साप्ताहिक संवाददाता
भाद्र ९, २०७६
स्वतिक खड्का अमेरिकाको टेक्सासमा बसोबास गर्छन् । उनी म्युजिक भिडियो निर्देशनसँगै अभिनयमा पनि सक्रिय छन् । खड्का प्रायः टेन्डिङमा रहेका अंग्रेजी लोकप्रिय गीत छनौट गरेर त्यसमा नेपाली मोडलहरूलाई खेलाएर भिडियो तयार पार्छन् ।
डान्समा समेत पोख्त खड्का भिडियो निर्देशन मात्र गर्दैनन्, मोडलका रूपमा समेत आफैं काम गर्छन् । किन अंग्रेजी गीतलाई म्युजिक भिडियोमा उतारेको भन्ने जिज्ञासामा खड्का भन्छन्– ‘रुचिसँगै समयको मागअनुरूप चल्न यस्ता गीतलाई छनौट गरेको हुँ ।’
झन्डै पाँच वर्षदेखि उनी यस्ता भिडियो निर्माण, निर्देशन एवं अभिनयमा सक्रिय रहँदै आएका छन् । त्यसो त उनले १६ वटा हिन्दी गीतका भिडियो निर्देशन एवं निर्माणसमेत गरिसकेका छन् ।