सहरको नाम टीकापुर

- किशोर नेपाल

भाद्र १८, २०७६

टीकापुर । कर्णाली नदीको किनारामा बसेको टीकापुर ग्रामीण सहर हो । यो सहरको कथा रमाइलो छ । आदिवासी थारुको बस्तीका रूपमा लिइन्छ टीकापुरलाई । सहरमा पार्क छ, जुन निकै रमणीय छ । सहर अलिकति व्यवस्थित पनि छ । टीकापुरलाई राजा महेन्द्रको देन मान्नुपर्छ । विक्रम संवत् २०२४ सालमा शुक्लाफाँटामा सिकारका लागि कञ्चनपुर आएका राजा महेन्द्र बिरामी भए ।

 उनलाई मुटुको व्यथा लाग्यो । डाक्टरहरूले क्षमताअनुसार उनको उपचार गरे । त्यसपछि आरामका लागि ठाउँको खोजी भयो । कर्णाली किनारको टीकापुर राजा महेन्द्रको स्वास्थ्यका लागि उत्तम ठहरियो । राजा महेन्द्र केही समयका लागि टीकापुरमा आराम गर्न बसे । त्यही बेला उनको मनमा लाग्यो कि टीकापुरलाई सहरका रूपमा विकसित गर्नुपर्छ । उनले यसको जिम्मा लगाए डोटीका तत्कालीन पञ्चायती व्यवस्थाका कार्यकर्ता खड्गबहादुर सिंहलाई । निर्दलीय पञ्चायत राजाको नेतृत्वमा चलेको व्यवस्था थियो । त्यसैले यो व्यवस्थाका नेता राजा मात्रै थिए । व्यवस्थामा लाग्ने बाँकी सबै कार्यकर्ता थिए ।

सामान्य मानिसका लागि टीकापुर सुदूरभन्दा पनि दुर्गम थियो । राजमार्गको बाटो, लम्की पुगेर, त्यहाँबाट जानु पर्थ्यो सहरसम्म । अहिले नेपालगन्जसँग टीकापुरको सोझो कनेक्सन छ । धम्बोजी चोकबाट खजुरा, गुलरिया र राजापुर हुँदै सजिलैसँग पुग्न सकिन्छ टीकापुर ।

टीकापुरमा अहिले सुदूर पश्चिमाञ्चलका धेरै जिल्लाका मानिस आएर बसोबास गरेका छन् । त्यो हिसाबले टीकापुर सांस्कृतिक विविधताको सहर बन्न पुगेको छ । २०२८ सालमा, जतिबेला खड्गबहादुर सिंह टीकापुरको कित्ताकाट गर्दै थिए, त्यहाँ थारुहरूको मात्रै प्रभुत्व थियो । टीकापुरको विकासमा खड्गबहादुर सिंहले ठूलो योगदान गरेका छन् । उनले सहरमा विमानस्थलको स्थापना गराए । सडकहरू व्यवस्थित भए । बजार–बजारजस्तो देखियो । टीकापुरको विकासमा सिंहको योगदानको कदर गर्दै हालका सांसद रेशम चौधरीले निकै ठूलो विवादका बीच उनको सालिक ठड्याए सहरमा । अहिले रेशम जेलमा छन्, तर सिंहको सालिकले उनको सम्झना गराइरहेको हुन्छ ।

खड्ग चोकलाई टीकापुरको डाउनटाउनभन्दा फरक पर्दैन । सहरका केटाकेटीहरू यही चोकमा झुम्मिएका हुन्छन् । चिया–कफी, चुरोट तथा करेन्टको तलतल मेट्न र नास्ता–पानीको भोक मेट्न आउनेहरू यहीं जम्मा हुन्छन् । खड्ग चोकपछिको अर्को महत्वपूर्ण चोक हो— सिद्धार्थ चोक । टीकापुरको बजार नगरपालिका भवनवरिपरि छरिएका छन् । बजार भनेको यस्तो ठाउँ हो, जुन मानिसलाई जहाँ पायक पर्छ त्यहीं बस्छ । बजार भए पनि, पार्क भए पनि, बढ्दो जनसंख्याको अनुपातमा टीकापुरमा केटाकेटीहरूका लागि पर्याप्त ठाउँ छैन । ग्रामीण सहर भएकाले पनि होला, टीकापुरको आकर्षण सीमित छ । टीकापुरको पार्कचाहिँ साँच्चै सुन्दर छ । यो पार्कले घाम–पानी, हुरी–बतास, जुलुस–आन्दोलन सबै खेपेको छ र पनि यसको सौन्दर्य यथावत् छ ।

