साप्ताहिक संवाददाता
बलिउड चलचित्र उद्योगमा महानायकका रूपमा स्थापित मेगा स्टार अमिताभ बच्चनले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शनमा आएको ५० वर्ष पुगेको छ । सन् १९६९ नोभेम्बर ७ तारिखमा बच्चन अभिनित सात हिन्दुस्तानी सार्वजनिक भएको थियो । उक्त चलचित्रमा छोटो भूमिका भए पनि सातमध्ये एक हिन्दुस्तानी भएकाले यसलाई बच्चनको पहिलो चलचित्र मानिन्छ ।
ख्वाजा अहमद अब्बास निर्देशित उक्त चलचित्रमा बच्चनले अनवर अलि अनवरको चरित्र निर्वाह गरेका थिए । बच्चनका साथ उक्त चलचित्रमा उत्पल दत्त, मधु अनवर अलि, जलाल आजा, एके हंगल, दिना पाठक, अन्जली कदम आदि कलाकारले पनि काम गरेका थिए ।
अघिल्लो महिनामात्र दादा साहब फाल्के पुरस्कारबाट सम्मानित बच्चन अभिनित सात हिन्दुस्तानी बक्स अफिसमा खासै नचले पनि उक्त चलचित्रले नै बच्चनलाई अवसर दिएकाले यसको महत्त्व भारतीय चलचित्र उद्योगमा सदैव रहने बताइन्छ ।