१ घण्टा ५ मिनेटदेखि म यो कोठामा एक्लै छु । कसैको प्रभावको नाजायज प्रयोग गरेर मलाई यहाँ रोकिएको छ । १ घण्टा र ५ मिनेट भनेको थोरै समय होइन । यतिबेलासम्ममा त संसारमा थुप्रै मानिसले आत्महत्या गरिसकेका हुन्छन्, ती सबैको सनाखतसमेत भैसकेको हुन्छ । आत्महत्या गर्ने नै हो भने के बेर लाग्छ र ? यौटा मसिनो डोरीलाई सुर्किनो पार्न कति नै समय लाग्छ ? यही साल भनेर यकिन नभए पनि पोहोर या परार साल यौटा हट्टाकट्टा लाहुरे दिउँसो एघारै बजे गोकर्णमा देखिएको थियो । साढे ११ बजे पशुपतिजंगलको बीचको रूखमा कसैले उसलाई झुन्डिइरहेको भेट्टायो । त्यसपछि एउटा मानिस पशुपतिको जंगलमा झुन्डिएर मरेको सूचना सरकारलाई दिन अलिकति पनि समय लागेन । मानिसको जीवन सकिन केही बेर पनि लागेन । साढे १२ सम्म मर्ने मानिसको परिचय पनि खुलिसकेको थियो, तर आत्महत्या– त्यो उसले किन गर्यो ? कसैले थाहा पाउन सकेका थिएनन् ।
उचाइमा चार तला उक्लिएको घरको दोस्रो तलामा छु म । मलाई घर साँघुरो लाग्दैन र घरका कोठाहरू फराकिला पनि लाग्दैनन् । यसमा न कुनै सजावट छ, न श्रृङ्गार ! यस्तो लाग्छ, योभन्दा त पशुपतिनाथको मन्दिरछेउकी चियापसल्नी मोहिनीको चियापसलको चिया कोठा धेरै राम्रो छ । कामिनी कौशल, मधुवाला, आशा पारेख, साधना र वैजयन्ती माला । ‘खोइ किन हो । यसमा नेपाली हिरोनीको तस्बिरचाहिं छैन,’ भन्छे मोहिनी । ऊ यिनै तस्बिरको आड र भरोसामा बाँचेकी छ । ऊ अर्थात् मोहिनी । अभिनेत्रीहरूको तस्बिरको लहरमा उसको पोइको पनि तस्बिर छ । कुनै समय फिल्म इन्डस्ट्रिजको हेड ड्राइभर थियो उसको पोइ । अहिले छैन । केही समय अघिसम्म ऊ मोहिनीको लोग्ने थियो— आज छैन ।
म अहिले जुन कोठामा छु– यो तीन खण्डमा बाँडिएको छ । यसको पहिलो खण्डमा यौटा सानो खालको टेबुल छ । टेबुलमा रेमिंगटन कम्पनीले बनाएको यौटा थोत्रो टाइपराइटर छ । कार्बन पेपरका केही प्रति भुइँमा छरिएका छन् । कोठाको दोस्रो खण्डमा जुन टेबुल राखिएको छ त्यो मझौला खालको छ– त्यसमा एउटा मान्छे बडो दत्तचित्त भएर पढेजस्तै गरी कागजमाथि घोप्टिएको छ । १ घण्टा ५, १०, १५ मिनेट भइसक्यो, उसले टाउको उठाएको छैन । ऊ निदाइसकेको हुनुपर्छ । त्यसको मलाई खासै चासो छैन ।
यो अन्तिम अथवा तेस्रो खण्डमा यौटा ठूलो टेबुल छ । अहिले यो टेबुलमा बस्ने मान्छे आइपुगेको छैन । मलाई उसैसँग भेट्नु छ । यसरी घरको प्रत्येक तलामा खण्ड छुट्टिए पनि, कोठालाई बाँड्ने कुनै बार अथवा कठबार छैन । यो एकछत्त छ ! एकदमै एकछत्त ! यो जुन तेस्रो टेबुल छ— यसको अगाडि लहरै मेच राखिएका छन् । सबैभन्दा अन्तिम लहरमा बेन्च राखिएको छ । तेस्रो टेबुलमा यौटा ह्विलिङ चियर छ । यसको दायाँ भागको यौटा दराजमा पुस्तकहरू छन् । बायाँ भागमा कालो टेलिफोन राखिएको छ । टेबुल रित्तो छ । एउटा पिनको बट्टा पनि छैन । त्यो नभएकाले पनि मेरो यहाँको बसाइ अझ कष्टदायी भएको हो । बीचको टेबुलमा कागजमाथि घोप्टिएर बसेको मान्छेसँग कुरा गर्ने मेरो चाहना छैन । यस्तो अवस्थामा दाँत कोट्याउनु समय बिताउने अर्को विकल्प हुन सक्छ, तर टेबलमा पिन छैन । खल्तीमा सिन्का छैन ।
