पर्यटन विकासकालागि साहित्य

- विप्लव भट्टराई

आश्विन ९, २०७६

 

असोज ३ र ४ गते इलाममा साहित्य महोत्सवको आयोजना भयो । महोत्सवको उदेश्य पर्यटन विकासमा टेवा पुऱ्याउनु थियो । नभन्दै सहभागी देशविदेशका साहित्य अनुरागीले खुलेरै पर्यटन विकास र समृद्धीको वहस गरे । देश विदेशमा इलाम छर्दै समृद्ध समाजकालागि साहित्य, संगीत, कला र संस्कृतिको मूख्य भूमिका हुनेमा २ दिन सम्म चलेका १५ वहसमा पर्याप्त छलफल भयो । 

पर्यटन वर्षलाई लक्षित गरि आयोजित कार्यक्रममा उठेका सवाल र उपस्थित व्यक्तित्वका धारणाले समग्र समृद्धिको अधारकोरुपमा साहित्य लिनु पर्ने निश्कर्ष निकाल्यो । 

‘साहित्य समाज भन्दा परको विषय होइन रहेछ,’ अयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भने, ‘वहुलतालाई सम्वोधन गर्ने साझा नेपाली पहिचान आजको आवश्यकता रहेछ ।’ उनले कार्यक्रमको निश्कर्ष दिदै अझै थपेका छन् मानकमाथि प्रश्न नगरिकन समाजको रचनात्मक रुपान्तरण नहुने भएकाले प्रश्नलाई पनि प्रश्न गर्नु पर्ने धारणा राखे । 

म्युजिक भिडियोदेखि फिल्मसम्मको सुटिङ गन्तव्य वनेको इलामको पर्यटनलाई थप मिठास थप्न महोत्सवले उल्लेख्य टेवा पुऱ्याएको सहभागीको भनाई छ । महोत्सवमा नेपाली साहित्यका अनेक आयामसँगै, कला, संगीत, पर्यटन, कृषि, राजनीतिलगायतका ताजा विषयमाथि खुलेर बहस भए । 

बहसका विषय दलित, महिलादेखि आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्रसम्मका थिए । महोत्सवको रापले इलामको चिसो भगाउँदै गर्दा बहसमा उठेका विषय र प्रसंगले भने सहभागीको दिमाग पनि तताइरहेको थियो । 

‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकमा सञ्जीव उप्रेतीको किनोट स्पिचबाट सुरु महोत्सव संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको संविधान कार्यान्वयनमा भएका प्रयासहरुको व्याख्या गर्दै सकिएको थियो । 

‘कवि र कविता, सत्ता कि प्रतिपक्ष ?’ शीर्षकमा गफिएका श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जिलले निश्कर्ष निकालेका थिए ‘जनताका पक्षमा लेख्नेहरू सधैं प्रतिपक्षमा हुन्छन् ।’ मानकमाथि प्रश्न’ शीर्षकको अर्को सत्रमा राजन मुकारुङ, उज्ज्वल प्रसाईं र मिश्र वैजयन्तीले तातो बहस गर्दै शक्तिको अभ्यासले समाजमा मानक स्थापित गरेको औल्याए । ‘अ’ मा अल्झेको इलाम’ शीर्षकको छलफलमा संस्कृतिविद् युद्धप्रसाद वैद्य, इलाम नगरका प्रमुख महेश बस्नेत र राजेन्द्र बरालले बहस गरे । कृषि उपजकै कारण पहिचान बनाएको इलामलाई यी वस्तुको उत्पादनको बढोत्तरीसँगै बजारीकरण र स्वरोजगारको माध्यम बनाउन ढिला भएकोमा उनीहरू चिन्तित देखिन्थे । 

‘किन बिक्न छाड्यो आख्यान ?’ शीर्षकमा प्रेम ओझा, प्रकाश बुढाथोकी र बिना थिङले गरेको बहसमा आख्यान लेखन र कन्टेन्टका विषयमा घनीभूत छलफल भयो । पाठकको चाहनाबमोजिमका आख्यान आए अझै पनि प्रशस्तै बिक्न सक्ने निष्कर्ष उनीहरूको थियो । ‘करोड क्लब र अफवाह’ मा अभिनेता दयाहाङ राई, समीक्षक अनुप सुवेदी र लेखक ब्रजेश खनालबीच बहसमा नेपाली चलचित्रको स्तर, व्यापारका साथै पछिल्लो धारबारे वक्ताहरूले विचार राखे । 

कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्मा र खगेन्द्र संग्रौलाले गणतन्त्रको खतरामाथि बहस गरेका थिए । हरिषचन्द्र राई, देवी क्षेत्री दुुलाल र चन्द्र घिमिरेले पर्यटनका संभावना भएर पनि प्रर्वधन गर्न नसकिएको चर्चा गरे । सुरेश नेम्वाङ, रवि सिंह र दिपक गौतमले निर्माण पाटोमा छलफल चलाउदा हरिहर शर्मा र प्रकाश आङ्दाम्वेले सिनेमाले दिने सन्देशको विषयमा दर्शकलाई प्रश्ट्याएका थिए । 

भुपाल राई र धर्मेन्द्र विक्रम नेम्वाङले मुन्धुम र मुधमको विषयमा जानकारी गराएका थिए । गायक कोमल निरौला र गुरुङ सुशान्तले गीतको दु:ख पस्किए । साहित्यकार सीमा अभाष, लेखक जेवी विश्वकर्मा र कृष्ण धरावाशीले अधिकारको विषयमा वहस चलाए । 

 

प्रकाशित :आश्विन ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×