साप्ताहिक संवाददाता
बलिउडका तीन खान अर्थात आमिर खान, सलमान खान तथा साहरूख खानलाई एउटै चलचित्रमा हेर्ने चाहना राख्ने दर्शकको संख्या ठूलै छ । दर्शकहरूको यो रुचिलाई निकट भविष्यमा कुनै निर्माताले पूरा गर्छन् कि भन्ने सोचमा रहेका चलचित्र पण्डितहरूको आशा पूरा हुने छाँटकाँट पनि देखिँदैछ ।
प्राप्त समाचारअनुसार आमिर खानले निर्माण गर्न लागेको अपकमिङ चलचित्र लाल सिंह चड्डामा तीनै खान एकसाथ देखिने सम्भावना छ । हलिउड चलचित्र फरेस्ट गमको हिन्दी रिमेक मानिएको यो चलचित्रमा आमिर खान तथा करिना कपुर मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
सूत्रका अनुसार आमिर खानले प्रस्ताव गरेको दुई फरक–फरक भूमिकाका लागि साहरूखले स्वीकृति प्रदान गरिसकेका छन् भने सलमानको स्वीकृतिको प्रतीक्षा भैरहेको छ । सलमान पनि आफूलाई प्रस्ताव गरिएको भूमिकाप्रति सकारात्मक रहेको आमिरका निकटस्थहरू बताउँछन् ।