यो हो काठमाडौं उपत्यका । अलिकति पछाडि फर्किऊँ २०३५ सालको दसैंतिर । त्यतिबेलासम्म यसैलाई भन्थे तीन सहर नेपाल । आकारका हिसाबले यो कति रोपनीको थियो होला ? यो एउटा ठूलो रंगमण्डल हो । ठूलो रंगमण्डल अर्थात् नीलो, हरियो, सेतो, पहेंलो, कालो, सुन्तला, खैरो, गोरो, बैजनी, धूपी र खरानी–रंगहरूको समूह । स्रष्टा त पक्कै छन् । यो सृष्टिमा पाइने सबै रंग एकाकार भएको मण्डल पनि छ, तर रंगहरूको रंग अभिशप्त हुन्छ । रंगहरूको रंग इन्द्रधनुषी पनि हुन्छ । रंगहरूको रंग केही पनि हुँदैन । रंग त एक प्रकारको दृष्टिभ्रम मात्र हो । रंगको कुनै रंग हुँदैन । यो रंगमण्डल विशाल छ, तर यसको विशालताका लागि आवश्यक पर्ने ठूलो आकारको छैन । ठूलोभन्दा पनि यो एउटा मात्रै रंगमण्डलको कुनै रंग छैन, जसले जस्तो सोच्छ काठमाडौं त्यही रंगमा उपस्थित हुन्छ । काठमाडौं रंगहीन रंग हो । सम्पूर्णमा एउटा रंगमण्डल ।
कुनै समयमा यो खाल्डो एउटा ठूलो दह थियो रे । मञ्जुश्रीको खड्गले चोभार काटिएपछि यहाँ बस्ती बस्यो, सहर बन्यो । कुनै समय यो खाल्डो एउटा ठूलो पोखरी थियो । पोखरीको पानीले निकास पाएपछि सहर बस्यो । त्यसबेला यसका स्रष्टा र पहिलो निवासी मञ्जुश्री र नेमुनीले सोचेका थिएनन् होला कि यो एउटा रंगमण्डल हुनेछ । एउटै वृक्षले बृहत् पार्टी बनाउने शंखधरले पनि सोचेको थिएन होला । तीन सहरमा विभक्त र विभाजित राज्यका भोक्ताहरू कसैले चिनेनन् यो काठमाडौंलाई । कसैले पनि त चिनेन ।
नचिनेर के भो त ? यो रंगमण्डल त बन्यो । इतिहासले धेरै युग बिताइसक्यो । मानदेव, शिवदेव, अंशु बर्मा, जयस्थिति मल्ल, जयप्रकाश मल्ल, रणजित मल्ल विस्तारै विस्थापित हुन, विस्मृत हुन, हराउन थालेका छन् । इतिहासका पुराना पात्रहरूको सट्टा वर्तमान स्वयं नै एउटा उपन्यास र इतिहास बनेर अघि सर्दैछ । भीममल्लको रगतको छिटा दन्त्यकथा मात्र हो । यस्तो रगतको छिटा हनुमान ढोकालगायत दरबारका गुम्बदहरूमा कतै पनि पाउन सकिँदैन । भीमसेन थापा सेरिएर मरेका काँचको टुक्रा, माजा लगाएको धागो अथवा भुत्ते खुकुरी : हतियार जे भए पनि, त्यो किंवदन्ती भैसकेको छ । श्रापका लागि वर्तमानले यति धेरै सतीहरू जन्माइसकेको छ कि वंशावलीमा उल्लेख भएका श्रापकथाहरू अब आफैं अभिश्रापित बन्दैछन् । कोतपर्वजस्तो आगोको भुंग्रो पनि अब यो रंगमण्डलमा हुर्किइरहेका पछिल्लो पुस्ताका लागि एउटा रमाइलो कथामात्र हो । सम्पूर्ण आदर्शहरू, राम शाहका न्याय कल्पना, पृथ्वीनारायण शाहको एक्लो एकीकरण सबै मिथक हुन् । अविश्वसनीय मिथक । वर्तमान जब स्वयंमा एउटा ऐतिहासिक रंगमण्डलका रूपमा जगमगाउन थाल्छ, इतिहास मिथकभन्दा बढ्ता अरू केही हुनै सक्दैन ।
यो केन्द्रीय बस बिसौनी सहिद ढोकाको नामले प्रसिद्ध थियो । अहिले पनि यो केन्द्रीय बस बिसौनी नै हो । यहाँबाट बस बिसौनी उठेर अलि पर सरेको धेरै भएको छैन । पश्चिम लागेपछि ठाडो धरहराले तीनतिर सहरको दिशानिर्देश गर्थ्यो । अहिले त्यो धरहरा छैन । एउटा बाटो अक्सर मुर्दा लैजाने र मलामी ओसार्ने काममा प्रयोग हुन्थ्यो । अहिले त्यहाँ बजार छ । अर्को मूलबाटो तीन–चारतिर छरिएर सहरतिर लाग्थ्यो । बाटोको दायाँ–बायाँ हजाम, होटल, तस्बिर र मासु पसलका लस्कर त अहिले पनि छन् । दुवैतिर गहिरिएको नालीले एउटा नयाँ सभ्यताको परिचय बोल्छन् । खसीको रूप धारण गरेको बाख्रोको बूढो हाडलाई अचानोमा राखेर ठूलो चुपीले टुक्र्याउँदा अक्सर अचानोबाट हाड उफ्रिनु कुनै नौलो कुरा होइन ।
साँझ पर्न–पर्न लागेका बेला नजिकको ठूलो घरको ढोकाबाट एउटा मान्छे फुत्त बाहिर निक्लिन्छ । उसको कुनै आइडेन्टिटी छैन । यतिबेला उसलाई कसैले सम्झेको कल्पनासम्म पनि गर्न सकिँदैन । अहिले त्यस्तै नौ साढे नै बजेको होला साँझको । समयका लागि उसको हातमा कुनै घडी छैन ऊसँग । ऊ जुन सडकबाट हिँड्दैछ त्यसमा मर्करीको तीखो उज्यालो पोतिएको छ, सेतो उज्यालो । साँझ पर्ने बित्तिकै नियोन लाइट चम्कने पसलहरू एकएक गरेर बन्द हुँदैछन् । सडकका किनारामा उभिएका ट्याक्सी चल्तीमा छैनन् । अधिकांश समय मिटरमा ‘फर हायर’को रातो संकेत बत्ती चम्काएर सडकमा उभिइरहेका हुन्छन् । भन्न सकिँदैन, कति बेला कुन दिशाबाट कसले बोलाउने हो । मान्छे हिँड्ने पेटी र सडकमा फोहोरका थुप्रा अस्तव्यस्त छन् । दमकलदेखि ढोकासम्म नयाँ सडक जता हेर्यो त्यतै असरल्ल छ ।