दीपकराज जोशी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २०७२ सालको विनाशकारी भूकम्पलगत्तै जोशी खुल्ला प्रतिस्पर्धाबाट पर्यटन बोर्डको सीईओ नियुक्त भएका थिए । उनी नेपाली पर्यटनका सम्भावना, अवसर एवं चुनौती विषयका जानकार पनि छन् । नेपाली पर्यटनको विकास एवं प्रवद्र्धनको काम गर्ने मुख्य निकाय पर्यटन बोर्डको नेतृत्व तथा जिम्मेवारी पाएका जोशीसँग उनको कार्यकालमा भएका काम, नेपाली पर्यटन अवस्था, सम्भावना, चुनौती, भ्रमण वर्ष–२०२० आदि विषयमा केन्द्रित रहेर जनक तिमिल्सिनाले गरेको कुराकानी :
तपाईंको कार्यकाल कस्तो रह्यो ?
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका रूपमा ज्वाइन गरेको साढे तीन वर्षजस्तो भयो । अहिलेसम्म के–के काम भयो भनेर हेरेको पनि थिइनँ, अहिले तपाईंले सोधेपछि झ्वाट्ट रिकल भयो । मेरो नियुक्ति हुँदा समग्र पर्यटन क्षेत्रको मनोबल खस्किएको अवस्था थियो । लामो समयको द्वन्द्वपछि नेपालको पर्यटन अलिअलि तंग्रिन खोजिरहेका बेला ठूलो भूकम्पले त्यसमा ठूलो ह्रास ल्याएको थियो । मलाई त लाग्छ, इन्डस्ट्रीका साथीभाइहरूले भनेअनुरूप नै नेपालकै पर्यटन इतिहासमा सबैभन्दा बढी मार परेको अवस्था थियो त्यो । मैले बोर्ड ज्वाइन गर्दा नेपाल ओर्लने पर्यटकहरूको संख्या स्वाट्टै घटेको थियो । व्यवसायी साथीहरू अबको पाँच वर्ष हाम्रो टुरिज्म रिकभरी हुँदैन भन्नुहुन्थ्यो ।
त्यस्तो अवस्थामा कसरी काम सुरु गर्नुभयो ?
त्यति बेला मैले चार वर्षका लागि चारवटा रणनीति बनाएर काम सुरु गरें । पहिलो वर्षलाई मैले एयर अफ सर्भाइबल भनेको थिएँ । केही पर्यटकीय गतिविधिहरू हुन् जसले गर्दा हाम्रो पर्यटन इन्डस्ट्री, हाम्रो पर्यटनमा लागेका मानिसहरू तथा सरोकारवालाहरू बाँच्न सक्ने स्थिति बनोस् । दोस्रो वर्ष रिभाइबलको योजना थियो । तेस्रो वर्ष त्यसलाई पहिलेको तुलनामा अझ राम्रो बनाउने र चौथो वर्ष स्थिरता दिने योजना थियो । चौथो वर्षमा म एउटा टेको बनाएर फड्को मार्ने रणनीतिमा हिँडेको थिएँ । अहिले हेर्दा राम्रै भयो किनभने मैले ज्वाइन गरेको एक वर्षमा करिब ४० प्रतिशत टुरिस्ट अराइभलको ग्रोथ हासिल भयो जसले हाम्रो पर्यटन उद्योग फर्कियो है भन्ने आभास गरायो । दोस्रो वर्षमा हामी भूकम्प गएको वर्षभन्दा अघिल्लो वर्ष आइरहेका पर्यटकको हाराहारीमा पुग्यौं । २०१७ मा ९ लाख ४० हजार पर्यटक आए, जुन भूकम्प आउनुभन्दा अघिल्लो वर्ष २०१४ मा साढे ७ लाखको हाराहारीमा थियो । त्यो हिसाबले हामीले भूकम्पलाई बिर्साएर पूरै रिकभरी गर्यौं । तेस्रो वर्ष हामी यसलाई नयाँ चरणमा पुर्याउनुपर्छ भनेर लाग्यौं । दुई–तीनवटा नयाँ चिज भए । हामीले १०/२० वर्षअघि नै १० लाख पर्यटक भित्र्याउनुपर्छ भनेर देखिरहेको जुन सपना थियो, त्यो सपना पहिलोपल्ट सन् २०१८ मा हामीले पूरा गर्यौं जसमा हामीले करिब १२ लाख पर्यटक भित्र्यायौं । त्यतिबेला संसारभरिको पर्यटनको ग्रोथ ६ प्रतिशत मात्र थियो भने हामीले तीन वर्षको जोड्ने हो भने करिब २५ प्रतिशतको ग्रोथ हरेक वर्ष हुने गरी मेन्टेन गर्यौं । पर्यटनमा संसारकै टप थ्री फास्टेस्ट ग्रोइङ कन्ट्रीमध्ये हाम्रो देश पनि पर्छ, यो ग्रोथका हिसाबले ।
सांगठनिक रूपमा पनि पर्यटन बोर्डमा किचलो थियो कसरी सुधार गर्नुभयो ?
