साप्ताहिक संवाददाता
भारतले सागका लागि निकै सानो टिम पठाउन सक्छ । भारतको रुचि यसपटकको प्रतियोगितामा निकै कम छ । अझ भारत र पाकिस्तानले प्रमुख–प्रमुख खेलमा सहभागिता जनाउने सम्भावना पनि कम भएको बताइन्छ । यी सबै समाचारदेखि हल्लासम्मको निश्चित आकार त्यति बेला देखिनेछ, जति बेला दक्षिण एसियाली ओलम्पिक कमिटीसँँग आवद्ध सबै देशका प्रतिनिधि काठमाडौं आएर बैठक बस्नेछन् । उक्त बैठक कात्तिक २२ गते प्रारम्भ भएको छ, जुन चार दिन चल्नेछ ।
रष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालदेखि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसम्मका कुरा सुन्नुपर्छ— १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने पक्का विश्वास हुन्छ । विशेषत: सदस्य सचिव सिलवाल यही कुरालाई लिएर खुबै व्यस्त देखिन्छन् । भन्नै पर्छ, उनले युद्धस्तरमा काम गरिरहेका छन् । उनको दौडधूप बिहानदेखि राति अबेरसम्म चलिरहेको पाइन्छ । प्रतियोगितामा सहभागी हुने नेपाली टिमको तयारी पनि जोडतोडमा छ ।
यद्यपि प्रतियोगिता सुरु हुने समय अझै पनि तीन साताको हाराहारीमा बाँकी हुँदा साग हुन्छ नै भन्नेमा कतिपय विश्वास अनि कतिपय शंका बाँकी नै छ । नेपालले आयोजनाका लागि आँट्न मिल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै यही साग हो । यसको १३ औं संस्करण तय मितिअनुसार भयो भने मंसिर १५ देखि २४ गतेसम्म चल्नेछ । प्रतियोगिता यसपटक काठमाडौंमै मात्र सीमित हुने छैन्, पोखरा र जनकपुरमा पनि चल्नेछ । यस्तोमा सबैभन्दा बढी चासो आयोजनाको तयारीमा हुनु स्वभाविक हो ।
प्रत्येक दिन कुनै न कुनै नयाँ समाचार आइरहेको छ । जस्तो, प्रतियोगितामा सहभागी देशको संख्या बढेर ८ पुग्ने भनिएको छ । स्वंय ओलम्पिक कमिटीले पुष्टि गर्न नसके पनि अफगानिस्तानले यो प्रतियोगितामा भाग लिने निश्चित भएको बताइन्छ । खेलकुदमा दक्षिण एसिया छाडेको अफगानिस्तानले पछिल्लो सागमा सहभागिता जनाएको थिएन, तर यसपटक एसियाली ओलम्पिक कमिटीले नै अफगानिस्तानलाई सागमा सहभागी हुन अनुरोध गरेको छ ।
यता भारतले सागका लागि निकै सानो टिम पठाउन सक्छ । भारतको रुचि यसपटकको प्रतियोगितामा निकै कम छ । त्यति मात्र होइन, सहभागी टिमको संख्या नपुग हुँदा प्याराग्लाइडिङ नै नहुने सम्भावना पनि त्यत्तिकै छ । अझ भारत र पाकिस्तानले प्रमुख–प्रमुख खेलमा सहभागिता जनाउने सम्भावना पनि कम भएको बताइन्छ । यी सबै समाचारदेखि हल्लासम्मको निश्चित आकार त्यति बेला देखिनेछ, जति बेला दक्षिण एसियाली ओलम्पिक कमिटीसँँग आवद्ध सबै देशका प्रतिनिधि काठमाडौं आएर बैठक बस्नेछन् । यी कुरामा त्यही बैठकले अन्तिम निर्णय लिनेछ । उक्त बैठक कात्तिक २२ गते प्रारम्भ भएको छ, जुन चार दिन चल्नेछ । यही बैठकपछि सागले वास्तविक गति लिनेछ, तर फेरि एकपटक सदस्य सचिव सिलवालकै भनाइ सापटी लिने हो भने आयोजनाको तयारी अन्तिम चरणमा छ । त्यसैले साग हुन्छ कि हुँदैन भनेर दुई मन गरिरहनु पर्दैन । सिलवालका अनुसार खेलाडी तयारी त शतप्रतिशत नै छ, कात्तिकको मसान्तसम्ममा भौतिक पूर्वाधारको काम पनि लगभग सम्पन्न हुनेछ ।
प्रतियोगिताको उद्घाटन र समापन हुने दशरथ रंगशालामै निर्माण कार्य पूरा भैसकेको छैन । सबैभन्दा बढी डर दशरथ रंगशालामै छ । अहिले तत्काल रंगशालाको साधारण प्यारापिटमा सिट हाल्ने काम भैरहेको छ । सिन्थेटिक ट्रयाकको काम भने सम्पन्न भैसकेको छ । भीआईपी प्यारापिटमा छानो हाल्ने काम भने अझै हुन सकेको छैन् । चीनबाट रंगशालाको छानो कार्गो गरेर भएपनि ल्याउने तयारी चलिरहेको छ ।
छानो चीनको सेन्जेनमा अड्किएर बसेको छ । मैदानमै पनि धेरै काम बाँकी देखिन्छ । लगभग अरू सबै खेल स्थल पनि शतप्रतिशत तयारी अवस्थामा छैनन् । सहभागी हुने टिम तथा खेलाडीको तयारी भने तीव्र गतिमा चलिरहेको छ । असारको दोस्रो सातादेखि नै बन्द प्रशिक्षण सुरु भएको हो । लगभग १५ खेलको अन्तिम टिम छनोट भैसकेको छ भने अरू १२ खेल यही चरणमा पुग्ने क्रममा छन् । कात्तिक २५ भित्रमा अन्तिम छनोट भैसक्नुपर्नेछ ।
तयारीको सबैभन्दा उल्लेखनीय पक्ष अधिकांश टिमले वैदेशिक प्रशिक्षणको अवसर पाउनु हो, जसमा परिषद्ले कुनै कन्जुस्याइँ गरेको छैन । अहिले तत्काल १६ टिम वैदेशिक प्रशिक्षणमा छन् भने केही खेलले चाँडै त्यस्तो अवसर प्राप्त गर्नेछन् । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि अब प्रतियोगिता समयमै हुने कुरामा शंका नगर्न भनेका छन् । विश्वास गरौं, मन्त्रीदेखि सदस्य सचिवसम्मले आफ्नो वचन राख्नेछन् र नेपालको प्रतिष्ठासँग गाँसिएको यो प्रतियोगिता समयमै हुनेछ ।