साप्ताहिक संवाददाता
मिरुना मगर राम्रो अभिनय क्षमता भएकी अभिनेत्री हुन् । उनको एक्टिङ हेर्नेहरुले क्षमतामा खोट देखेका छैनन् । तर, के गर्नु ? उनले करिअरमा अहिलेसम्म सफल चलचित्र कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएकी छैनन् ।
अहिलेसम्म अभिनय गरेका तिनवटै चलचित्र मज्जाले पछारिए । लालपुर्जा, रोज पछि केहि समयअघि प्रदर्शनमा आएको चलचित्र साइनो समेत असफल भएपछि मिरुना तनावमा छिन् । साथीभाईहरुसँग मिठो मुस्कानमा प्रस्तुत भएपनि एकपछि अर्को फ्लप चलचित्रका कारण मिरुना निराश छिन् । त्यो निराशा उनको आगामी चलचित्र ‘च च हुई’ ले पाखा लगादिन्छ कि ?
केहि समय अघि एक कार्यक्रममा त मिरुनाले म फ्लप होइन, मिडियाले मात्रै फ्लप भनेको हो भन्दै ठुला कुरा गरिन् । मिरुनाका नजिकका चलचित्रकर्मीहरुले उनले अब चलचित्र छनौटमा ख्याल गर्न सुझाब दिएका छन् । कतिपयले राम्रो ब्यानरको उत्कृष्ट सिनेमाको स्क्रिप्ट नभएका कारण मिरुनाको भाग्य नचम्किएको हो कि भनेर अड्कल समेत काटेका छन् ।
काम पाइरहनु सफलता होइन, आफुले गरेका कामले राम्रो रिजल्ट दिए मात्रै सफल भइने हो भन्ने कुरा त मिरुनाले बुझिनन् । निर्माता डुबाएर सफल कलाकार हुँ भन्ने मिरुनाको दम्भ त पटक्कै सुहाएन हैन र ?