म सिइओ भएर आउँदा सांगठनिक रूपमा पनि पर्यटन बोर्डको अवस्था साह्रै दयनीय थियो । चार वर्षदेखि नेतृत्वको अभाव भएको, अख्तियारको छानबिन चलिरहेको, २३ जना पदाधिकारीमाथि मुद्दा चलाइएको, धेरैजसो सिनियर टिम बाहिर रहेको स्थिति थियो भने सम्पूर्ण दरबन्दीको ३० प्रतिशतजस्तो पनि थिएनन् स्टाफहरू । त्यति हुँदाहँुदै पनि मैले मूलमन्त्र के बनाए भने आफैं भित्रबाट मात्र गरेर केही हुँदैन, इन्डस्ट्रीसँग मिलेर काम गर्नुपर्छ । त्यसपछि निजी क्षेत्रसँगको सहकार्यलाई मूलमन्त्र बनाएर काम गरियो । जसले गर्दा एकदम राम्रो रिजल्ट आयो । सामान्यतया क्राइसिसपछि दश थरी संस्था र मानिसहरूले दश थरी कुरा गरे भने बाहिर छुट्टै म्यासेज जान्छ । सबैले एउटै म्यासेज दिने हो भने त्यसले कन्भिन्स गर्न सजिलो बनाउँछ । त्यसकारण हामीले हाम्रो इन्डस्ट्री, नेपाली डायस्पोरा एमओयु गर्यांै, डिप्लोम्याटिक मिसन, सिंगो पर्यटन क्षेत्र, नेपाललाई मन पराउने बाहिरका संस्थाहरू सबैलाई एउटै भ्वाइसमा ‘नेपालमा केही समस्या छैन, नेपाल इज ब्याक टु बिजनेस’ भन्ने म्यासेज दियौं, जसका कारण छिटोभन्दा छिटो रिकभरि हुन सक्यो ।
अहिलेको हाम्रो पर्यटनको वास्तविक अवस्था के छ ?
