भविष्य इलेक्ट्रिक भेइकलको हो

- जनक तिमिल्सिना

भाद्र ८, २०७६

सन्तोष एस. गिरी एडी फ्याक्टरका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००२ मा कान्तिपुर टेलिभिजनमा लाइसेन्स टु ड्राइभ कार्यक्रम उनैले सुरु गरेका थिए । सानैदेखि अटोमोबाइलका सौखिन सन्तोषले त्यतिबेला सुरु गरेको यो कार्यक्रमलाई नेपाली टेलिभिजनमा पहिलो अटोबाइल शो मानिन्छ । त्यतिबेला यो शो झन्डै एक वर्ष चलेर बन्द भएको थियो । ४५ वर्षीय सन्तोषले त्यही लाइसेन्स टु ड्राइभ’ कार्यक्रम १६ वर्षपछि पुनः कान्तिपुर टेलिभिजनमै सुरु गरेका छन् । तीन महिनाअघिदेखि प्रसारण हुन थालेको यो कार्यक्रममा अटोमोबाइल बजारसम्बन्धी सामग्री प्रसारण हुन्छ । सन्तोषसँग नेपालको गाडी संस्कृति, नेपालीहरूको गाडी मोह, सडक उपयुक्त सवारी, सवारी छनौटजस्ता विषयमा केन्द्रित रहेर साप्ताहिकका लागि जनक तिमिल्सिनाले गरेको कुराकानी :

नेपालीहरूको गाडी चढ्ने कल्चरलाई कसरी हेर्नुहुन्छ ? 

नेपालीहरू पहिलेदेखि नै सौखिन हुन् । हाम्रो गाडी चढ्ने सौखिन कल्चर पहिलेदेखिकै हो । बाटो नहुँदा पनि भरियाहरूलाई बोकाएर गाडी ल्याउने हाम्रा पुर्खाहरूजस्ता सौखिन संसारमा विरलै पाइएलान् । बोकाएर ल्याउने भन्नु र साँच्चै बोकाएर ल्याउनुमा पनि फरक छ । त्यतिबेला मेकानिक्सहरू पनि थिएनन्, कसरी मेन्टिनेन्स गरे होलान् ? अहिले पनि हामी नेपाली गाडीका सौखिन मात्र होइनौं, गाडीको भ्यालु बुझेर हो कि यति धेरै ट्याक्स तिरेर पनि गाडी किनिरहेका छौं । हरेक वर्ष झन्डै १० हजारको हाराहारीमा नयाँ गाडी थपिरहेका छन् । त्यसमा कमर्सियल गाडी जोडिएको छैन । बाइकहरूको अवस्था पनि त्यस्तै छ । 

नेपालीहरूको गाडी मोहको मुख्य कारण के होला ? 

मुख्य कारण त भौगोलिक अवस्था पनि हो । उकालो–ओरालो बाटोमा हिँडडुल गर्नुपर्ने भएकाले पनि हो । अर्को कारण नेपालीहरू सौखिन पनि हुन् । भारतजस्तो सस्तोमा पाइने भएको भए, नेपालमा कति गाडी हुन्थे होला ? जस्तो अहिले भारतमा ८ लाखमा पाइने गाडीलाई नेपालमा २२–२३ लाख पर्छ । ८ लाखको तीन गुणा बढी तिरेर हामी नेपालमा गाडी चलाउँछौं । अनुमान मात्र गरौं, नेपालीले सहुलियतमा गाडी पाएको भए के हुन्थ्यो होला ? सरकारले बढी कर लगाउनु भनेको अलि थोरै गाडी चलून् भनेर पनि हो । अर्को, पब्लिक ट्रान्सपोर्टेसनको अवस्था राम्रो नभएर पनि हो । यदि मोनोरेल, अन्डरग्राउन्ड रेल आदि भएको भए पनि गाडी कम हुन्थे होलान् । 

त्यसबाहेक यसमा कर्पोरेट कल्चरले कत्तिको भूमिका खेलेको देख्नुहुन्छ ? 

