कागले आँगनमै आएर
खबर छोडेर गएको छ
दसैं आयो
परदेशी आउनेछ
खुसी आउनेछ ।
एक लौरो आउनेछ
एक्ली आमाको
थर–थर कापिरहेका हातहरूको भरथेग गर्नेछ ।
एक पिता आउनेछन्
केटाकेटीहरूको आङले लुगा फेर्नेछ ।
एक संगी आउनेछ, गाउँ मुस्कुराउनेछ
सिन्दूर आउनेछ, सिउँदो लजाउनेछ
तिमीलाई थाहा छ परदेशी ?
कमेरो र गेरु माटोले घर पोतेको छु
एभरेडी ब्याट्रीको कालो धुलोले
दैलो र झ्याल रंगाएकी छु
तिमी देश फर्कंदा कसैको नजर नलागोस् भनेर
तिमीले मलाई मायामा बेरेजस्तै
फनक्क बेरिएको सेल
एक ढकिया तिमै्र लागि साँचेकी छु ।
तिमीलाई
पँहेलो, खस्रो काँक्राको खाँदेको अचार
खुबै मन पर्छ है
माझपाटामा फलेको तोरीको पिनामा
मेरो माया मिसाएर
खाँदेर राखेकी छु काँक्राको दुई डिब्बा अचार
तिमी गएकै दिशाबाट
हरेक बिहान
उदाउने घाममा सुकाएर राखेकी छु
लाग्छ घामको प्रकाशसँगै हरेक बिहान
तिम्रो प्रेम पनि मिसिएर आएको छ पूर्वबाटै
तिमीलाई थाहा छ परदेशी ?
तिमीले गर्भमा छोडेर गएको निसानी
छोरी भएर जन्मिएकी छे
वामे सर्छे, तोते बोल्छे
आमा–दादा भन्छे तर बाबा भन्दिन
तिमी नभएर होला
परार दसैंमा
तिमीले लाइदिएको निधारभरिको अक्षेता
शिरभरिको जमरा
यही धोतीको टुप्पोमा पोको पारेर साँचेकी छु
तिम्रो प्रेम सम्झेर
पोहर दसैंमा
तिम्रो तस्बिर अगाडि राखेर
त्यही अक्षता र जमराले शिर पवित्र वनाए
मन शीतल बनाए
यसपालि दसैंमा तिमी आउने खबरले
मन उथुल–पुथुल भैरहेछ तिमी, तिम्रो अँगालो
आफन्त, प्रियजन आशिष, दक्षिणा, आशीर्वाद
निधारभरि अक्षेता चर्खे पिङ, शिरभरि जमरा
गराहरूमा
लह लह झुलेको धानका बालाहरूसँगै
आँगनको डिलमुनि फुलेका सयपत्री र मखमलीहरूसँगै
तिमी घर फिर्ने खबरले तिमी देश फिर्ने खबरले
बिर्सिएको छ आँसु चुहाउन बादलले छोडेको छ रुन आकाश
मुस्कुराएपछि म मुस्कुराएको गाउँ ।