अहिले संख्याका हिसाबले पर्यटक बढिरहेका छन् । इमेजका हिसाबले हामीले तीन/चारवटा नयाँ कुरा गर्यौं । लामो समयदेखि नेपालको टुरिज्म इमेज माउन्टेन कन्ट्रीका रूपमा थियो, एडभेन्चर्स एक्टिभिटी मात्र हुन्छ भन्ने थियो । सोर्स मार्केटमा विद्यमान त्यस्तो धारणालाई हामीले परिवर्तन गर्यौं । हामीले कल्चर, फेस्टिबल, हेरिटेज, वाइल्डलाइफजस्ता चिजहरू जहाँ ठूलो सम्भावना छ तर त्यति हाइलाइट छैनन् त्यसलाई हाइलाइट गर्यौं । नेपालका पोजेटिभ स्टोरिजहरूलाई हाइलाइट गर्यौं, अहिले स्टोरिजहरूले तान्ने जमाना हो । हामीकहाँ त्यस्तो ठूलो इन्फास्ट्रक्चर तथा लक्जरी छैन । अफ सिजनलाई बाह्रै मास बनाउन हामीले सिजन सेल गर्ने कामहरू गर्यौं । जस्तो बंगलादेश र भारतजस्तो मार्केटमा ‘गर्मी से बेहाल, चलो नेपाल’ भनेर बेदर बेच्ने काम गर्यौं । अर्को राम्रो कनेक्टीभिटी भएको मिडिलइस्ट हो, त्यहाँ हामीले पहिले कुनै फोकस गरेका थिएनौं । अहिले हामीले त्यसलाई बढाउँदै गएका छौं । धेरै कनेक्टिभिटी भएको राम्रो सेगमेन्ट छ त्यहाँ । त्यहाँ हामीले मनसुन सेल गर्ने गरी (जुन अफ सिजन हो) प्रमोसन गर्यौं । विन्टर पनि हाम्रो अर्को अफ सिजन थियो, फेब्रुअरीमा चीन र केही अन्य देशमा त्यहाँको न्यु इयर हुन्छ, त्यसैले त्यहाँ हामीले ‘वीन्टर इज वार्म, न्यु इयर इन नेपाल’ भन्ने थिममा प्रमोसन कार्यक्रम सञ्चालन गर्यौं । यता डिजिटल प्लेटर्मलाई ह्वात्तै बढायौं । ब्रान्डको छुट्टै युनिट बनाएर ब्रान्डिङका कामहरू गर्यौं । त्यसरी काम गर्दै जाँदा आज सन्तोषजनक स्थिति खडा भएको छ, तर यतिले पुग्दैन, जति हाम्रो सम्भावना छ, त्यसअनुरूप हामीले अझै धेरै गर्नुपर्नेछ ।
भौतिक पूर्वाधारको समस्यालाई कसरी हल गर्न सकिन्छ ?
सबैभन्दा ठूलो चुनौती आधारभूत पूर्वाधारकै हो । अहिले लामो समयपछि नेपालमा स्थिर सरकार आएको छ, यतिबेला पोलिसी र फोकसमा कन्सट्रेसन गर्नुपर्ने हुन्छ । त्यसमा हामी लबिङ गरिरहेका छौं, त्यसका केही सकारात्मक कुरा पनि देखिएका छन् । सबैभन्दा ठूलो कुरा हामीकहाँ अहिले पर्यटनका हिसाबले र समग्र बिजनेसका हिसाबले सबैभन्दा ठूलो चुनौती नेपालसम्मको पहँुच नै हो । विदेशबाट नेपाल आउने टिकट साह्रै महँगो छ, त्यो महँगो हुनुको कारण एउटा मात्र एयरपोर्ट अनि त्यसमा लिमिटेड एयरलाइन्सले मात्र उडान गर्नु पनि हो । त्यो हिसाबले हामी कहाँ कनेक्टिभिटीको समस्या छ र त्यसका लागि हामीले इन्फास्ट्रक्चर नबढाई हुँदै हुँदैन । यसमा हामीले प्राथमिकताका साथ जानुपर्ने राय दिएका छौं र त्यसअनुरुप काम पनि भैरहेको छ । काठमाडौंको एयरपोर्टको म्यानेजमेन्ट सुधार र विस्तार गर्दा हामीले केही न केही उडान थप गर्न सक्ने स्थिति छ । अर्को लुम्बिनीको निर्माणाधीन एयरपोर्ट सन् २०१९ को अन्तसम्ममा सक्ने भनिएको छ । त्यसलाई सन् २०१९ को अन्त्यमा सकेर सन् २०२० को फष्ट क्वार्टरमा सञ्चालनमा ल्याउनैपर्ने हुन्छ । नभए हाम्रो भिजिट–२०२० को लक्ष्य प्राप्तिमा चुनौती खडा हुनेछ । तेस्रो महत्वपूर्ण कुरा हाम्रो सडक सुरक्षामा पनि ठूलो चासो छ । काठमाडौं वरिपरिका गन्तव्यसम्म पुग्ने सडकको अवस्था राम्रो छैन । यसमा ठूलो फोकस हुनुपर्छ । यो चार–पाँच महिनामा यसमा परिवर्तन आउनेछ भन्ने आशा हामीले राखेका छौं ।
यो त समग्र पूर्वाधारको कुरा भयो, त्यसबाहेक पर्यटकलाई लामो समय स्टे गराउन पनि पूर्वाधारको अभाव छ नि होइन् ?
