साप्ताहिक संवाददाता
सिंगापुरको केएफ वान रेसिङ सर्किटमा आयोजना गरिने कार्ट्स प्रतियोगिताका लागि नेपालबाट तीन जना ड्राइभर छनौट भएका छन् । गत शुक्रबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न कलेज टु कार्ट्स च्याम्पियनसिपबाट महिला तर्फ सुष्मा नेपाल तथा पुरुषतर्फ आश्विन जलान र सुवर्ण सिंह विष्ट प्रतियोगिताका लागि छनौट भएका हुन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीद्वारा सञ्चालित हन्ड्रेड युथ आवर फ्युचर अभियान अन्तर्गतको उक्त प्रतियोगिताबाट उनीहरू छनौट भएका हुन् ।
यो अभियान अन्तर्गत कलेज टु कार्ट्स च्याम्पियनसिपका ३ बिजेता तथा अन्य दुई प्रतियोगिताबाट छनौट भएका ४ गरि कुल ७ जना विद्यार्थीलाई नोभेम्बरको पहिलो साता सिंगापुरमा हुने प्रतियोगितामा सहभागी गराइने नासाले बताएको छ । नासाले केही दिन पहिले मात्र कार्टिङको सुरुवात गरेको हो । नेपाली महिला कार्ट्स ड्राइभरको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएको बताइन्छ ।