साप्ताहिक संवाददाता
नेपाली साहित्यमा श्रृंगारिक धारको शुरुवातकर्ता मानिन्छ मोतिराम भट्टलाई । छोटो समय बाँचेपनि नेपाली भाषा र साहित्यको प्रबर्द्धनमा उनको ठुलो योगदान छ । उनै स्रष्टाको सम्मानमा स्थापित युवावर्ष ‘मोती’ पुरस्कारबाट यसपटक काभ्रेका स्रष्टा फूलमान वल र धनकुटाका शंकर चापागाई (धनकुटे कान्छा) सम्मानित भए ।
१५४ औं मोती जयन्तीको अवसरमा संस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे । नेपाल शिक्षा परिषदद्धारा आयोजित समारोहमा कवि वल र चापागाइँलाई संयुक्त रुपमा ५० हजार रुपैंया र स्वर्णपदक प्रदान गरिएको थियो ।
राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दिँदै आएको पुरस्कार यसबर्ष वल र चापागाइँलाई प्रदान गरिएको हो । पुरस्कृत वलका कथा, कविता र नाट्य विधामा कलम चलाउने वलका ‘महाभारतकी मैच्याङ’, ‘काजोल खातुन’, ‘म्हेन्दोमाया’ लगायतका कृति प्रकाशित छन् । कविता र गजलमा कलम चलाउँदै आएका धनकुटेका ‘इतिहास निफनेर’ लगायतका कृति प्रकाशित छन् ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा–साहित्यको प्रबर्द्धनका लागि मोतीरामको जस्तै कार्य गर्ने प्रतिभालाई हरेक बर्ष पुरस्कृत गर्दै आएको बताए । कोषका कार्यकारी सदस्य हरि शर्माले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिएका थिए ।