अवश्य भूमिका खेलेको छ । हाम्रो क्रय क्षमता पनि वृद्धि भएको छ । नेपालीको सपनामा पहिले घर, त्यसपछि छोराछोरीको एजुकेसन अनि त्यसपछि गाडी हुन्छ । मैले दुई खालको वर्ग देखेको छु, एउटा आवश्यकताका लागि गाडी चलाउने छ । काठमाडौंमा पब्लिक ट्रान्सपोर्टेसन सुविधाजनक छैन, राति अबेर गाडी नै पाइँदैन, यदि पाइने भएको भए म पनि गाडी लिन्नथें होला । हामी यहाँ बाटो ठूलो बनाइरहेका छौं, युरोपतिर बाटो सानो पारिरहेका छन् । उनीहरू मानिस हिँड्ने बाटो ठूलो र गाडी हिँड्ने बाटो सानो बनाइरहेका छन्, यसको अर्थ उनीहरू गाडी चढ्ने कल्चरलाई डिस्करेज गर्न खोजिरहेका छन् । नेपालमा मानिसहरू एउटा रहरले र अर्को करले गाडी चढिरहेका छन् । एक त देखाउनका लागि पनि गाडी चढिन्छ । मोटरसाइकलमा कुनै कार्यालयमा गयो भने गेटमा इन्ट्री गर्न लगाइन्छ, गाडी चढेर गयो भनेर सलाम ठोकेर ढोका खोलिदिन्छ । समाजको यस्तो मनोविज्ञान छ । गाडी, सुट र सुन लगाएको धनी, अरू गरिब भन्ने सोच छ । नेपालीहरूका लागि गाडी सिम्बोल अफ स्टाटस पनि हो । 

भनेपछि, गाडीलाई सिम्बोल अफ स्टाटसका रूपमा लिने वर्ग पनि छ ? 

गाडीलाई सिम्बल अफ स्टाटस मान्ने एउटा वर्ग छ । जुन देशका रेन्जरोभरको आधिकारिक वर्क स्टेसन नै छैन, त्यहाँ सबैभन्दा बढी रेन्जरोभर छन् । एकताका नयाँदिल्लीभन्दा बढी रेन्जरोभर काठमाडौंमा थिए । अहिले पनि नेपालमा ५०–६० वटाभन्दा बढी रेन्जरोभर भएको अनुमान गरिन्छ । किशोर गेयरले बेचिरहेको छ, तर आधिकारिक रूपमा रेन्जरोभरको विक्रेता नेपालमा छैन । मर्सिडिजको आधिकारिक विक्रेता पनि नेपालमा छैन, तर मर्सिडिज पनि सडकमा उत्तिकै देखिन्छ । उनीहरू कहाँ सर्भिसिङ गर्छन् ? पार्ट्सहरू कसरी जुटाउँछन् ? 

महँगा गाडी चढ्ने नेपालीहरू को हुन् ? 

बैकका सिइओहरू, ठूला–ठूला बिजनेस हाउसका प्रोप्राइटरहरू तथा रियलस्टेट व्यवसायीहरू बढी छन्् । महँगा गाडी चढ्नेहरू गन्न सकिने छन्, तर भारतमा नर्मल मूल्यमा पाइने गाडी नेपालमा किन्दा धेरै महँगो पर्न गएको पनि यस्तो देखिएको हो ।

 

मध्यम वर्गका नेपालीहरूको रोजाइमा भारतीय गाडीहरू बढी पर्नुको कारण के हो ? 

धेरैजसोको रोजाइमा भारतीय गाडी नै पर्छन्, त्यसको प्रमुख कारण स्पेयर्स पार्ट्स सजिलै पाइनु हो । अर्को, भारत जान सहज प्रवेश सुविधा पनि भयो । जापानिज तथा कोरियन गाडीहरूको मेन्टिनेन्स पनि महँगो छ भन्ने हुन्छ । भारतले सस्तो, टिकाउ, माइलेज बढी दिने तथा बलिया गाडीहरू उत्पादन पनि गरिरहेको छ । उनीहरू र हाम्रो बाटो लगभग उस्तै भू–धरातलमा आधारित छ । त्यसैले नेपालको ठूलो हिस्सा, लगभग सबै भने पनि हुन्छ, ले भारतीय गाडी नै किन्छ । 

नेपालमा बढी चलेका गाडीका ब्रान्डहरू के–के हुन् ? 

