साप्ताहिक संवाददाता
बबएमसी अर्थात ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियमको सातौं वार्षिकोत्सवको अवसरमा गत शनिबार राइड कार्यक्रम सम्पन्न भयो । भारतका बुलेट बाइक राइडरहरूको समूह बबएमसीको सातौं वार्षिकोत्सवको अवसरमा नेपालको समूह फोरे अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा उक्त राइड कार्यक्रम आयोजित गरिएको थियो ।
२३ वटा बाइकमा ३२ जनाको समूह कमलादीबाट प्रस्थान गरेर त्रिपुरेश्वर, चोभार हुँदै भैंसेपाटी पुगेर उक्त राइड समापन भएको थियो । नेपालमा आगामी माघ १० देखि १३ सम्म पोखरामा बबएमसी राइडर मेनिया हुने भएको छ । उक्त कार्यक्रमको प्रवद्र्धनका लागि समेत यो राइड कार्यक्रमको आयोजना गरिएको फोरे नेपालले जनाएको छ ।
फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्ड तथा टिम लिडर प्रमोद श्रेष्ठ गुफीको नेतृत्वमा सञ्चालित उक्त राइडले भिजिट नेपाल–२०२० लाई समेत प्रवद्र्धन गर्ने बताइएको छ । राइडर मेनिया यसको १९ औं संस्करण हो । बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित हुन्छ । विभिन्न राइडर क्लबहरूले आयोजना गर्ने राइडर मेनिया नेपालमा पहिलो पटक हुन लागेको हो ।
उक्त अवसरमा नेपाल, भारत तथा भुटानका साथै विश्वका विभिन्न देशका करिब ३ हजारभन्दा बढी बाइक राइडरको सहभागिता रहनेछ । विशेषगरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एडीभी बाइक राइडर समेत सहभागी हुनेछन् ।