हामीले एउटा स्टडी गराएका छौं, त्यस अनुसार होटल अकोमन्डेसनमा समस्या छैन् । आजका दिनमा २५ लाख पर्यटक होस्ट गर्न सक्ने क्षमता छ हाम्रो ।होटलहरू एकदमै बढिरहेका छन्, ओभर सप्लाई होला भन्ने डर भैसकेको छ । किनभने, ठूला–ठूला चेन होटलहरू पनि आइरहेका छन् । साना–साना बुटिक होटलहरू पनि खुलिरहेका छन् । हामी कहाँ सर्भिस दिने ह्युमन रिसोर्समा पनि समस्या छैन । हाम्रो अहिलेको मुख्य समस्या नेपालसम्म पर्यटक ल्याउने र उनीहरूलाई गन्तव्यसम्म पुर्याउने इन्फास्ट्रक्चरको अभाव हो । हाम्रो आन्तरिक ट्रान्सपोर्टेसनमा पनि केही समस्या छ, हाम्रो पब्लिक टान्सपोर्ट पनि त्यति राम्रो छैन । सिजनमा पर्यटकहरूका लागि लक्जरी कार तथा गाडीहरूको त अभावै हुन्छ । यस्ता चिजहरूमा हामीले सुधार ल्याउनुपर्नेछ ।
विदेशमा सानै कुरा देखाएर करोडौं आर्जन गर्छन्, हामीकहाँ हजारौं त्यस्ता चिजबिज छन् तर लाख पनि कमाउन सकिरहेका छैनौं, किन ?
मुख्य कुरा त पूर्वाधारकै अभाव हो । अहिले हाम्रा नेताहरू, सिभिल सोसाइटी, ब्युरोक्रेसी सबै केमा लाग्यौ भने स्वीट्जरल्यान्डबाट सिक्नुपर्छ, न्युजिल्यान्डबाट सिक्नुपर्छ । मलाई के लाग्छ भने हामीले त्यहाँभन्दा पनि पछिल्ला दिनमा छिट्टै ग्रोथ गरेका र हामीजस्तै क्राइसिसबाट गुज्रिएका देशहरूबाट उदाहरण लिनुपर्छ, कम्बोडिया, भियतनाम, लाओस, श्रीलंकाजस्ता देशमा पहिलो फोकस इन्फास्ट्रक्चरमा छ । हामीकहाँ नेचुरल एसेट धेरै छ, धेरै म्यानमेड गर्नुपर्ने छैन पर्यटनमा । सांस्कृतिक सम्पदा पनि प्रशस्त छ । मानिसले गर्ने आतिथ्यता पनि संसारकै उत्कृष्ट हो हाम्रो । जम्माजम्मी पूर्वाधारले रोकिरहेको छ । त्यसमा हामीले परिवर्तन ल्याउनेबित्तिकै २०२० को २० लाख पर्यटक ल्याउने लक्ष्य छ, पूर्वाधारमा सुधार गर्ने हो भने त्यसको तीन वर्षभित्रै ५० लाख पर्यटन ल्याउन गाह्रो छैन् ।
हामीले नयाँ पर्यटकीय स्थलहरू पनि थप्यौं । त्यसको रिजल्ट कस्तो पाउनुभएको छ ?
