अभिनयको कम्प्लिट प्याकेज केकी अधिकारी

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७६

 

अभिनेता दीपकराज गिरी तथा अभिनेत्री केकी अधिकारी चलचित्र ‘छ माया छपक्कै’मार्फत रोमान्टिक जोडीका रूपमा दर्शकमाझ आएका छन् । अघिल्लो सातादेखि  प्रदर्शन भएको  यो चलचित्र व्यवसायिक रुपमा सफल भएको छ ।  दीपक र केकीले यसअघि ‘मीठो सत्य’ सिरियलमा सहकार्य गरेका थिए जसमा केकी सहअभिनेत्री थिइन् । चलचित्रमा यो जोडीको पहिलो सहकार्य हो । 

सालिन

केकीमा मैले प्रशस्त सालिनता पाएँ । उनी भद्र तथा मृदुभाषी छिन् । सुटिङ स्पटमा होस् वा बाहिर जहाँ पनि सबैसँग घुलमिल हुनसक्छिन् ।

कम्प्लिट प्याकेज

केकी आफैंमा अभिनयको एउटा कम्प्लिट प्याकेज हुन् । यस्तो प्याकेज नेपालका अभिनेत्रीमा कमै मात्र पाइन्छ । उनी जुनसुकै चरित्रलाई पर्दामा उतार्न सक्छिन् । उनमा केही नयाँ गरौं भन्ने चाहना छ भने उनी प्रोजेक्टको महत्व राम्रोसँग बुझ्छिन् । 

समयपालक

समयको मामिलामा केकीलाई अनुशासित पाएँ । कलाकार ढिलो आइदिँदा सुटिङको काम रोकिएको वा ढिलो भएको उदाहरण धेरै छ, तर केकीमा त्यस्तो लापरवाही देखिँदैन । उनका कारणले हामीले सुटिङमा कहिल्यै दु:ख पाएनौं । 

बौद्धिक अभिनेत्री

म केकीको बौद्धिकताबाट समेत प्रभावित छु । उनी देशदेखि विदेशसम्मका सबै विषयमा अपडेट छिन् । उनको आइक्यू त अझ राम्रो छ ।

घमन्डविहीन

केकीमा स्टारडमको घमन्ड र समस्या देखिँदैन । प्राय: अभिनेत्री तथा अभिनेताहरू ‘म त हिरो वा हिरोनी’ भनेर फोस्रो स्टारडम देखाउँछन्, तर केकी यस्ता कुराबाट मुक्त छिन् ।

सुधार्नुपर्ने पक्ष

प्रोजेक्ट छनोंट

केकीले राम्रो प्रोजेक्ट छान्नुपर्छ । राम्रोलाई ‘यस’ र नराम्रोलाई ‘नो’ भन्न सक्नुपर्छ । यसले उनको करियरलाई माथि उठाउन मद्दत पुर्‍याउँछ । 

हाइट सुधार्नु 

मलाई लाग्छ केकी राम्रो अभिनेत्री भएर पनि उनलाई उचाईले त्यति साथ दिएको छैन । त्यो सुधारे राम्रो हुन्थ्यो (हाँसो) ।

भिडियोमा नियन्त्रण

अहिलेको समयमा केकी मात्र होइन, धेरै अभिनेता–अभिनेत्रीलाई चलचित्रसँगै म्युजिक भिडियोमा समेत व्यस्त देख्छु । हुन त चलचित्रमै काम गरेर मात्र पनि पुग्दैन, तैपनि भिडियोको अभिनयको कामलाई केही कम गरे हुन्थ्यो ।

खानेकुरा 

केकी धेरै खाने कलाकार हुन् भन्ने कुरा सुनेको थिएँ । त्यसैले हामीले सुटिङमा उनको खान्कीमा नियन्त्रण गर्‍यौं ।

प्रकाशित :कार्तिक ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×