यो दुनियाँमा दु:ख पाउने म एक्लो होइन रहेछु : श्वेता खड्का

- किशोर नेपाल

कार्तिक ७, २०७६

 

श्वेताका लागि माझी बस्तीमा संलग्नता एउटा असामान्य संयोग थियो समाजसेवाका लागि । रवीन्द्र खड्काको माझी बस्तीमाथिको एउटा लेख उनको उत्प्रेरणा बन्यो । त्यहाँ एउटा स्कुल बन्दै थियो । बस्ती थिएन । बिनाबस्तीको उजाड ठाउँमा किन चाहियो स्कुल ? 

श्वेताको जीवनमा दु:ख र पीडाको आक्रमण अचानक भयो ।

श्रीदादा (श्वेताका पति सुप्रसिद्ध अभिनेता श्रीकृष्ण श्रेष्ठ) को निधन उनका लागि भावनात्मक र मानसिक दुवै हिसाबले असहनीय थियो । वैवाहिक जीवनको प्राप्तिसँगै त्यसको अन्त्य । चरम दु:खको त्यो समयमा श्वेताले असीम धैर्य देखाइन् । त्यो अवस्थामा आफूलाई सम्हाल्नु र आफ्नो कामलाई निरन्तरता दिनु कठिन थियो । श्वेता सफल भइन् । श्रीदादाको स्नेह उनको ह्दयमा थियो । प्रेरणाको पुञ्जका रूपमा । त्यो स्नेहको उज्यालोले उनलाई बाटो देखायो । 

हेर्दा सामान्य देखिने श्वेताको व्यक्तित्व असामान्य गतिविधिमा व्यस्त छ । उनी कफी सप पनि चलाउँछिन्, चलचित्रको निर्माणमा पनि सक्रिय छिन् । उनको आफ्नो पुरानो कन्स्ट्रक्सन र कन्सल्टेन्सी व्यवसाय छँदैछ । पछिल्लो समयमा उनी समाजसेवामा पनि उत्तिकै व्यस्त छिन् । उनको सक्रियता देखेर साथीभाइ र आफन्तहरू छक्क पर्छन् । २०७२ को भुइँचालोपछि उनी आफ्नो गृहजिल्ला सिन्धुपाल्चोक, माझी बस्तीका भुइँचालोपीडितहरूका लागि आवास निर्माणमा लागेकी छिन् । यसका लागि सरकार, स्थानीय कमिटी र श्वेताको त्रि–पक्षीय सक्रियता छ । माझी बस्ती निर्माणका लागि उनले ऋण लिएर काम गरेकी छिन् । यो बस्तीमा जम्मा ३ सय परिवारका लागि घर बनाइएको छ । श्वेताले माझी बस्ती फाउन्डेशनका लागि १५ लाख रुपियाँ छुट्याएकी छिन् । 

श्वेताका लागि माझी बस्तीमा संलग्नता एउटा असामान्य संयोग थियो समाजसेवाका लागि । रवीन्द्र खड्काको माझी बस्तीमाथिको एउटा लेख उनको उत्प्रेरणा बन्यो । त्यहाँ एउटा स्कुल बन्दै थियो । बस्ती थिएन । बिनाबस्तीको उजाड ठाउँमा किन चाहियो स्कुल ? श्वेताको मनमा प्रश्न उठ्यो । त्यसपछि उनी पुगिन् माझी बस्तीका बासिन्दाहरूको बीचमा । त्यहाँ उनको भव्य स्वागत भयो । उनका प्रति मानिसहरूको भरोसा थियो । सबैले एक स्वरमा भने, तपाईं आउनुभयो, अब हाम्रो बस्ती बन्छ ।

