साप्ताहिक संवाददाता
सामरीक हिसाबले हेर्ने हो भने नेपाल अहिले संसारकै कमजोर देशहरूको अग्रपंक्तिमै होला । सबैलाई विदितै छ कि हामी शक्ति प्रयोग गरेर गुमेको कुनै पनि भू–भाग फिर्ता ल्याउन सक्दैनाँै । संकट कस्तो पनि छ भने यही कालापानीको विषयमा नेपालले चीनसँग समेत सहयोग लिन सक्दैन, किनभने कालापानी र लिपुलेकमा चीनको आफ्नै स्वार्थ जोडिएको छ । कालापानी समस्या सुल्झाउने एकमात्र उपाय भनेको कूटनैतिक पहल हो । कूटनीतिकै माध्यमबाट संसारभरका शक्तिराष्ट्रहरूमार्फत भारत माथि नैतिक दबाब सिर्जना गरी कालापानीबाट भारतीय सेना फिर्ता गराउनु एकमात्र विकल्प देखिन्छ किनभने नेपालले सोझै अनुरोध गर्दैमा भारतीय सेना फिर्ता भैहाल्छ भनेर सोच्नु गलत हुनेछ । अब कुरा रह्यो त्यो स्तरको अन्तराष्ट्रिय कूटनीतिक क्षमता एवं दक्षता नेपाली कूटनीतिज्ञहरूसँग छ त ? शक्ति वा अन्य महत्वका हिसाबले अरू देशले नेपालका लागि भारतलाई दबाब देलान् त ? अथवा हामीसँग भएको त्यस्तो कुनै महत्वपूर्ण खुबी प्रयोग वा कुनै भिटो पावर लगाएर नेताहरूले भारतलाई कालापानी छोड्न बाध्य बनाउन सक्लान् त ? अहँ, यी कुनै पनि कुरा सम्भव देखिँदैन, तसर्थ अब जनस्तरबाट कालापानी हाम्रो हो भनेर आवाज उठाउने र जो प्रतिपक्षमा हुन्छ, उसले त्यो आवाजलाई समर्थन गर्ने अनि त्यसैलाई चुनावी मुद्दा बनाएर सरकारमा पुग्ने अनि सरकारमा पुगिसकेपछि कानमा तेल हालेर निदाउने । कालापानी मुद्दामा नेपालले गर्न सक्ने भनेको यत्ति हो । नेताहरूले यो मुद्दालाई पनि चुनावमा उपयोग गरेरै छोड्छन् र आफ्नो स्वार्थअनुकूल नै प्रयोग गर्नेछन् । कालापानीबाट भारतीय सेना हटोस् र नक्सामा गुमेको भूभाग फिर्ता होस् भन्ने भित्री इच्छा सबै नेपालीको मनमा कायम रहनेछ र वर्षाैं–वर्ष त्यो इच्छा अधुरै हुनेछ । बरु नेपाल सरकारले तत्काल सीमा सुरक्षा बल गठन गरी भारतसँग सीमा जोडिएको पुरै स्थानमा तैनाथ गरेर थप भूमि गुम्न रोक्ने पहल गरोस् । गुमिसकेको भूमिचाहिँ फिर्ता आओस् भन्ने कामना मात्र गर्न सकिन्छ, यथार्थ यही हो ।
दुर्गा पंगेनी, गीतकार
नेपालले यो विवादलाई सकेसम्म द्विपक्षीय वार्ताबाट सुल्झाउनुपर्छ । भारतको अन्य छिमेकीसँग पनि सीमा विवाद बढेको देखिन्छ । त्यसैले संयुक्त राष्ट्रसंघ अथवा अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई छिट्टै सुल्झाउन आवश्यक छ ।
आशिष अविरल, म्युजिक एरेन्जर
भारत सरकारसँग कुरा गरी यो समस्या छिटोभन्दा छिटो सुल्झाउनुपर्छ । चुप लागेर होइन वार्ता गरेर नै यो समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ ।
विक्रान्त मेहता, गायक तथा चिकित्सक
सबै नेपाली एक भएर संयुक्त राष्ट्रसंघमा मुद्दा हाल्नुपर्छ ।
कविर खड्का, अभिनेता
नालापानीमा जसरी आफ्नो बहादुरी देखाएका थियौं, त्यसैगरी सम्पूर्ण नेपाली एकजुट भएर एकपटक आफ्नो सीमा रक्षार्थ अघि बढ्नुपर्छ ।
राजनराज शिवाकोटी, गायक तथा संगीतकार
नेपालले कसरी हुन्छ आफ्नो अडानमा रहेर सम्पूर्ण नेपालीहरूको खुसीका निम्ति पहल गर्नुपर्यो ।
हिमाल सागर, गायक
छिमेकी देशहरूले नेपालको सीमा मिचेर आफ्नो बनाउन खोजेको धेरै भैसकेको छ । अहिले त हुँदा–हुँदा भारतले नेपाली भूमि मिचेर आफ्नो नक्सामा समावेश गरिसक्यो । नेपालीहरूले सहेर बस्ने होइन, एकजुट भएर आवाज उठाउनुपर्छ । अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर भए पनि न्यायका लागि पहल गर्नुपर्छ ।
जाहन्वी बस्नेत, अभिनेत्री
पहिले दुई पक्षबीच छलफल हुनुपर्छ, त्यसपछि अन्तर्राष्ट्रिय अदालत जानुपर्छ । हाम्रा दुईवटा ‘स’ मा आक्रमण हुँदैछ । पहिलो सिमाना, दोस्रो संस्कृति । दोस्रो त बचाउन सरकारले पहल गर्न सक्दैन, पहिलोचाहिँ बचाउनुपर्यो ।
दीपकराज गिरी, अभिनेता