हामी नेपालभरिका सबै गाउँपालिका, सबै गाउँ तथा सबै ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर हिँडिरहेका छौं । त्यो अलि सम्भव छैन, त्यही कारणले लामो समयदेखि हाम्रो रिसोर्स पनि खेर गैरहेको छ । सबै जिल्लामा ३ लाख, ५ लाख, ७ लाख मन्दिरमा, ट्रेलमा भनेर बाँडिने तर क्रंकिट प्रोडक्टचाहिँ केही नआउने, त्यसकारण सरकारले एक वर्षअघि १ सयवटा नयाँ गन्तव्य पहिचान गरेर अगाडि ल्याएको छ । अब हामीले के गर्नुपर्छ भने प्रदेश, स्थानीय तथा केन्द्रीय सरकारले, हामीजस्ता संस्था एवं निजी क्षेत्रले त्यही ठाउँलाई ध्यान दिएर ती ठाउँहरूलाई राम्रो बनाइसकेपछि मात्र अन्त जाने गरी काम गर्नु उपयुक्त हुन्छ । त्यसले केही न केही नयाँ गन्तव्य उजागर गर्न मद्दत भने पुर्याएको छ । नयाँ गन्तव्यमा ठूलो भूमिका यसले पनि खेलेको छ । आन्तरिक पर्यटनको जुन निकै राम्रो माहौल बनेको छ, त्यसले पनि हाम्रो नयाँ गन्तव्य र समग्र पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।
हाम्रो देशमा हिमाल केन्द्रित पर्यटन मात्रै भयो भन्ने आलोचना पनि सुनिन्छ । अब यसमा कसरी विविधिकरण ल्याउने ?
लामो समयदेखि त्यही भएकाले नेपालको पर्यटनलाई सिजनमा आधारित पर्यटन बनायो । किनभने हिमालमा हुने गतिविधि त सिजनमा मात्र गर्न सकिन्छ । नेपालमा बाह्रै मास पर्यटक ल्याउने हो भने हामीले कल्चर, हेरिटेज, वाइल्डलाइफ, लाइफस्टाइल, सिटी टुरजस्ता चिजहरू पनि बेच्नुपर्छ, यस्तै कुराहरूलाई हाइलाइट गर्नुपर्छ भनेर हामीले नेपाल भ्रमण वर्षको थिम नै ‘लाइफटाइम एक्सपिरिन्यस’ लाई बनायौं । हामीले नेपालमा जे गरिन्छ, त्यो लाइफटाइम एक्सपिरियन्सका लागि हो भन्ने थिममा प्रचार—प्रसार गरिरहेका छौं ।
हाम्रो देशको ग्रामीण पर्यटनको अवस्था के छ ?
हाम्रो धेरैजसो टुरिज्म एक्टिभिजिट ग्रामीण इलाकाहरूमै हुन्छ । चाहे त्यो ट्रेकिङ होस् वा होमस्टे होस् वा अरू खालका एक्टिभिटिजहरू नै किन नहुन् ? अहिले हामीले हेर्दाखेरि नेपालको ग्रामीण पर्यटनको भविष्य एकदम राम्रो छ, तर एउटा चिजबाट हामीले यसलाई जोगाउनुपर्नेछ । जस्तो होमस्टेकै उदाहरण लिऊँ, होमस्टे भनेको एउटा विशिष्टीकृत एक्टिभिटी हो । टुरिस्टका लागि लाइफमा अन्यत्र कतै नपाउने एक्सपिरियन्स हो, तर हामीले यसलाई कताकता होटलको सस्तो रुमजस्तो गरी विकसित तथा प्रचारित गरिरहेका छौं । त्यस्तो हुनु हँुदैन, त्यो भयो भने ठूलो लगानी गर्ने होटल पनि मार्कामा पर्छन्, सानो स्केलमा सुरु गर्ने होमस्टेको भविष्य पनि राम्रो हुँदैन । होमस्टेलाई अग्र्यानिक खाना पाइने, स्थानीय संस्कृति हेर्न पाइने, लोकल जीवनशैलीको अनुभव लिन सकिने ठाउँका हिसाबले विकास गर्नुपर्यो । हाम्रो रुलर एक्सपिरियन्स त्यस्तो हुनुपर्यो भन्ने लाइनमा हामीले एजुकेट गरिरहेका छौं ।
हाम्रा होमस्टेहरूका समस्या के हुन् ?
