साप्ताहिक संवाददाता
अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘दबंग ३’ प्रदर्शन हुन अब धेरै समय छैन । पछिल्लो समय उनी यो चलचित्रको प्रचारमा निकै व्यस्त छन् ।
बर्षकै प्रतिक्षित दबंगको तेस्रो सिक्वेल प्रदर्शन अगावै सलमानले अर्को चलचित्र घोषणा गरेका छन् । घोषणासँगै यो चलचित्र फ्लोरमा गएको छ ।
सन् २०२० को इदमा प्रदर्शन मिति लक गरेर चलचित्र ‘राधे’को छायांकनमा सुरु गरिएको हो । सलमानका अधिकांश चलचित्र इदको समयमा प्रदर्शन हुने गरेका छन् । आगामी इद पनि उनले आफ्नै चलचित्रका लागी बुक गरेका छन् ।
आफ्नो सामाजिक संजालबाट चलचित्रको छायांकन सुरु भएको आधिकारिक जानकारी गराएका सलमानको यो चलचित्रलाई प्रभु देवाले निर्देशन गर्नेछन् । उक्त चलचित्रमा सलमानसँग यसअघि प्रदर्शन भएको चलचित्र ‘भारत’की अभिनेत्री दिशा पाटनीले काम गर्ने भएकी छिन् । चलचित्र ‘राधे’ सलमान खान फिल्म्स र रिल लाइफ प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुनेछ ।