साप्ताहिक संवाददाता
र्याफ्टिङ एक प्रकारको हावा भरेर चलाउन मिल्ने डुंगा (र्याफ्ट) प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । यो एउटा मनोरञ्जक साहसिक खेल हो । र्याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन् । त्यसमध्ये कर्णाली, सुनकोसी तथा भोटेकोसी नदी संसारकै उत्कृष्ट दस नदीमा पर्छन् । खासगरी यी तीनवटा नदीमा विदेशीहरू महँगो रकम तिरेर र्याफ्टिङको मज्जा लिन्छन् ।
सुनकोसी नदी
लोन्ली प्लानेटका अनुसार सुनकोसी नदीको र्याफ्टिङ विश्वकै सबैभन्दा राम्रोमध्ये रुटमध्ये एक हो । यहाँ खासगरी सेप्टेम्बरदेखि जनवरीसम्म र्याफ्टिङ गर्न सकिन्छ । सुनकोसीमा र्याफ्टिङका लागि ८ रात तथा ९ दिनको विशेष प्याकेज तयार पारिएको छ । यो यात्राका लागि १० दिनको समय छुट्याउनुपर्छ ।
मस्र्याङ्दी नदी
मस्र्याङ्दी नदीका आफ्नै विशेषता छन् । यहाँको पानीको रंग आक्वा मरिन तथा सेतोजस्तो देखिन्छ । मस्र्याङ्दी नदीमा दुई दिनको समय छुट्याउँदा र्याफ्टिङको भरपुर आनन्द लिन सकिन्छ । यहाँ अक्टोबरदेखि जनवरीसम्म र्याफ्टिङ प्याकेज उपलब्ध हुन्छ ।
भोटेकोसी नदी
नेपाल र तिब्बतको सिमानामा पर्ने भोटेकोसी नदीमा गरिने र्याफ्टिङ विश्वकै चुनौतीपूर्ण र्याफ्टिङमध्ये एक मानिन्छ । यहाँ र्याफ्टिङ गर्ने विशेष समय नोभेम्बरदेखि जनवरीसम्म हो । दुई दिनको प्याकेजका लागि १६ हजार रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।
त्रिशूली नदी
त्रिशूली नेपालमा र्याफ्टिङका लागि सबैभन्दा प्रचलित नदी हो । काठमाडौंबाट केही घण्टाको दूरीमा पुगिने भएकाले पनि त्रिशूली नदीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ओइरो लाग्छ । त्रिशूलीमा र्याफ्टिङका लागि काठमाडौं, पोखरा, चितवनमा प्याकेजहरू लिन सकिन्छ । र्याफ्टिङका क्रममा गल्छेडाहरू पार गर्दै सुन्दर उपत्यका नियाल्न सकिन्छ । पानीको बहाव कतै उच्च गतिमा बग्छ भने कतै मन्द गतिमा । यसले छुट्टै रोमाञ्चकता प्रदान गर्छ । गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह र्याफ्टिङ गर्न सपरिवार त्रिशूली पुगेका थिए । र्याफ्टिङ सर्वसाधारणदेखि उच्च घराना सबैका लागि लोकप्रिय साहसिक खेल बनिसकेको यो घटनाले समेत पुष्टि गर्छ ।
कर्णाली नदी
नेपालको सबैभन्दा लामो र ठूलो नदीका रूपमा परिचित छ— कर्णाली नदी । यो नदी र्याफ्टिङका लागि संसारकै उत्कृष्ट नदीमध्ये एक हो । कैलाश पर्वत मुहान भएको कर्णाली नदीमा केही अघि बेलायतका राजकुमार ह्यारीले समेत र्याफ्टिङ गरेका थिए । यो नदीमा गरिने र्याफ्टिङ जीवनकै रोमाञ्चकारी यात्रा मानिन्छ । सुदूरपश्चिमको अपिबाट सुरु हुने सेती, धौलागिरिबाट सुरु हुने भेरी नदीसहित दुई दर्जनभन्दा बढी खोला–नालाको पानी बोकेर हिंड्ने कर्णाली नदी चिसापानीपछि सुस्त गतिमा भारततिर बग्छ । कर्णाली नदीको र्याफ्टिङ किन पनि चर्चित छ भने यो जलयात्राका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । यो र्याफ्टिङका क्रममा थारु संस्कृति, चराचुरुंगी, जलचर एवं वन्यजन्तुहरू नियाल्दाको आनन्द बेग्लै हुन्छ ।
सेती नदी
सेती नदीको र्याफ्टिङ पारिवारिक र्याफ्टिङका रूपमा बढी प्रचलित छ । यहाँबाट चार दिन लगाएर कर्णालीको चिसापानीसम्म लामो र्याफ्टिङसमेत गर्न सकिन्छ । तल्लो सेती नदीमा दुई दिनको प्याकेज लिन सकिन्छ । सुदूरपश्चिम घुम्ने पर्यटकहरूका लागि सेती नदीको र्याफ्टिङ आकषर्णको केन्द्र बन्दै गएको छ । यहाँ तुलनात्मक रूपमा कम मानिस हुन्छन् । सेती नदीबाट र्याफ्टिङ गर्दै कर्णाली पुग्न सकिन्छ । र्याफ्टिङका क्रममा स्थानिय जनजीवन, गाईवस्तु चराइरहेका मानिसहरू, पौडी खेलिरहेका बालबालिका, माछा मारेको दृश्य आदि नियाल्न सकिन्छ ।
भेरीमा र्याफ्टिङ
प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा र्याफ्टिङ सुरु भएको छ । यसका लागि फागुनदेखि जेठ महिनासम्मको समय सबैभन्दा उपयुक्त मानिन्छ । यहाँ भेरी–कर्णाली र्यापिड एड्भेन्चर तथा कर्णाली–भेरी र्यापिड एडभेन्चरले जलयात्रा गराउँदै आएका छन् । कर्णाली–भेरी र्यापिड एडभेन्चरले मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर दूरीलाई दुई खण्डमा विभाजन गरेर जलयात्रा गराउँदै आएको छ, जसअनुसार मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड तथा भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रुपमा विभाजित गरिएको छ । एक दिनका लागि (झन्डै ४ घण्टा) २५ सय रुपैयाँ तिर्नुपर्ने भेरी–कर्णाली र्यापिड एड्भेन्चरका ज्ञानेन्द्र गौतमले बताए ।
नेपालमा र्याफ्टिङको सम्भावना कस्तो छ ?