हाम्रो आफ्नो पहिचान जोगाउने, सर्भिसहरूमा अलि अपग्रेड गर्ने तथा मूल्यमा कम्प्रोमाइज नगर्ने कुरामा ध्यान पुर्याउनुपर्छ । होमस्टे तथा रुलर एक्सपिरियन्स सेल गर्नेहरूले एकदमै ध्यान दिनुपर्छ । कहिलेकाहीं के भैदिन्छ भने यता ५ हजार लिने होटल छ, उता ५ सय लिने होमस्टे छ, होमस्टेमा पनि त्यही चाउचाउ, त्यही कोक, त्यही ग्यासमा तयार पारिएको खानेकुरा भए यताको पर्यटक उता जान्छ तर त्यसले देशको समग्र पर्यटनलाई राम्रो गर्दैन ।
टुरिज्ममा पब्लिक–प्राइभेट पार्टनरसिपको बहस पनि चल्ने गरेको छ । यो नेपालमा कति सान्दर्भिक छ ?
वास्तवमा टुरिज्ममा लामो समयदेखि निजी क्षेत्रले नै नेतृत्वदायी भूमिका खेलेको हो । निजी क्षेत्रलाई नै लिडरसिप दिनुपर्छ र उहाँहरूको आवाज सुन्नुपर्छ भनेर पर्यटन बोर्डको स्थापना भएको हो, पब्लिक प्राइभेट पार्टनरसीप एप्रोचमा । नेपालको पहिलो मोडल संस्था हो यो, यो अटोनोमस संस्था पनि हो । अहिले हामी बीटुबी र बीटुसीका कामहरू गर्छौं । बीटुबीमा प्राय: हामीले नेपालको निजी क्षेत्रका सञ्चालकहरू जस्तो होटल सञ्चालक, टुर अपरेटर, एयरलाइन्सहरूलाई बाहिर सेल गर्ने टुर अपरेटरहरूसँग भेटाइदिने, प्लेटफर्महरू क्रिएट गरेर बिजनेस शो केस गर्न दिनेजस्ता कामहरू गर्छौं । अर्को कन्जुमर पब्लिसिटीका कामहरू गर्छौं, मास मिडियामा प्रमोसनका कामहरू गर्छौं । विदेशी मिडियालाई नेपाल घुमाएर, यहाँका पोपर्टीहरू देखाएर त्यसको प्रचार–प्रसार गराउछौं । नेपालमै पनि हामीले ट्राभल मार्ट सुरु गरेका छौं ताकि बाहिरका बायर्सहरू नेपाल आएर नेपालका टुर अपरेटर, होटेलियरहरूसँग सम्पर्क गरेर बिजनेस सम्पर्क स्थापित होस् भनेर हामीले विभिन्न मोडालिटीमा काम गरिरहेका छौं ।
नेपाली पर्यटन उद्योगमा नयाँ सम्भावना के–कस्ता छन् ?
मलाई के लाग्छ भने कम लगानीमा बढी प्रतिफल लिन सकिने, रोजगारीका प्रशस्त अवसरहरू सिर्जना गर्न सक्ने, सबैभन्दा बढी अवसर सिर्जना गर्न सकिने, राष्ट्रिय छवि र दिगो विकास तथा विदेशी मुद्रा आर्जनका हिसाबले पनि हामीले सबैभन्दा बढी भर पर्नुपर्ने सेक्टर टुरिज्म नै हो । सरकारले कुनै पनि शंकाबिना फुल इफोर्टका साथ यसमै लाग्नुपर्ने हो । यसैले हामीलाई छिटोभन्दा छिटो र दिगो हिसाबले समृद्ध बनाउन सक्छ । कहाँ–कहाँ कमी छ भन्दा एउटा त इन्फास्ट्रक्चरकै कमी हो, दोस्रो नयाँ प्रोडक्टहरू विकास गर्दा विदेशीहरूले मन पराउने हुनुपर्यो । तेस्रो हाम्रा एसेटहरूलाई युनिक ढंगबाट प्रमोसन गर्नुपर्यो । यी तीन कुरा भयो भने हामीले पर्यटनमार्फत नेपाललाई छिट्टै समृद्ध बनाउन सक्छौं ।
नेपालमा आउने पर्यटकले थोरै मात्र खर्च गर्छन् पनि भनिन्छ नि ? उनीहरूलाई कसरी बढी खर्च गराउन सकिन्छ ?
