माछा मासुका सौखिनहरूका लागि भोजपुरे राँगाको सुकुटी रोजाइमा पर्छ । पहाडको राँगाको मासुबाट तयार हुने अझ त्यसमा पनि मिसावट नहुने भएकैले मानिसहरूले भोजपुरे सुकुटी विशेष मन पराएका छन् । यहाँको सुकुटी बास्नादार एवं स्वादिष्ट हुन्छ । परम्परागत पाराले आगोको रागमा सुकाइने हुँदा यसको स्वाद तिख्खर हुन्छ । यो सुकुटी ‘फ्रेस’ मासुलाई लामो लामो गरी काटेर आगो, घाम वा भट्टीमा सुकाएर तयार पारिन्छ ।
भोजपुर पुग्नेहरूका लागि मासुको परिकार छनौटमा कि त वाचिपा (कुखुराको तिते) कि त राँगाको सुकुटी प्राथमिकतामा रहन्छ । भोजपुरका सुन्तले, टेम्केजस्ता उचाइमा पर्ने रमणीय, प्राकृतिक ठाउँहरूमा सुकुटी र तोङबाको व्यापार खुबै चल्छ ।
भोजपुरे सुकुटी अहिले आफन्त तथा साथीभाइलाई कोसेली दिने चलन समेत छ । भोजपुर कोसेली घरका सञ्चालक कमल भुजेलका अनुसार भोजपुरे सुकुटी अधिक मन पराइनुका साथै धरान, धनकुटा, विराटनगर, काठमाडौं हुँदै बेलायत, अमेरिका, हङकङ आदिसम्म पुग्छ । भोजपुरमा प्रतिकिलो २ हजार रुपैयाँमा पाइने यो सुकुटीले अहिले व्यवसायिक रूप लिइसकेको छ ।
कसरी पकाउने ?
सुकुटीलाई पानीमा एक घण्टाजति भिजाउनुपर्छ । भिजिसकेको सुकुटीलाई आफूले इच्छाएको साइजमा काट्ने । प्यान अथवा कराईमा तेल तताएर सुकुटीलाई १० मिनेटजति फ्राई गर्ने । फ्राई सुकुटीलाई अर्को प्लेट वा भाँडामा अलग राखी त्यही प्यान वा कराईमा आवश्यकताअनुसार तेल हाली काटेको प्याज फ्राई गर्ने अनि काटेको हरियो खोर्सानी र गोलभेडा, रातो खोर्सानीको धूलो, बेसार, जिराको धूलो तथा नुन हालेर नरम हुने गरी पकाउने ।
त्यसपछि अदुवा तथा लसुनको पेस्ट हालेर चलाउने र अघि फ्राई गरी अलग राखिएको सुकुटी पनि त्यसैमा मिसाएर चलाउने । सुकुटीको फ्राई खाने भए यत्तिकैमा हरियो धनियाँ छर्केर सर्व गर्न सकिन्छ । ग्रेभी बनाउने हो भने अलिकति पानी हालेर केही समय पकाउनुपर्छ । ग्रेभीमा हरियो धनियाँ छर्केर चलाएपछि सुकुटीको यो परिकार तयार हुन्छ । सुकुटीमा लसुनको मसला जति बढी भयो त्यति नै मीठो हुन्छ । टिम्मुरले यसलाई थप स्वादिलो र तिख्खर बनाइदिन्छ ।