साप्ताहिक संवाददाता
पाल्पाका विपीन कँडेल पेसाले मेकानिकल इन्जियिनर हुन् । सानैदेखि उनलाई मकै एकदमै मन पथ्र्यो । मकैको पारखी भएकाले उनले काठमाडौंमा मकैका परिकार खाने व्यवस्थित ठाउँको अभाव देखिरहेका थिए । आफैं मेकानिकल इन्जिनियर भएकाले कँडेलले तीन महिना लगाएर झन्डै डेढ लाखमा मकै पोल्ने मेसिन तयार पारे । सुरुमा उनलाई लागेको थियो— यो मेसिन बनाएर बेच्छु तर पछि उनले आफैं मकैका विभिन्न परिकार उपलब्ध हुने रेष्टुराँ खोल्ने योजना बनाए ।
त्यही योजनाले मूर्तरूप पाएपछि तीन महिनाअघि काठमाडौंको मध्यबानेश्वर क्षेत्रको संगमचोकमा झन्डै १० लाखको लगानीमा ठेट्नो मकै घर खुल्यो । ठेट्नो मकै घरले अहिले १५ वटा मकैका परिकार पस्किँदै आएको छ । यो मकैघरको मेनुमा पोलेको मकैदेखि मकैको मम तथा मकैको खीरसम्म अटाएका छन्् । ‘तीन महिनाको प्रतिक्रियाबाट निकै उत्साहित छु,’ विपिनले साप्ताहिकसँग भने, ‘नयाँ किसिमको मेनु छ, राम्रो रेस्पोन्स पाइरहेको छु ।’
३ जना स्टाफ राखेर सञ्चालन गरिएको यो क्याफेले मकै भने भक्तपुर तथा काभ्रेबाट आपूर्ति गर्छ । विपिन नेपालीहरूले जे खाइरहेका छन्, त्यसैलाई आधार बनाएर आफूले मकै घरको मेनु डिजाइन गरेको बताउँछन् । ‘नेपाली ओरिजन पनि हो भन्ने देखाउन खोजेको हुँ,’ उनले भने ।
अहिलेसम्म ग्राहकहरूले सबैभन्दा बढी मन पराएको परिकार मकैको चटपटे, पोलेको मकै, साँधेको मकै, मकैको खीर तथा स्पेसल मम मकै हो । यो मकैघरको मेनुमा सबैभन्दा बढी मुल्य पर्ने स्पेशल मकै ममलाई १ सय ४० रुपैयाँ पर्छ भने सबैभन्दा सस्तो लेमनेड रोष्टेड मकै तथा नेपाली पोलेको मकैको ५५ रुपैयाँ पर्छ । मकै घरले मकैसँगै मोही, मसला मोही तथा लस्सीसमेत उपलब्ध गराउँदै आएको छ ।