तपाईंमा घुम्ने हुटहुटी छ, तर पर्याप्त समय छैन । छोटो समयमा केही मनमोहक ठाउँ घुम्न चाहनुहन्छ अथवा छोटो पैदलयात्रामार्फत धेरै रमणिय ठाउँमा पुग्ने रहर छ । यदि त्यस्तो हो भने तपाईंका लागि उचित गन्तव्य हुन सक्छ, पोखरादेखि पोथानासम्मको यात्रा । पोथाना छोटो समयको ट्रेकिङको अनुभव सँगाल्नेहरूको रोजाइमा पर्ने गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने पोथाना पुग्न दुईवटा बाटो प्रयोग गर्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ काँडेसम्म सवारी साधनमा गएर त्यहाँबाट एक घण्टाको पैदल यात्रामा अस्ट्रेलियन बेस क्याम्प पुगी त्यहाँबाट ४५ मिनेटको पैदल यात्रापछि पोथाना पुग्न सकिन्छ । पोखराबाट काँडेसम्म बस यात्रा गर्दा ७५ रूपैयाँ लाग्छ । पोथाना पुगेर त्यहाँ रहेका होटलमा बसी भोलिपल्ट बिहान १ घण्टाको पैदल यात्रापछि पितम देउराली पुगेर फर्कन सकिन्छ । मर्दी हिमाल ट्रेक जाने रुट पनि यही हो ।
अर्को रुट पोखराबाट माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस हुँदै पोथाना पुग्ने हो । पोखराबाट झन्डै २१ किलोमिटरको दूरीमा पर्ने धम्पुस गाउँ आफ्नै सवारी साधन हुनेहरू १ घण्टामै पुग्न सक्छन् । हरिचोकबाट दैनिक ८ वटा जिप तथा दुईवटा बस जान्छन् । बसले १ सय तथा जिपले १ सय २० रूपैयाँ भाँडा लिन्छन् । एक रात दुई दिनको यात्रामा धम्पुस, पोथाना, पितम देउराली, अस्ट्रेलियन क्याम्प तथा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पुगेर मनमोहक दृश्य नियाल्दै यात्रालाई अविस्मरणीय बनाउन सकिन्छ ।
यो रुटमा झन्डै ४५ वटा होटल सञ्चालनमा छन् । एउटा होटलमा सरदर १० वटा कोठा छन् । ती कोठा ४ सयदेखि ३ हजार रूपैयाँसम्ममा पाइन्छ । नेपाली खाना तथा अर्गानिक चिया, कफी यहाँको मुख्य आकर्षण हो ।
धम्पुसमा लालीगुराँस इको पार्क छ । यहाँ निर्मित भ्यू टावरबाट पञ्चासे, पोखरा आदिको दृश्य हेर्न सकिन्छ । भ्यू टावरबाट दृश्य नियाल्न विदेशीले ५०, नेपालीले २० तथा विद्यार्थीले १० रूपैयाँ तिर्नुपर्छ ।
पोखराबाट नजिकको दूरीमा पर्ने यो ट्रेकिङ रुटमा सुन्दर हिमाल सहितका प्राकृतिक दृश्य नियाल्न पाइन्छ । यो रुटमा पर्यटकहरू पोथाना भ्यू प्वाइन्ट, वाइल्ड लाइफ वाचिङ सेन्टर, योग स्पट, माछा पोखरी, धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर, थाक डाँडा, तप्राङ मैदान, अस्ट्रेलियन क्याम्प, पितम देउराली आदि ठाउँ पुग्छन् । यो रुटमा एकैपटकमा हिमालको लामो रेञ्ज हेर्न सकिन्छ । यहाँबाट माछापुच्छ्रे, धौलागिरि, हिमचुली, अन्नपूर्ण आदि हिमालको सुन्दर दृश्य नियाल्न पाइन्छ ।
यहाँ क्याम्प फायर गर्दै रमाइलो गर्ने अवसर समेत उपलब्ध छ । जंगलमा पाइने कालिज, वनकुखुरा आदि चराचुरुंगी नियाल्ने मात्र नभएर तिनको आवाज सुन्दै यात्रा अघि बढाउन सकिन्छ । यो रुटमा विभिन्न प्रजातिका फूल तथा कन्दमूल फेला पर्छन्, जसले यात्रामा ऊर्जा थप्छन् । अहिले यो रुटको यात्रा गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।