यसमा हामीले दुईवटा रणनीति बनाएका छौं । एउटा आम्दानी धेरै भएका सेगमेन्टलाई बढी फोकस गर्ने प्रमोसनमा । त्यसबाहेक समस्या हामी कहाँ पनि छ, हामीले हाम्रो इन्डस्ट्रीलाई एजुकेट गर्नुपर्ने देखिन्छ । जुन काम हामीले सुरु गरिसकेका छौं । हामी कहाँ नयाँ सर्भिस दिएर प्रतिस्पर्धा गर्ने, नयाँ रचनात्मक चिजहरू बनाएर सेल गर्ने, इनोभेटिभ आइडिया ल्याएर टुरिस्ट तान्ने भन्दा पनि अर्काको भन्दा सस्तो दिएर आफ्नोमा टुरिस्टहरूलाई आकर्षित गर्ने एक खालको कल्चर छ । त्यस कारण पनि पर्यटकले कम खर्च गर्छन् । एउटा पर्यटकले त्यही सुविधाको कोठा एक ठाउँमा ५ हजार र अर्को ठाउँमा ३ हजारमा पायो भने ३ हजारमै जान्छ । तपाईंहरूको कोठा ५ हजारमा बिक्री हुने अवस्था हुँदाहँुदै ३ हजारमा नबेच्नुहोस भनेर सिकाउनुपर्ने स्थिति छ । हाम्रो पर्यटनमा एक खालको राम्रो पनि छ, नराम्रो पनि छ, राम्रो के छ भने एउटा व्यक्ति पर्यटन पेसामा लागेको एक दुई वर्षमै उद्यमी भैहाल्छ । एक वर्ष पोर्टर भएको अर्को वर्ष कम्पनी खोलिसक्छ । त्यसकारण यहाँ पर्याप्त अवसर सिर्जना भएका छन्, तर उहाँहरूको पढाइ पुग्दैन, तालिम छैन, व्यवसायिक ज्ञान छैन, सुरु–सुरुको अवस्थामा त्यति एक्स्पोजर पनि हुँदैन । हामी उहाँहरूलाई एजुकेट गरेर त्यो ग्याप पूरा गर्दैछौं । उहाँहरूलाई केही ज्ञान दिएर अघि बढ्न सकियो भने पनि क्वालिटी टुरिज्म दिन सकिन्छ । इन्फास्ट्रक्चरको सीमितताले पनि पर्यटकको धेरै खर्च हुन नसकेको हो । एक जना टुरिस्टले उसको टोटल ट्राभल प्याकेजको ५० प्रतिशतभन्दा बढी खर्च उसले आफ्नो टिकटमा मात्र गर्छ भने डेस्टिनेसनमा गर्ने खर्च त कम हुन्छ । चौथो महत्वपूर्ण कुरा आएका पर्यटक सस्ता पनि होइनन्, एकदमै कम खर्च गरिरहेको पनि होइन । पछिल्ला दिनमा अनलाइन पेमेन्ट र डिजिटल प्राक्टिस धेरै बढेको भएर पनि नेपालमा गरिएको खर्च कम देखिएको हो । बुकिङ डटकम, वीच्याट, अलि पेजस्ता ठाउँबाट बढी कारोबार हुन्छ । त्यसकारण नेपाल सरकारले डिजिटल स्मार्टनेश अर्थात डिजिटल क्षमता बढाउनुपर्ने हुन्छ ।