साप्ताहिक संवाददाता
रिलिजको प्रचारमा रहेको चलचित्र ‘लभ यू हमेशा’को टिमले ‘भिडियो प्रतियोगीता’ आयोजना गरेको छ । भदौ ३० गतेलाई रिलिज डेट लक गरेर प्रचार यात्रामा निस्किएको चलचित्र लभ यू हमेशा टिमले सहभागीहरुलाई प्रेम प्रस्ताव राखेको भिडियो निर्माण गर्न आग्रह गरेको छ । प्रतियोगीतामा सहभागीता जनाउनका लागि आफूले निर्माण गरेको उक्त भिडियो चलचित्रको नाम लेखेर चलचित्रको फेसबुक पेजमा पोष्ट गर्नुपर्नेछ ।
प्राप्त भडियोमध्ये जुनमा लाइक र कमेन्ट धेरै आउाछ, सोही भिडियोलाई विजेता बनाउने निर्माण टिमले जनाएको छ । चलचिक्र निर्माण गरेको ब्यानर धर्मा त्रियशनले बिजेता भिडियो निर्माणकर्तालाई चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेज लगायत बिभिन्न उपहार प्रदान गर्ने बताएको छ ।
भदौ २१ मा विजेता घोषणा गरिनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रको हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुई वटा गीतको छायांकन भैरहेको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।