
साप्ताहिक संवाददाता

विश्वकप एसियाली छनौटमा नेपाल र जोर्डनबीचको खेल सम्पन्न भैसकेको छ । अम्मानमा भएको उक्त खेलमा नेपालले राम्रो त खेल्यो, तर ३–० को हारबाट भने जोगिन सकेन । अब केही समयको अन्तरमा जोर्डन नेपाल आउनेछ । त्यसकै विश्वासमा अम्मान छोड्नुअघि नेपाली प्रशिक्षक योहान कालिनले बिदा मागे, आफ्ना समकक्षी भिटेल बोर्केलमान्ससँग ।
कालिनले भनेका थिए, फेरि काठमाडौंमा भेटौंला, तर जोर्डनी प्रशिक्षक उत्तरमा फिसिक्क मात्र हाँसे । कारण ? जोर्डनी फुटबल अहिले राम्रो प्रदर्शनबाट गुज्रिरहेको छैन् । यस्तोमा बेल्जियमका प्रशिक्षकमाथि चर्को दबाब छ । यी प्रशिक्षकको आलोचक पनि उत्तिकै छन् । त्यसैले उनलाई पनि शंका छ, नेपाल आउनुअघि नै आफू वर्खास्तीमा पर्ने त होइन ?