साप्ताहिक संवाददाता
गत शुक्रबार सार्वजनिक भएको हिन्दी चलचित्र छिछोरेले पहिलो सप्ताहन्तमा ४२ करोड ७५ लाख भारतीय रुपैयाँ बराबरको कारोबार गरेको छ । ६५ करोड भारतीय रुपैयाँमा निर्माण गरिएको यो चलचित्रले दोस्रो सप्ताहन्तसम्ममा आफ्नो लगानी उठाउने बताइएको छ ।
अघिल्लो शुक्रबार सार्वजनिक भएको हिन्दी चलचित्र साहोले दोस्रो सप्ताहन्तसम्ममा १ अर्ब २८ करोड ४० लाख भारतीय रुपैयाँको कारोबार गरेको छ । यो कारोबार यो चलचित्रको हिन्दी भर्सनको कारोबार मात्र हो । दोस्रो सप्ताहन्तसम्म आइपुग्दा यो चलचित्रलाई सफल चलचित्रको पगरी गुथाइएको छ ।
तीन साताअघि सार्वजनिक भएको मिसन मंगल र बाटला हाउस दुवैले सानदार व्यापार गरेका छन् । मिसन मंगलले तेस्रो सप्ताहन्तसम्ममा १ अर्ब ९१ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ भने बाटला हाउसले सोही अवधिमा ९९ करोड २० लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ । मिसन मंगललाई सुपरहिट र बाटला हाउसलाई हिट चलचित्र मानिएको छ ।
हलिउडमा गत शुक्रबार सार्वजनिक भएको आईटी : च्याप्टर–२ ले पहिलो सप्ताहन्तमा झन्डै १० करोड डलरको व्यापार गरेको छ । चलचित्रको यो व्यापारलाई व्यावसायिक रूपमा सफल मानिएको छ । सोही दिन सार्वजनिक भएको अर्को चलचित्र एन्जल ह्याज फलनले भने ५ करोड डलरको हाराहारीमा व्यापार गरेको छ ।
हलिउडमा गत महिना रिलिज भएको द लायन किंगको जादु अझै कायम छ । अहिलेसम्म ५५ करोड डलर बराबरको व्यापार गरिसकेको यो चलचित्रले यो वर्षकै सर्वाधिक सफल हलिउड चलचित्रको उपमासमेत प्राप्त गरेको छ ।