मैले सबैभन्दा बढी देखेको भनेको मारुती सुजुकी नै हो । त्यसबाहेक हुण्डाई पनि हो । बाटोमा सबैभन्दा बढी देखिने भनेको हुण्डाई आइटेन, सुजुकी वागनआरहरू हुन् । आइटेनको भारतमा ८ लाख पर्छ, यहाँ झन्डै २८ लाख पर्छ । वागनआरको ७ लाख ५० हजार छ, यहाँ झन्डै २५–२६ लाख पर्छ । मलाई यो गाडी सानो भयो अलि ठूलो चाहियो भन्नेहरूले टाटा खोज्छन्, गाउँघरतिर चलाउन एसयुभी छ—महिन्द्रा स्कारपियो । यो पनि नेपालमा बढी बिक्री हुने गाडी हो । भाडामा चल्ने सबै स्कारपियो नै छन्, काठमाडौं बाहिर जानेहरू पनि स्कारपिओ नै हुन् । 

हाम्रो सडकको अवस्थामा फिट हुने गाडी कुन हुन् ? 

हाम्रो सडकको अवस्थामा अनुसार त कुनै पनि गाडी फिट हुँदैनन् । यहाँको सडकको अवस्था निकै नाजुक छ । ग्राउन्ड क्लियरेन्स धेरै भएको लिएर जाऊँ गल्लीमा छिर्दैन, सानो गाडी लगौं त्यसले भुइँ छुन्छ । किनभने गाडी त दुई जनाभन्दा बढी भयो भने लिने हो । मैले देखेको हाम्रो काठमाडौंका लागि उपयुक्त हुने गाडी फोर्डको नयाँ इको स्पोटर््स हो । म फोर्डको प्रवक्ताका रूमा यसो भनिरहेको छैन । किनभने गल्ली–गल्लीका लागि सानो पनि छ, ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ । पहिले मानिसहरू माइलेज, कम्पनी भन्थे होला, अहिले सबैभन्दा पहिले ग्राउन्ड क्लियरेन्स हेर्छन् । अझ तीन–चार वर्ष यो बाटो बन्नेवाला छैन्, त्यसैले मानिसहरूले ग्राउन्ड क्लियरेन्समा बढी जोड दिन थालेका छन् । हाम्रो जस्तो बाटोमा गाडी चलाउनु चानचुने कुरा होइन् । धन्न नेपालीहरू यस्तो धूलोमा पनि गाडी टिलिक्क टल्काएर हिँड्छन् । नेपालीहरू आफ्नो गाडीलाई असाध्यै माया गर्छन्, त्यसैले त यस्तो धूलो–हिलोमा पनि गाडी टिलिक्क हुन्छ, गाडीहरू कोरिएका हुँदैनन् । नयाँ दिल्लीमा त कोरिएको अनि नठोक्किएको कुनै गाडी हुँदैन । जस्तो परिस्थितिमा पनि नेपालीहरूले बचाएर आफ्नो गाडी चलाइरहेका छन् । यसको कारण माया अनि महँगो हुनु पनि होला । भारतको जस्तो ६–साढे ६ लाख भएको भए यहाँ पनि मतलब हुँदैनथ्यो कि ? 

नेपालीहरूले कस्ता गाडी किन्दा उपयुक्त हुन्छ ? 

म नयाँ गाडी किन्न चाहने नेपालीहरूलाई इलेक्ट्रिक भेइकल किन्न सुझाउँछु । पहिलेजस्तो इलेक्ट्रिक भेइकल होइन, अहिले मेरो आफ्नै दृष्टिकोणमा पनि परिवर्तन आएको छ । कियाको इलेक्ट्रिक निरो जति पावरफुल गाडी मैले अहिलेसम्म चलाएको थिइनँ । त्यस्तो पावरफुल गाडी, के चाहिन्छ सबै कुरा छ । तुलनात्मक रूपमा रनिङ कस्ट ८० प्रतिशतभन्दा कम छ । हुन्डाईको इलेक्ट्रिक कार कोना पनि छ । अरू थुप्रै इलेक्ट्रिक भेइकल पनि अटो मोबाइल कम्पनीहरूले ल्याउँदैछन् । हाम्रोजस्तो राजनीतिक र भौगोलिक धरातल भएको देशमा उपयुक्त साधन भनेको इलेक्ट्रिक भेइकल नै हो । दुईपांग्रे र चारपांग्रेमा अब इलेक्ट्रिक भेइकल नै भविष्य हुन् । 

आर्थिक आधारमा हामीले कसरी गाडीहरू छान्ने ? 

