोट र जेट स्किन तथा एउटा बनाना बोट राखिएको जानकारी दिए । यसैगरी नारायणी नदीमा जेट बोट, बनाना र जेट स्किन एक–एकवटा राखिएको उनले बताए । ती सामग्री जापान र चीनबाट ल्याइएको हो । जेट स्किनमा सफर गरेको ४ सय, रिभर बोटको ३ सय तथा बनाना बोटको २ सय शुल्क कायम गरिएको छ ।
एक जना पर्यटकले तीनवटै बोटको सेवा लिन ७ सय ५० मात्र तिर्दा पुग्छ । यी तीनै प्रकारका बोटबाट २ देखि ४ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । नेपालमा नदीजन्य मनोरंजनका लागि कुनै पनि नीति–नियम नभएकाले समस्या सिर्जना भएको गुनासो अध्यक्ष भट्टराईको छ । सप्तकोसीमा कोसी पुलको आसपास तथा उदयपुर र सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइनेछ भने नारायणी नदीमा पनि नारायणघाटको नारायणी पुलको आसपास रिभर फनको व्यवस्था गरिएको छ ।