अमरको गुलाबी उमेर बजारमा 

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७६

‘सेतो धरती’ पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको नयाँ आख्यान बजारमा आएको छ । शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीबाट आख्यानकार न्यौपानेले आफ्नो चौथो उपन्यासका रुपमा ‘गुलाबी उमेर’ सार्वजनिक गरे । न्यौपानेले उक्त उपन्यास साहित्यकार कृष्ण धरावासी र पछिल्लो समयकी चर्चित अभिनेत्री केकी अधिकारीका साथमा उभिएर सार्वजनिक गरेका हुन् । 

अमरको ‘गुलाबी उमेर’माथि टिप्पणी गर्दै साहित्यकार कृष्ण धरावासीले भने– ‘किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए । यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षाैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको छ ।’ ‘गुलाबी उमेर’मा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको धराबसीको टिप्पणी थियो । 

कार्यक्रममा वक्ताका रुपमा पुगेकी केकी अधिकारीले गुलाबी उमेरको कथा आफूलाई फरक र सरल लागेको बताईन् । पुस्तक पढिरहँदा आफ्नो उमेर बिर्सिएर किशोरवयमै फर्किएको केकीको धारणा थियो । उनले भनिन्– ‘मलाई लाग्छ, यो पुस्तकमा  प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका हरेक कुरालाई पुन: स्मरण गर्ने छन् ।’

 

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए । उनले भने– ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।’ पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै गुलाबी उमेर हो । अमरले आफ्नो उपन्यासको कथाका बारेमा अमरले बताएका छन् । 

अमरले गुलावी उमेरमा मानिसको उमेरलाई ५ भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निस्चल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो । र २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ । ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो । अमरको गुलाबी उमेर फाइन प्रिन्टले बजारमा ल्याएको हो । 

 

प्रकाशित :भाद्र २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्