मोहिनीको कोठा यस्तो छैन । जुन दिन उसको पोइ, हेड ड्राइभर, मरेको थियो, त्यस दिन पनि मोहिनीको कोठामा टन्नै ग्राहक थिए । उसको जेठो छोरोले– जसले उसलाई आमा भनेर कहिल्यै बोलाएन– आएर सुटुक्क भनेको थियो, ‘दिदी, बा अस्पतालमा छन् अरे ! रक्सी खाँदाखाँदै अस्पताल लगेको रे ।’ मोहिनीले त्यतिबेला विषादरहित बोलेकी थिई— ‘मर्न दे’ अनि आफ्नो काममा लागेकी थिई । वास्तवमा त्यही साँझ हेड ड्राइभर मरेको थियो ।
हेड ड्राइभर मरेको दुई–चार दिनपछि घरमा यौटा देख्दै घिनलाग्दो आकृति भएको मानिस मोहिनीको पोइ बनेर आयो– दोस्रो पोइ मोहनीको । त्यसपछि मोहिनीका पोइहरू कुन्नी कति जना आए, कति गए, कसैलाई थाहा छैन । मोहिनी भन्छे, ‘पोइ मेरो शरीरका लागि चाहिएको होइन, यो ठाउँको सुरक्षाका लागि चाहिएको हो । लोग्नेमान्छे भएको घरमा हम्मेसि पुलिस पसिहाल्दैन । पसे पनि ऊसँगको सम्बन्ध सुमधुर हुन्छ । कसैले होहल्ला र लुटपाट गर्ने आँट गर्दैन ।”
मोहिनीको त्यो अपरिवर्तनीय कोठामा उसका आफ्नै तस्बिरहरू टाँगिएका छन् । त्यसपछि फिल्म स्टार, सती सावित्री, सत्य साई, जय सन्तोषीमाँ, सिरडीका साइबाबा र अरू अखबारका थुप्रै कटिङहरू टाँसिएका छन् । सामान्यतः यो चिया कोठाको आयतन साह्रै कम छ । कहिलेकाहीं मोहिनीको च्यालेन्ज स्वीकार गरेर युवकहरू भित्रिने कोठा त योभन्दा पनि साँघुरो छ धूवाँको रंगले भित्ता कालो भैसकेको ।
पानी दर्किएका बेला भिजेर हिँड्ने युवतीहरूको शरीरमा टाँसिएको पारदर्शी कपडा हेरेर सुख लिन म सक्दिनँ । यौटा निश्चित अठोट बोकेर म आफ्नो घर फर्कन्छु— जहाँ त्रासदी सधैं मलाई पर्खिएर बसेको हुन्छ, जहाँ कालो सर्पले सपनामा सधैं–सधैं मलाई डस्न खोज्छ ।
म कुनै वृत्तमा छैन, मेरो कुनै घर छैन, कुनै परिवार छैन र बाँच्ने समय पनि मेरो आफ्नो छैन । म सम्पूर्ण सन्दर्भहरूबाट मुक्त छु यतिबेला । मलाई चौपट्टै न्यास्रो लागेको छ । यो चौकोर शून्यमा म आफ्नो हातगोडा फैलाउँदै छु । थाहा पाएको छु, तमाम सन्दर्भहरूले मलाई जीवनदेखि सन्त्रस्त मानिस ठहर्याएका छन् । मृत्युको अनुभूति मात्र पनि मेरा लागि सुखद भैरहेको छ । हरेक विषयले मलाई वाक्क–ब्याक्क पारेका छन् । बितेका घटनाहरूलाई मैले आफ्नो सहज चेतनाको विस्फोट भनेर मीठो स्वाद भोगेको थिएँ, तर त्यसको चेतनशून्य र तितो वातावरणले मलाई डाँको छोडेर रुने तुल्याएका छन् । म आफ्ना सारा भ्रमबाट मुक्त छु । म समयलाई कोट्याउन खोज्छु— समय सायद महाशून्य हो । यो अहिले म बाँचेको समय त झन्
ठूलो शून्य हो ।
(२०३३ सालमा लेखिएको रंगमण्डलले त्यो समयको काठमाडौं सहर र समाजलाई प्रस्तुत गरेको छ । काठमाडौंसँग अनुराग राख्ने पाठकले यसको अलग महत्व छुट्याउने आशा राखिएको छ । —सम्पादक)