साप्ताहिक संवाददाता
भाद्र १३, २०७६
क्यानोनिङ गाउँका रूपमा परिचित कास्कीको घलेलमा आज शुक्रबार क्यानोनिङमा प्रकट कार्यक्रम हुँदैछ, जहाँ गजलकार प्रकट पंगेनी शिवले वातावरण तताउनेछन् ।
साँझ साढे ७ बजे सुरु हुने कार्यक्रममा प्रकटका माया–प्रेमसँग सम्बन्धित गजल सुन्दै रिफ्रेस हुन पाइनेछ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–९, घलेलस्थित पोखरा क्यानोनिङ एन्ड द वाटरफल रिट्रिटमा सम्पन्न हुनेछ । यो कार्यक्रमले साहसिक खेल क्यानोनिङ खेल्ने अनि गजल सुन्दै रमाउने अवसर प्रदान गर्नेछ ।
पोखराको लेकसाइडबाट झन्डै २२ किलोमिटर उत्तर–पश्चिमको यात्रापश्चात् घलेल पुग्न सकिन्छ, जहाँ क्यानोनिङका लागि अग्लो र होचो गरी दुई थरी छहरा छन् । पहिलो पटक क्यानोनिङ गर्नेहरूका लागि ४५ मिटर र प्रोसेसनल वा अनुभवीहरूका लागि ७५ मिटर अग्लो छहरा त्यहाँ छ ।