साप्ताहिक संवाददाता
भाद्र ८, २०७६
गायनमा आधारित एक भारतीय रियालिटी शोपछि चर्चामा रहेका गायक आयुष केसी नेपाली चलचित्रको पार्श्व गायनमा आएका छन् । केसीले स्वरबद्ध गरेको चलचित्र हजार जुनीसम्मको शीर्ष गीत दर्शक तथा श्रोताहरूले मन पराएका छन् ।
यसअघि गायक उदय सोताङको स्वरमा रेकर्ड भैसकेको उक्त गीत पुनः एरेञ्ज गरेपछि गायक केसीले गाएका हुन् । चलचित्रमा आयुष र उदय दुबैको स्वरको गीत समावेश छ । आयुषले बाल कलाकार अनुभव रेग्मीका लागि पार्श्व गायन गरेका हुन् । उक्त गीतमा योगेन्द्र घतानीको संगीत छ भने शब्द पवन चाम्लिङले रचना गरेका हुन् ।
हाल प्रदर्शनमा रहेको यो चलचित्रको शीर्षक गीत गाएपछि गायक केसीका लागि पार्श्व गायनको बाटो खोलिएको बताइन्छ । यतिबेला उनलाई अन्य चलचित्रबाट समेत पार्श्व गायनको प्रस्ताव आउन थालेको छ ।