नेपाल हिमाल र नदीका दृष्टिले धनी छ । कर्णाली, कोसी र गण्डकी संसारमै ऊर्जावान् एवं जीवन्त नदीका रूपमा कहलिएका छन्, हामीले प्रचार–प्रसार गर्न नसकेको मात्र हो । पारदर्शिता, प्रचार र काम गर्ने जाँगर भयो भने धेरै गर्न सकिन्छ । हामी भाषण र गफले बिग्रियौं । कर्णाली, सगरमाथा र लुम्बिनी हाम्रा गौरव हुन् । कर्णाली नदीमा र्याफ्टिङ गर्दा पहाड, हिमाल र तराई सबै अवलोकन गर्न सकिन्छ । मानिस त्यहाँ पुग्नेबित्तिकै मोहित हुन्छन् । यी तीनवटा कुरा मात्र बेच्न सकियो, प्रचार गर्न सकियो भने पनि नेपालले प्रशस्त आम्दानी गर्न सक्छ ।
र्याफ्टिङका लागि सबैभन्दा बढी प्रचलित ठाउँ कुन हो ?
बढी चलिरहेको ठाउँ त त्रिशूली नै हो । स्वदेशी–विदेशीहरू बढी त्रिशूली नै पुग्छन् । बढी पैसा हुनेहरू कर्णाली तथा तमोर नदी जान्छन् । सबैभन्दा छोटो कालीगण्डकीको र्याफ्टिङ हो । दमौलीबाट नारायणघाट नजिकको गाइघाट रुट तथा सेती नदीमा गरिने र्याफ्टिङ पारिवारिक र्याफ्टिङ मानिन्छ ।
नेपालका नदीहरू र्याफ्टिङका लागि किन विशेष छन् ?
संसारमा अन्त नपाइने माछा गोल्डेन मासिर कर्णाली नदीमा पाइन्छ । विदेशीहरू यही माछा हेर्न यहाँ आइपुग्छन् । १५ दिनदेखि १ महिनासम्म खोलामै बस्ने, कुर्ने काम गर्छन् । आफ्नो रहर पूरा गर्न विदेशीले १५ सयदेखि ३ हजार डलरसम्म खर्च गर्छन् । उनीहरू उक्त माछाको फोटो खिचेर नदीमै छोडिदिन्छन् ।
र्याफ्टिङ गर्नेहरूको संख्यामा कस्तो परिवर्तन आएको छ ?
मैले एड्रिफ एड्भेन्चर चलाएको १५ वर्ष भयो । तुलनात्मक रूपमा पर्यटकहरू असाध्यै कम छन् । यो व्यवसाय नेपालीहरूको भरमा चलाएर मात्र हुँदैन । व्यापार ५० प्रतिशतले घटेको छ । गिटी, बालुवा तस्करी तथा ट्राफिक जाम आदिले पनि प्रत्यक्ष असर पुर्याएको छ । अहिले नेपालीले गर्दा नै व्यापार धानिएको छ । नेपाल आउने पर्यटकहरू भारततिर डाइभर्ट भएका छन् ।
र्याफ्टिङ व्यवसायका चुनौती के–कस्ता छन् ?
खासगरी गिट्टी, बालुवा तस्करीले ठूलो असर गरिरहेको छ । नदीमा यस्ता क्रियाकलाप भैरहेको देख्दा विदेशीहरू तिमीहरूमा मानवीयता छैन भनेर सोध्छन् । प्रकृतिको दोहन गरेकोमा उनीहरू असन्तुष्टि व्यक्त गर्छन् । क्रसर उद्योगले र्याफ्टिङ व्यवसायमा प्रत्यक्ष असर पुर्याइरहेका छन् । ट्राफिक जाम पनि उस्तै छ । जाम छिचोल्दै त्रिशूली पुग्न नै निकै समय लाग्छ । अर्कातिर स्थानीयवासीले खोलामा ढल मिसाइदिन्छन् । धेरैजसो नदी किनारलाई फोहोरमैलाको डम्पिङ साइट बनाइएको छ । सरकारले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा पर्याप्त प्रचार–प्रसार गर्न सकेको छैन ।
शिव अधिकारी
महासचिव, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज