साप्ताहिक संवाददाता
सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल, बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलगो रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलगो गुरागाईंका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा ‘नलाएको माया’ बोलको गजलमा चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो पहिलोपल्ट सार्वजनिक गरिएको थियो । गायक सत्यराज आचार्यको स्वर रहेको उक्त म्युजिक भिडियोमा कलाकारहरू सत्यराज आचार्य, लक्ष्मी वर्देवा तथा जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।
कार्यक्रममा गजलगोहरू डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी लगायतले नेपाली गजलको सांगीतिक विकासक्रम र गुरागार्इंको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । बिपिन किरणले सञ्चालन गरेको उक्त बिमोचन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो भने एल्बमलाई किरण क्रियसन बजार ब्यबस्थापन गरेको छ ।
नलाएको मायाको भिडियो यस्तो छ :