श्वेताले कोहिनूर चलचित्रको आम्दानीबाट बस्ती निर्माणको काम सुरु गरिन् । यसका लागि श्वेताश्री फाउन्डेशन गठन भयो । उनले बस्तीको डिजाइन र व्यवस्थापनको काम सुरु गरिन् । साथीभाइहरूले गाडी उपलब्ध गराए । माझी बस्तीलाई एक आदर्श बस्तीका रूपमा विकसित गर्ने काम सुरु भयो । यो बस्तीको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । अबको ६ महिनाजतिमा माझी बस्तीको निर्माण सकिने अनुमान गरिएको छ । बस्तीको प्रत्येक घरको निर्माणमा ४ लाख रुपैयाँ सहुलियत ऋृण खर्च भएको छ । 

श्वेता अहिले नेसनल क्यान्सर हस्पिटलको बोर्डमा छिन् । श्वेताको मान्यता छ, ‘सामाजिक सेवा दान मागेर होइन, आफैंले कमाएर गर्नुपर्छ ।’ उनले कमाएर नै धेरै सामाजिक काम गरेकी छिन् । सामाजिक कार्यमा उनलाई सघाउन एक दर्जन बढी कार्यकर्ता सक्रिय रहेका छन् ।

करिअरको सुरुवातदेखि नै सेलेब्रेटी हैसियतमा रहेकी श्वेता रहरले भन्दा पनि बाध्यताले आएकी थिइन् अभिनय क्षेत्रमा । उनी आफूलाई चलचित्र उद्योगका लागि ‘फिट’ सोच्दैनथिन् । त्यो बाध्यताको सिर्जना गरेको थियो— श्वेता र श्रीकृष्णका बीच अंकुरित प्रेमले । उनीहरूका बीचको प्रेम कोहिनूर निर्माणको सिलसिलामा मुम्बई जाँदादेखि झांगिन थालेको हो । श्वेताले निर्देशक शिव रेग्मीसँग चलचित्रको ‘भोकाब्युलरी’ सिकिन् । कोहिनूूरमा अभिनयको अनुभव अद्भुत थियो, तर श्रीकृष्ण त्यहीदेखि बिरामी परे । चलचित्रको छायांकन सकिएपछि सम्पादनमा बस्दा उनलाई सुखा खोकीले समात्यो । आखिर कोहिनूर श्रीकृष्णको अन्तिम चलचित्र बन्न पुग्यो । 

श्वेता र श्रीकृष्णको बिहे पनि हतारमै भएको थियो । दुवैका बीच प्रेम झांगिँदै गएपछि श्रीकृष्णको परिवारबाट विवाहको प्रस्ताव आयो । श्वेताको परिवार यो बिहेको पक्षमा थिएन । श्वेता र श्रीकृष्णको बीचमा उमेरको अन्तर थियो— १९ वर्षको । यी कुरासँग श्वेतालाई मतलब थिएन । उनले कसैको कुरा सुनिनन् । ‘श्रीदादासँग मेरो मनले जोडेको सम्बन्ध हो । यो मेरो स्वतन्त्र निर्णय थियो ।’ उनीहरूको बिहेको प्रस्ताव आएको थियो वैशाखमा । बिहे भयो असारमा ।

मानिसहरूले सोचे, ‘श्रीकृष्णको निधनसँगै अब श्वेताको अभिनय यात्रा पनि टुंगियो ।’ तर होइन । कोहिनूर निर्माण भएको तीन वर्षपछि श्वेताले ‘कान्छी’ को निर्माण गरिन् । उनले अभिनय छाडिनन् । ‘धेरै’ चलचित्र बनाउने चाहना छैन उनको । उनी पैसा कमाउन होइन, माया कमाउन चलचित्रमा खेल्न चाहन्छिन् । 

सामाजिक सन्जालमा श्वेताको उपस्थिति निकै बाक्लो र निकै लोभलाग्दो छ । उनी हरेक दिनजस्तो फेसबुकको ‘स्टोरी’मा देखिन्छिन् । उनका स्ट्याटसहरू सार्वजनिक प्रयोजनका लागि हुन्छन् । ‘आफ्नो कुरा सबैलाई सुनाउनुपर्छ । मेरो लागि फेसबुक डायरीजस्तै हो । अझ भनौं किताबजस्तै हो,’ उनी भन्छिन्, ‘दिमागलाई स्थिर बनाउन पनि सामाजिक सन्जालले मद्दत गर्छ ।’