नेपालको राजधानी कालापानीमा सारिदिए उत्तम हुन्छ ।
पृथ्वीराज प्रसाईं, अभिनेता
पहिलो कुरा नेपालीहरूबीचमै एकता हुनुपर्छ । दोस्रो कूटनैतिक रूपमा भारतलाई दबाब दिने । तेस्रो राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्च मार्फत दबाब बढाउने । यदि भारतले १, २, ३ छोड्दिन भन्छ भने युद्धका लागि पनि तयार रहनुपर्छ ।
राजाराजेन्द्र पोखरेल, हास्यकलाकार
दुई देशबीच उच्च स्तरमा वार्ता गरी समस्या समाधान गर्नुपर्ला या त संयुक्त राष्ट्रसंघको सहयोग माग्नुपर्ला ।
मुकुन भुषाल, अभिनेता
कूटनैतिक पहल नै हो, जुन नेपाल सरकारका लागि फलामको चिउरा चपाउनुभन्दा गार्हो छ ।
हेमन्त शर्मा, गायक
सरकारले नै आफ्नो नापी नक्सासहित आफ्नो भू–भागका सम्बन्धमा राष्ट्र प्रमुखसँगै वार्ता गरेर उताको मुख्य व्यक्तिले स्वीकार गरेको लिखित तथा भिडियो आमनेपालीले हेर्न पाउनुपर्यो । यो मामिलामा भारतले नेपालसँग क्षमा पनि माग्नुपर्छ ।
निर्मल शर्मा, अभिनेता
सरकारले छिटोभन्दा छिटो एक्सन लिनुपर्छ । हामी सामान्य जनताको मुटु दुखेर मात्र कुनै समाधान निस्कन सक्दैन । त्यसैले सरकारको मुटु दुख्नुपर्यो, यस्तो गम्भीर विषयलाई नसुनेझैं र
नदेखेझैं गर्नु भएन ।
शान्ति श्री परियार, गायिका
राजनीतिक पहल गर्ने, दबाब दिने, छलफल गर्ने, सम्पूर्ण नेपाली दाजुभाइ एक हुने, केही सीप लागेन भने अन्तर्राष्ट्रिय अदालत जाने ।
किरण केसी, अभिनेता
नेताले भारतको पछि लाग्न छोड्नुपर्छ । हामी नेपालीहरू एक भएर फेरि भारतको दादागिरी तोड्नुपर्छ । नेपाल आमाको रक्षा गर्न कुनै पनि कुरामा चुक्नु हुँदैन ।
दिनेश काफ्ले, हास्यकलाकार
कुनै पनि सीमा विवादको समाधानका तीन अप्सन १. युद्धबाट (जुन संभव भएन) २. दुईपक्षीय वार्ता अर्थात् आपसी सहमतिबाट । भन्नुको अर्थ सीमा आयोग आदिबाट तथ्य प्राप्त भएपछि सीमा निर्धारण । परन्तु क. एक पक्षको सुरक्षाहेतु अत्यावश्यक भए लिजमा ख. सट्टापट्टा ग. वा सगरमाथा झैं आधाआधी गर्ने । ३. तेस्रो पक्ष वा युएनमार्फत कमिसन गठन र सीमा निर्धारण । नेपालले आजसम्म औपचारिक रूपमा बाइल्याटरल समाधानका लागि केही पनि गरेको छैन । भेडा जनतालाई बेलाबखत उल्क्याएर दुनो सोझ्याउने एउटा हतियार हो– कालापानी । हाम्रो हो भने यसको औपचारिक प्रक्रिया थालिनुपर्छ । आन्दोलन, भाषण वा नाटकले सीमा विवाद समाधान हुँदैन । बाइल्याटरल बोर्डर कमिसनको फाइन्डिङ नआएसम्म हरेकको दाबी दाबीमा मात्र सीमित रहन्छ ।
राजेन्द्र थापा, गीतकार
कालापानी हाम्रो सान हो, यो हाम्रो भूमि बचाउन नेपालले आफ्नो आधिकारिक धारणा विश्व मञ्चमा उठाउनैपर्छ । हामी सधैं थिचोमिचोमा बस्न सक्दैनौं । यदि सरकारले कदम चाल्दैन भने जनता आफैं कदम चाल्न बाध्य हुनेछन् ।
चन्द्रमणि गौतम, सञ्चारकर्मी
द्विपक्षीय वार्ताबाट समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ ।
सुनिता दुलाल, गायिका
कूटनीतिक पहल एवं अन्तर्राष्ट्रिय दबाबबाट समस्या समाधान गर्नुपर्छ ।
केदार घिमिरे, अभिनेता
कूटनीतिक पहल गर्नुको विकल्प के होला र ?
सुमन कार्की, हास्यकलाकार
कूटनीतिक माध्यमद्वारा सीमा निर्धारण एवं व्यवस्थापन गर्ने । अर्को कुरा जनतालाई उचालेर फोस्रो राष्ट्रवादी नबनी नेपाल सरकारले सोझै भारत सरकारसँग आफ्नो कुरा राख्ने र सीमा विवाद समाधान गर्ने ।
अमर न्यौपाने, साहित्यकार
भारतले नेपाल मात्र होइन, आफ्ना अन्य छिमेकी मुलुकहरूको पनि सीमा मिच्दै गैरहेको छ । जम्मु कश्मिरलाई भारतीय भूमि दाबी गर्दै जारी गरिएको नयाँ नक्सामा नेपालको भूमिसमेत मिचिएको छ । नेपाल सरकारले भारत सरकारसँग आफ्नो भूमि मिचिएको विषयमा आवाज उठाउनुपर्छ । यदि भारतले अटेर गरेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नुपर्छ ।
बादल घिमिरे, साहित्यकार