साप्ताहिक संवाददाता
हिमाली जिल्ला मनाङ र मुस्ताङ अनि त्यसको आसपास । राइड कल्चरमा रमाउने नेपाली युवा तथा विदेशी पर्यटकहरूका लागि यी डेस्टिनेसन निकै आकर्षण सावित हुँदै गएका छन् । दसैं–तिहारको छेको पारेर यो क्षेत्रमा घुमफिर गर्ने विदेशी मात्र होइन, नेपाली पर्यटक समेत निकै बढेका छन् । घुमफिरका लागि विशेष गरी डर्ट बाइक तथा अफरोड गाडी प्रयोग गर्ने चलन छ । उनीहरू विशेष गरी समूहमा र कतिपयले एक्लै समेत यात्रा गर्ने गरेका छन् । नेपालमा भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा आयोजना भएका यस्ता एड्भेन्चर राइडले नेपालको पर्यटन क्षेत्रमा सघाउ पुर्याउने विश्वास धेरैको छ ।
दसैंको आसपासमा बीएमडब्लूका ४ बाइकमा सौरभ जेबी राणा, प्रमेश कार्की, प्रमोद श्रेष्ठ ‘गुफी’ तथा सिन हायस अपर मुस्ताङ पुगे । उनीहरूले मुस्ताङका विभिन्न स्थान पुगेर रमाउँदै अनि सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गर्दै आफ्नो यात्रा टुंग्याए । यो यात्राका सहभागीमध्ये सौरभ बीएमडब्लू बाइकको नेपालका लागि आधिकारिक वितरक बीएमडब्लू मोटरार्डका अध्यक्ष समेत हुन् ।
गत शुक्रबार ‘अथेन्टिक मुस्ताङ’ शीर्षकमा महिन्द्रा एड्भेन्चर प्रारम्भ भएको छ । उक्त यात्रामा १७ वटा महिन्द्रा थार तथा स्कोर्पियो गाडी सम्मिलित छन् । ती गाडीमा ४० जना भारतीय तथा केही नेपाली मिडियाकर्मी एवं अफिसियलहरू छन् । काठमाडौंको गौशालाबाट प्रारम्भ भएको उक्त एड्भेन्चर ड्राइभ पोखरा, बेनी, मार्फा, जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ्सम्म पुग्नेछ ।
१० दिन लामो यो अफरोड एड्भेन्चर ड्राइभबाट सहभागीहरूले नेपालको विकट क्षेत्रको बाटोमा लामो ड्राइभिङको अनुभव संगाल्नुका साथै उत्कृष्ट प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न सक्ने विश्वास लिइएको छ । भारतका विभिन्न सहरमा मासिक रूपमा संचालन हुने यस्ता एड्भेन्चर कार्यक्रम छिट्टै नेपालमा पनि सुरु गर्ने महिन्द्रा नेपालका कन्ट्री म्यानेजर चैतन्य कागलकरले जानकारी दिए ।
बीएल–मनघरी फाउन्डेसन तथा नासा बुलेट क्लबको संयुक्त आयोजनामा पहिलो पटक काठमाडौंको पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट बाइक यात्रा प्रारम्भ गरिएको छ । गत शुक्रबार नै उक्त टोली काठमाडौंको पशुपतिनाथबाट फोक्सुन्डो यात्राका लागि प्रस्थान गरेको थियो ।
काठमाडौंबाट हिडेको राइडरको टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजरकोट तथा तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुगेको थियो । त्यसपछि उक्त टोली फोक्सुन्डोको यात्रामा लागेको आयोजक क्लबका अध्यक्ष प्रकाश लिम्बूले बताए । यो यात्रामा १२ वटा मोटरसाइकल सहभागी छन् । नासा बुलेट क्लबले हालै काठमाडौंबाट भारतको लद्दाख सम्मको बुलेट राइड समेत सम्पन्न गरेको थियो । यसभन्दा पहिले यस्तै राइड मुस्ताङको कोरला नाका सम्म पुगेको थियो । यही क्लबले करिब दुई वर्ष पहिले तिलिचो तालको यात्रासमेत गरेको थियो ।
यामाहाका एक्सटीजेड अफरोड बाइकमा गत शनिबार बाइकरहरू मुस्ताङका लागि प्रस्थान गरे । यामाहाको ‘र्याली फर रेन्जर्स नेपाल–२०१९’ शीर्षक दिइएको उक्त र्यालीका सहभागी निपूर्ण शाक्य, रुपेन्द्र कायस्थ तथा सरिता अधिकारीले स्टार्ट अप कम्पनीका रुपमा डुलुवा डटकम स्थापना गरेको करिव एक वर्ष भयो । उक्त स्टार्ट अप कम्पनीले किङ्स कलेजले आयोजना गरेको सोसियल विजनेस च्यालेन्ज–२०१९ अन्तर्गत ट्राभल इनोभेसनतर्फ पहिलो पुरस्कार समेत प्राप्त गरेको थियो । यही कम्पनीका प्रतिनिधि तथा अन्य गरी ९ जना केही दिन पहिले तिलिचो ताल पुगे । उनीहरू चामे सम्म गाडीमा र त्यसपछि करिब ५ दिन लगाएर हिड्दै, तस्बिर अनि भिडियो खिच्दै तिलिचो पुगेका थिए । डुलुवाका संस्थापक सदस्य रुपेन्द्र कायस्थ भन्छन्, ‘हामी विदेशी तथा नेपालीलाई नयाँ स्थानमा घुमाउन अनुसन्धान एवं त्यसको व्यवस्थापन गर्छौं । यसका लागि विभिन्न प्याकेज पनि तयार गरेका छौं । हामी विशेष गरी डेस्टिनेसन रिसर्च गर्छौं ।’ उनीहरूले यसै सन्दर्भमा बौद्ध स्तूपा कम्युनिटी हस्पिटल तथा देउराली जनता फर्मास्युटिकलको समन्वयमा चामे र धारापानीमा हेल्थ क्याम्प समेत सञ्चालन गरेका थिए ।
एक प्रसिद्ध बाइक कम्पनीमा कार्यरत राइडर सुवाश कटवाल यही समयमा सोलुखुम्बुको पिके पिक सम्म पुगे । करिब ४ हजार ६० मिटर अग्लो उक्त स्थानमा पुग्न उनका साथमा १५ जनाको समूह थियो । कटवालले क्रसफायर एक्सजेड २५० आरआर बाइक प्रयोग गरेका थिए भने अरूले विभिन्न कम्पनीका बाइक प्रयोग गरे । उनीहरू काठमाडौंबाट २ सय ९० किलोमिटरको दूरी बाइकबाटै पूरा गरेर काठमाडौं फर्किएका छन् ।