एक्कासि मनको बार्दलीबाट हराउँछ
खुसीका रंगीन चित्रहरू
जब आमाको आशीर्वाद दिने हातले साथ छोड्छ
आदिम प्रेमको सुगन्ध बोकेर हिँड्ने बतास टक्क रोकिन्छ
भर्खरै पखेटा पलाउन थालेको बचेरा गुँडमै
बेसेहार छट्पटाइ रहेछ ।
आमा हजुरले छाडिगएपछि
हरियो पातमा खसेर मोतीझैं टल्कने शीत पनि
मेरै आँखामा खस्न थालेको छ
यो एक हरफ जिन्दगी पनि घनाजङल छेउ अलपत्र भएको छ
जुन टिप्ने सपना बादलभित्रै हराएको छ
इन्द्रेणी रहर फिक्का–फिक्का भएको छ ।
आमा हजुरको छातीको क्षेत्रफल कति हो ?
जहाँ दुनियाँ अटाएको थियो
सन्तानका रहरको अनगिन्ती बिस्कुन सुकाउने पनि त्यही
अभावहरू पोखिने पनि त्यही
बटुल्ने पनि त्यही
खुसीमा बुर्कुसी खेल्ने पनि त्यही
दु:खमा मुख लुकाएर रुने पनि त्यही
आमा हजुरको छातीको क्षेत्रफल कति थियो ???
भगवान्ले दिएको त्यही फरकिलो भूगोल
आज मबाट भगवानले नै खोसेर लग्यो
अब मेरो खुसीमा रमाउने आँगन पनि छैन
दु:खमा बिसाउने चौतारी पनि छैन
यो स्वार्थले भरिएको संसारमा फगत एक्लो छु ।
आमाको पाइतलाको डोब मात्र देख्छु
यी मझेरी, आगन, करेसाबारी....जताततै
हावाले पनि आमाकै सारीको फेर हल्लाएझैं देख्छु
हरेक आवाजहरू आमाले बोलाएझैं सुन्छु
घरैभरी पोखिएका छन् हजुरकै झ–झल्काहरू
झझल्को पनि किन पो नआउन त ???
यो सृष्टिको सारा सर्वोच्चता हजुरकै देन न हो ।
आमा मलाई माफ गर्नुहोस्
मैले आफ्नै जीवनको आयु काटेर
हजुरको जीवनको अजम्बरी घर बनाउनै सकिन ।
आमा हजुरले पोहोरै एक दिन भन्नु’भा थियो—
‘मान्छे मरेपछि तारा बन्छ’
अचेल म हरेक रात ताराहरू हेर्छु
करोडौं ताराहरूको बीचमा
एउटा तारा खोजिरहन्छु
हजुररको अनुहारसँग मिल्ने र सम्झन्छु
सबैभन्दा चम्किलो तारा मेरी आमा हो ।