साप्ताहिक संवाददाता
के तपाईं चियाको पारखी हुनुहुन्छ ? हो, र यदि तपाईं पनि मीठो चियाको स्वाद लिन चाहनुहुन्छ भने अब राजधानीको बागबजार पुग्न सक्नुहुन्छ । हरेक नेपालीको भेटको सुरुवात प्रायः चियाबाटै हुन्छ । त्यसैले पनि चियाका पारखीहरूका लागि बागबजारको यती प्लाजानजिकै घैंटो चिया खुलेको हो ।
माटाको घैंटोमा राखेर दिइने चियालाई नै घैंटो चिया भनिन्छ । माटाका स–साना घैंटालाई रातो हुने गरी तताइन्छ र पाकेको चिया माटोको उक्त रातो घैंटोमा हाल्दा फिँजसहित मीठो बास्ना आउँछ । मगमग बास्नादार यो चिया पिउँदा मनै आनन्दित हुने घैंटो चिया संचालक भीमबहादुर मोक्तान बताउँछन् ।
यो छिमेकी भारत तथा पाकिस्तानमा मोक्तानले देखेको चिया खाने शैली हो, जसलाई उनी नेपालीहरूलाई चखाउने अभियानमा छन् । घैंटो स्पेसल चियाको मूल्य प्रतिकप ४० रुपैयाँ पर्छ ।
पुरानो नेपाली कलाशैलीमा डेकोरेसन गरिएको घैंटोमा करिब ४० लाख लगानी भएको झीमबहादुरले बताए । मोक्तान चियाका अतिरित्त स्पेसल नेवारी खाजा सेट, नेपाली खाना सेट, कफी तथा पिज्जामा पनि फरक स्वादमा प्रस्तुत गर्ने योजनामा छन् ।
विष्णु तारुके