टीकापुरको ‘मोस्ट ह्याप्पेनिङ’ ठाउँका रूपमा मानिन्छ यहाँको केरा रिसोर्ट । टीकापुर पुग्नेले एकपटक जानैपर्ने ठाउँ । यो रिसोर्टमा केराका विविध व्यञ्जन र परिकारहरू पाइन्छ । मदिराप्रेमीका लागि यहाँ केराको मदिरा पनि बनाइन्छ । केराका विविध परिकार नै यसको मुख्य विशेषता हो । ठाउँ रमणीय छ । रिसोर्टका सञ्चालकले यसलाई आकर्षक बनाउन निकै मेहनत गरेका छन् । यहाँका अरू मुख्य होटल हुन्— ग्रिन एसिया र सिद्धार्थ । सिद्धार्थलाई यहाँको सबैभन्दा पुरानो होटल भन्न सकिन्छ । यसका संस्थापक–सञ्चालकले सुरुका दिनमा निकै मेहनत गरेका थिए । अहिले यो टीकापुरका लागि ‘विशेष’ भएको छ । 

सानो सहर टीकापुरले अनेकौं हन्डर र सास्ती बेहोरेको छ । खासगरी सोझा र इमान्दार जातिका रूपमा चिनिएका थारु बहुल यो सहर जनयुद्धकालमा पनि आतंकको छायाँमा रह्यो भने अहिले गणतन्त्रका समयमा पनि आतंककै छायाँमा रहन बाध्य भयो । २०७२ साल भदौमा संविधान निर्माणका सन्दर्भमा भएको प्रादेशिक सीमाविवादको आन्दोलन हिंस्रक भयो । भदौ ७ गते पुलिस अधिकारीहरूसहित नौ जना र एउटा सानो बच्चाको ज्यान गयो । सरकारका तर्फबाट यसको प्रतिक्रिया एकदमै कठोर आयो । सरकार नै जनताका विरुद्ध प्रतिशोधमा उत्रिएको घटना अद्भुत थियो । स्थानीय प्रशासनले निर्दोष थारुहरूलाई समात्दै जेलमा थुन्न थाल्यो । आन्दोलनका सन्दर्भमा थारु बुद्धिजीवी तथा फूलबारी एफएमका संचालक रेशम चौधरी समातिए । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो । पछिल्लो प्रतिनिधिसभाको चुनावमा रेशमले उम्मेदवारी दिए । चुनावमा उनी ठूलो बहुमतका साथ विजयी भए । उनलाई प्रतिनिधिसभा सदस्यका रूपमा शपथ ग्रहण गराइयो, तर उनको मुद्दामा पुनर्विचार गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेन । त्यही बेला मधेसमा बितण्डा मच्चाइरहेका सीके राउत ओली सरकारको शरणमा आएपछि रेशमलाई थाती राखियो । 

यसपटक २०७२ भदौ ७ देखि जमेको आइस ब्रेक गरेका छन् थारुहरूले । गएको साता भदौ ७, ८ र ९ गते टीकापुरमा थारुहरूले ‘आइस ब्रेक’ गरे । नेता लक्ष्मण थारुको अग्रसरतामा देशका विभिन्न २५ जिल्लाबाट जम्मा भएका झन्डै १५ हजार थारुले शान्तिको पहल मात्र गरेनन्, आफ्ना अधिकारको सुरक्षाको माग गरे । उक्त भेलाका आयोजकहरूले स्थानीय प्रशासन र सुरक्षा प्रशासनलाई सम्मेलन पूरै शान्तिपूर्ण हुनेमा सहमत गराएका थिए । यद्यपि सुरक्षा प्रशासन थारुहरूको कुरामा सहमत हुन सकेको थिएन । सुरक्षाले सम्मेलनलाई आफ्नो शक्ति प्रदर्शनको अवसर बनायो । सम्मेलनका क्रममा गाउँगाउँमा सयौं सुरक्षाकर्मी खटिएका थिए । सम्मेलन शान्तिपूर्ण हिसाबले सम्पन्न भयो । 

थारु सम्मेलनले टीकापुरको ‘इमेज’ ह्वात्तै बढाएको छ । थारुलाई हेर्ने प्रशासनको संकीर्ण दृष्टिकोणमा कुनै परिवर्तन आएको आभास पाइँदैन । २०७२ भदौयता टीकापुरको बजार बिस्तार भएको छैन । अब चाडबाडको मौसम आएको छ । तीज दैलोमा आइसकेको छ, तर बजारले तीज आएको संकेतसम्म पनि दिएको छैन । दसैंसम्म टीकापुरको अवस्था सहज हुने आशा गरेका छन् सहरवासीले । प्रशासनको अहिलेको प्रवृत्तिमा परिवर्तन आयो भने पक्कै पनि टीकापुरको बजार जगमगाउनेछ । टीकापुरका थारुहरूले शान्ति, सद्भाव र सहयोगको हात बढाएका छन् भदौ ७, ८ र ९ गतेको सम्मेलनमार्फत । अब स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले थारुहरूलाई के जवाफ दिन्छन् ? त्यसैमा निर्भर रहनेछ धेरै कुरा । 

प्रकाशित :भाद्र १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्