सस्ता इलेक्ट्रिक भेइकल पनि पाइन्छन् । महिन्द्राको रेभा सस्तो छ, लक्जरी खोज्ने हो भने हुन्डाई र कियाका गाडी छन् । चीनतिरबाट दुई तीन वटा एकदमै राम्रा इलेक्ट्रिक भेइकल आउँदैछन् । चीन कै नम्बर वान इलेक्ट्रिक भेइकलहरू पनि आउँदैछन् । इलेक्ट्रिक बस पनि आयात हुँदैछन् । अब नेक्स्ट भनेकै इलेक्ट्रिक हो । सरकारले अब बिजुलीको समस्या हुँदैन भनेको छ, अर्कातर्फ इकोलोजीका लागि पनि उपयुक्त साथै आफ्नो पनि कम खर्च हुने भएकाले इलेक्ट्रिक भेइकल नै सही रोजाइ हुन्छ ।

 

गाडी किन्नुपूर्व के–कस्ता कुरामा ध्यान दिने ? 

सबैभन्दा पहिले त आफ्नो आयस्रोतमा ध्यान दिनुपर्छ । अरूको लहैलहैमा लागेर हुँदैन । नयाँ गाडी नै किन्नुपर्छ भन्ने पनि छैन । के–का लागि गाडी किन्न लागेको हो ? कति जना चढ्ने हो ? अफिस–घर मात्र हो कि, अफिसबाट कतै बाहिर पनि जानुपर्छ कि ? त्यसबाहेक ईएमआई कतिसम्म तिर्न सकिन्छ जस्ता कुरा एकदमै महत्वपूर्ण हुन्छन् । त्यसबाहेक अर्को महत्वपूर्ण कुरा गाडी आफैंले चलाउने हो कि ड्राइभर राख्ने हो ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कति ड्राइभर प्लेजरका लागि राखिएको हुन्छ, तर फेरारी किनेर ड्राइभर राख्नुको के अर्थ भयो र ? पैसा छ भन्दैमा हमर किनेर ड्राइभर राख्नुको के मतलब छ ? ड्राइभर राखेर मर्सिडिज चलाउने र आफू मस्तसँग पछाडि बस्ने हो । बाटोमा महँगा–महँगा गाडीहरू झ्याल खोलेर चलाउँछन्, त्यसको के मतलब हो मत बुझ्दै बुझ्दिनँ । अहिले त पहिलेको जस्तो छैन, गाडीका यति धेरै रेन्ज छन् कि सबैलाई एक न एक अप्सन फिट हुन्छ । मल्टिपर्पोज भेइकल, स–साना एसयुभीहरू छन्, क्रस ओभरहरू छन् । अहिले त अप्सनै अप्सन छन् । अहिले धेरैजसो ब्रान्डले आफ्नो उत्पादनमा सकेसम्म कमी–कमजोरी आउन दिँदैनन् । 

अहिले नेपाली बजारमा सबैभन्दा महँगा गाडी कति रेन्जका छन् ? 

मैले सबैभन्दा महँगो देखेको एउटै छ, मैले सुनेको पनि छु त्यो एकदमै राम्रो भिन्टेज कार कलेक्सन । मैले देखेको मर्सिडिज मेब्याक, राजबहादुर शाहजीको हो, ब्ल्याक कलरमा छ । मेरो विचारमा त्यसको मूल्य ५–६ करोड हुनुपर्छ । म यसको मूल्य ठोकुवा गर्न सक्दिनँ, तर नेपालमा मैले देखेको महँगो गाडी त्यही हो । त्यसबाहेक महँगा रेन्जरोभरहरू त भैहाले । ओहो यस्तो पनि गाडी रै’छ भन्नेचाहिँ त्यही मेब्याक हो । त्यो गाडी ल्याउनु पनि ठूलै आँट हो । हाम्रो बाटोको कन्डिसनमा त्यस्तो गाडी ? उहाँले त्यो गाडी कहाँ चलाउनुहुन्छ र खै ? 

भिन्टेज कारहरूमा सरकारले धेरै कर लिएको गुनासो पनि सुनिन्छ नि ? 

सरकारको पुराना गाडीहरू हटाउने नीति ठीक छ, तर भिन्टेज कारहरूका बारेमा सरकारले फरक ढंगले सोच्नुपर्छ । एकदमै पुराना भिन्टेज कारमा सरकारले सहुलियत दिनुपर्ने हो, यस्ता गाडीलाई भारत र बंगलादेशले ट्याक्स फ्री गरिसके । संसारभरबाट लोप हुन लागेका यस्ता पुराना गाडी सौखिनहरूले मात्रै बचाएर राखेका छन्, तर कर एकदमै बढी छ, सरकारले त्यसलाई सहुलियत दिनुपर्छ ।

 

प्रकाशित :भाद्र ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्