साप्ताहिक संवाददाता
लामो समयदेखि भाडाको कोठामा कार्यालय संचालन गरेर चित्त बुझाएको ‘लोक तथा दोहोरीगीत प्रतिष्ठान’ अब आफ्नै नीजि भवनमा सरेको छ । गायक बद्री पंगेनीको अध्यक्षतामा रहेको यो संस्थाले धापासीमा केहि दिन अघि आफ्नै भवन तयार पारेको हो ।
अध्यक्ष पंगेनी समयमै काम सम्पन्न गर्न सकेकोमा खुसी देखिए । अध्यक्ष पंगेनीले भने, ‘अब लगभग काम सकिएको छ, केहि समयमै आधिकारिक रुपमा यो स्थानबाट कार्यालय संचालन हुनेछ ।’ प्रतिष्ठानको आफ्नै भवन बनेपछि यससँग जोडिएका सुभचिन्तकहरु मख्ख छन् । लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरु खुसी देखिएका छन् । अध्यक्ष पंगेनीको चौतर्फी प्रशंसा भएको छ ।
भाडाको घरमा बस्दा मिटिङ गर्न, संस्थागत फाइलहरु सुरक्षित राख्न निकै गाह्रो भएसँगै भवन निर्माणको परिकल्पना गरिएको थियो । सुरुमा जग्गा नपाउँदा निकै गाह्रो भयो, अध्यक्ष पंगेनीले थपे, ‘जग्गा पाएसँगै सहयोगी हातहरु धमाधम बढे, समयमै काम सम्पन्न भयो ।’ निकै आकर्षक डिजाइनमा तयार भएको यो भवन निर्माण गर्न लगभग १ करोड १५ लाख खर्च भएको उनले बताए ।
लोकगीत प्रतिष्ठानका सदस्यहरु, विभिन्न सुभेच्छुकहरु, सरकार र देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा यो भवन तयार भएको हो ।