श्वेता चेतन भगतका उपन्यास र ती उपन्यासमा बनेका चलचित्रको फ्यान हुन् । उनी हिलारी क्लिन्टनको बायोग्राफीबाट पनि प्रभावित छिन् । हिलारीको बायोग्राफी पढ्दा उनको मनमा जाग्यो, ‘यो दुनियाँमा दु:ख पाउने म मात्र एक्लो होइन रहेछु ।’

श्वेता आस्थाको उज्यालोमा हिँड्न रुचाउँछिन् । उनको स्टाटसमा ओशोको भनाइ अंकित भएको देख्नेले उनलाई रजनीशवादी भन्न सक्छन्, तर श्वेता सबै धर्मका आधारभूत सिद्धान्तलाई अवलम्बन गर्छिन् । धर्मका हिसाबले उनी हिन्दू हुन् ।

श्वेता जाभा कफी सप सञ्चालन गर्छिन् । ‘हस्पिटालिटी’ बिजनेसमा लाग्ने मन कसरी बन्यो ? उनी बताउँछिन्– ‘समय बदलिएको छ । अहिले तन्नेरी केटाकेटीहरू निस्फिक्री वेटरको काम गर्छन् । हाम्रो जमानामा यो लाजमर्दो कुरा हुन्थ्यो । समाजको दृष्टि बदलिएको छ । मानिसको सेवा गर्दा आनन्द आउँछ । काममा यो गर्न हुन्छ र यो गर्न हुन्न भन्ने छैन । काम ठूलो र सानो पनि हुँदैन । अब यो कफी सप मानिसका लागि सम्पर्कको बिन्दु पनि बनेको छ । यो रमाइलो कुरा हो नि ।’

श्वेता कफी व्यापारलाई फैलाउन चाहन्छिन् । उनी पहिलो कफी सप चितवनमा, त्यसपछि भैरहवा र त्यसपछि बुटवलमा स्थापना गर्दैछिन् । उनको आँखा राजमार्गमा छ । राजमार्गका खास–खास जक्सनहरूमा कफी सप खोल्ने हो भने यात्रुहरूले स्वच्छ वातावरणमा सफा र स्वस्थ्य खाना खान पाउँछन् । अहिले यस्तो सेवा दिने आउटलेटको अभाव छ ।

प्रश्न थियो, यसरी बिजनेसमा लाग्दा चलचित्र छुट्ने त होइन ?

‘छुटदैन । म मानिसको मन खुसी हुने, आनन्द दिने पारिवारिक चलचित्र बनाउने योजनामा छु । चलचित्र समाचारजस्तो ‘मुभिङ’ बनोस् । दुई घण्टा दर्शकलाई होल्ड गरेर राख्न सकोस् । त्यो गज्जबको अनुभव हुनेछ ।’

श्वेता आफूलाई ‘सामान्य तह’ बाट माथि उठेको व्यवसायी महिलाका रूपमा हेर्छिन् । व्यवसाय उनले आत्मसन्तोषका लागि मात्र होइन, पर्याप्त मेहनत गर्न गरेकी हुन् । उनमा खतरा मोल्ने साहस छ । सुरुमा उनी स्कुटर चढेर बिजनेस मिटिङमा जान्थिन् । अहिले मित्सुबिसीको आउटल्यान्डर गाडी चढ्छिन् । आठ वर्षको अवधिमा उनले पाँचवटा गाडी चेन्ज गरी सकेकी छिन् । के यसलाई श्वेताको व्यक्तिगत विकास मान्न सकिँदैन ?

 

प्रकाशित :कार्तिक ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्