साप्ताहिक संवाददाता
नेपाली कला क्षेत्रका लोकप्रिय कलाकार हरिवंश आचार्यले नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीसँग झण्डैं २ घण्टाको समय बिताएका छन् । एभरेष्ट एकेडेमीमा अध्ययनरत झण्डैं १ सय विद्यार्थीहरुमाँझ उनले आफुले कलाकारिता क्षेत्रमा सफलता पाउन गर्नुपरेको संघर्षका कथा मात्रै सुनाएनन्, कलाकारीता क्षेत्रमा कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा समेत सुझाव दिए ।
हरिवंशले भने, ‘आजको दिनमा पहिले भन्दा धेरै प्रतिस्पर्धा छ । तर, प्रतिस्पर्धा जतिनै भएपनि अवसरहरु धेरै छन् । केहि समय मिहेनत गर्नेहो भने सफलता पाउन खासै मुस्किल पर्दैन ।’ ४५ बर्षदेखि यो क्षेत्रमा निरन्तर सक्रिय हरिवंशले अहिले कठिन मिहेनतका साथ लाग्नेहो भने हलिउड तथा बलिउडमा समेत अवसर पाउन सकिने बताए । उनले आफ्ना जिवनका कथा–व्यथा सुनाइरहेका बेला श्रीमती मिरा पाठक निकै मुस्कुराएकी थिइन् ।
हरिवंशका बुवाले आफु पण्डित भएकाले छोरालाई पनि संस्कृत पढ्न पठाए । तर, उनि स्कुल भन्दा पनि धेरै फिल्म हेर्न जान थाले । हाँस्दै भने, ‘संस्कृत विषयमा खासै रुची थिएन, सोहि कारण चलचित्र हलमा गएर समय बित्थ्यो ।’ जो व्यक्तीलाई जे काममा इच्छा छ, त्यहि बाटोमा जान दिनुपर्छ, हाँस्दै उनले भने, ‘दिनरात चलचित्र हेर्न जानेलाई संस्कृत पढ्न पठाएपछि कसरी पढ्नु ?’
हरिवंश चलचित्र हेर्दाहेर्दै उक्त चलचित्रको कथा साथिभाईलाई सुनाएको समेत पैसा लिएको प्रशंग सुनाए । एक विदेशी चलचित्र पहिलो दिनको शो हेरेँ । ‘त्यो शो लागेको दोस्रो दिन चाइनाले बन्द गरिदियो । कसैले चलचित्र हेर्न पाएनन् ।’ उनि भन्छन्, ‘सबैले मलाई चलचित्र हेरेको छस् ? भन्दै सुनाउन रिक्वेष्ट गरे । मैले पनि चलचित्र हेर्दा पैसा लागेको थियो, पैसा दिनेहो भने सुनाउँछु भनें । साथिभाईहरुले १०–१० पैसा जम्मा गरेर १ रुपैयाँ बनाएपछि मैले चलचित्र सुनाएँ ।’ हरिवंशले आफुले जिन्दगीमा कमाएको पहिलो कमाइ उक्त १ रुपैयाँ भएको सुनाउँदा विद्यार्थीहरु निकै हाँसे ।
म त उतिबेलै व्यवसायिक कलाकार भएको रहेछु । त्यो चलचित्र पुरै बुझेको थिएनँ । मिलाएर साथिभाईहरुलाई सुनाएँ । पैसा पनि पाएँ । उनले थपे, ‘कलाकारिता क्षेत्रमा आउनु रहेछ । सोहि कारण त्यस क्षेत्रमा ध्यान गएको रहेछ ।’ आफुहरुको पालामा कलाकारिताको विषयमा प्रशिक्षण दिने कुनै सँस्था नभएको भन्दै उनले अहिले यो क्षेत्रमा आफुलाई स्थापित गराउन धेरै सहज हुने समेत सुनाए । नजिकै रहेका चर्चित अभिनेता सुनील थापाको हात समात्दै भने, ‘उहाँ बलिउडमा राज गरेको मान्छे, मुम्वईमा एकेडेमी खोल्न पनि सक्नुहुन्थ्यो । तर, आफ्नै मुलुकको चलचित्र उद्योगका लागी भन्दै नेपाल फर्कनुभएको छ । सोहि कारण आफ्नो जन्मभुमीलाई विश्वमाँझ चिनाउन तपाइहरु पनि लाग्नुहोस् ।’
विशाल श्रेष्ठ र ज्योत्सलराज भण्डारीले साढे २ बर्षअघि संचालनमा ल्याएको एभरेष्ट फिल्म एकेडेमीका निर्देशक सुनील थापा हुन् । थापा नेपाली तथा भारतिय चलचित्र उद्योगका दर्जनौं चलचित्रमा काम गरिसकेका छन् भने अरु धेरै चलचित्रमा उनले साइन गरेका छन् । उनलाई नेपाली कला क्षेत्रमा सर्वाधिक सफल कलाकारको रुपमा लिइन्छ ।